शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक, पोखरा पनि जाने

शनिबार, २३ कात्तिक २०७६, १८ : ००
शनिबार, २३ कात्तिक २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार तीन दिने भ्रमणको सिलसिलामा नेपाल आउने भएका छन् । 

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति मार्फत बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको हो । 

राष्ट्रपति हमिद नेपाल आउँदा राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नेछिन् । यस्तै उनले राष्ट्रपति हमिदको सम्मानमा रात्रिभोजको समेत आयोजना गर्ने बताइएको छ । 

भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा राष्ट्रपति हमिदले काठमाडौंँका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको भ्रमणका साथै पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रका अनुसार बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।  

हमिद सन् २०१३ मा पहिलो पटक बंगलादेशको राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपतिको दोस्रो कार्यकालका लागि उनी सन् २०१८ मा पुनःनिर्वाचित भएका थिए । 

सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि १९७२ मा नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप