केन्द्रीय संस्करण
मेराे जीवन

कलाकार बसुन्धरा भुसालको जीवन : विवाहपछि कलाकारितामा अगाडि बढ्न सजिलो भयो

म मृत्यसँग कहिल्यै पनि डराउँदिनँ

person explore access_timeकात्तिक २३, २०७६ chat_bubble_outline0
फोटोः कृष्ण खड्का
कुवेर गिरी

रातोपाटी

काठमाडौँ । नेपाली कलाकारिता क्षेत्रको पहिलो महिला हास्यकलाकार हुन् बसुन्धरा भुसाल । विसं २०२१ सालमा निर्माण भएको फिल्म ‘आमा’बाट उनले चलचित्र यात्रा थालेकी हुन् ।

भुसालको कलाकारिताको सुरुवात भने २०१४ सालमा रङ्गमञ्चको बालकला प्रतियोगितामार्फत भएको हो । सो समय उनी ७ वर्षकी थिइन् । उक्त समय ‘हातै काट्यो चालिसे चुराले, माया फाटो जालीको कुराले’ बोलको गीतमा नृत्य गरेर उनले पुरस्कार हात पारेकी थिइन् ।

६० वर्ष लामो समय कलाकारितामा बिताएकी भुसाल अहिलेका धेरै कलाकारको प्रेरणाकी स्रोत हुन् । हास्य  कलाकारलाई जोकरको र महिलालाई नराम्रो रूपमा हेरिने त्यो समयबाट गुज्रिएकी भुसाल अहिले कलाकारितालाई हेर्न नजर बदलिएको र सम्मान गर्ने प्रचलन आएकोमा खुसी छिन् । 

उमेरले ७० टेक्न लाग्दा पनि कलाकारिताप्रतिको उनको लगाव बढ्दोछ । शरीरले साथ दिएसम्म र भ्याएसम्म उनी प्रायः सबै कार्यक्रममा पुग्ने गर्छिन् । त्यसैले होला यो क्षेत्रबाट पाएको सम्मान र अवार्डले उनको तीनतले घर पूरै भरिएको छ ।

अभिनयको अलवा यसै क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थामा रहेर कलाकारको हकहितका खातिरसमेत काम गर्दै आएकी भुसाल चलचित्रकर्मी कल्याणकोषकी संयोजक पनि हुन् । १८ वर्षअगाडि स्थापित यो कोष सुरु गर्न पनि उनको महत्त्वपूर्ण हात रहेको छ । यी नै वरिष्ठ कलाकार बसुन्धरा भुसालसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।
 
मेरो खाना
मेरो मनपर्ने खाना साधारण दालभात तरकारी नै हो । तरकारीमा रायोको साग, गुन्द्रुक, तामा, बोडी, चम्सुरपालुङ्गो र खसीको मासु मनपर्छ । नेवारी खाना पनि मनपर्छ ।

मन नपर्ने खाना फलफूल हो । फलफूल त्यति खाँदिनँ  । रेस्टुरेन्ट कम जाने कलाकारमध्ये म पनि एक हुँ । कहिले साथीहरु र छोराछोरीसँग जाने गरेकी छु ।

पकाउन रुचि छ । १५० जनासम्मलाई आनन्दले पकाएर खुवाउन सक्छु । मैले मीठो पकाउने भनेको नेपाली खाना दालभात तरकारी र मासु हो । अचारका परिकार सबै मीठो बनाउन सक्छु ।

मेरो पोसाक
नेपाली राष्ट्रिय पोसाक सारी र चालो नै मनपर्छ । कुर्था सुरुवाल लगाउन सजिलो लाग्छ । प्रयोग भने सबै खालका पहिरन गर्ने गरेकी छु । मेरो शुभ मानिएको पहिरन पहिरन रङ कालो हो । ग्रे र प्याजी रङको पहिरन मन पर्दैन ।

सानोमा आमाबुबाले वर्षमा दुई जोर पहिरन किनिदिन्थे । अहिले धेरै पहिरन प्रयोग हुन्छ । तर खर्च छैन । खर्च गर्ने हो भने लाखौँले पनि पुग्दैन । किनभने हरेक अवार्ड कार्यक्रममा फरक फरक पहिरन लगाउनुपर्छ ।

अहिले म २०, ३० वर्ष पुरानो पहिरन पनि लगाउँछु । विदेशबाट साथीभाइ, छोराछोरीले पठाइदिन्छन् । गिफ्ट आएको पहिरन सिलाएर लगाउन मात्र वार्षिक २० हजारभन्दा बढी हुन्छ । पूर्वआईजीपी स्वर्गीय डीबी लामा मेरो धर्म दाजु हुन् । उहाँ नभए पनि उहाँकी श्रीमतीले वर्षको दुई जोर सारी पठाउनु हुन्छ ।

मेरो फिट्नेस 
बिहान नियमित एक्सरसाइज गर्ने बानी अहिले छैन । केही पहिले मर्निङवाक गर्थें । अहिले घुँडा दुखेर त्यो पनि छोडे । पहिले रसियामा उपचार गराउन बस्दा मैले जिम्न्यास्टिकसमेत सिकेकी थिएँ ।

त्यो गर्न पनि समय हुँदैन । बिहान उठ्यो पूजा गर्यो, काम भन्यो । समय त्यसै बित्दो रहेछ । आफ्ना लागि फिट्नेस गरौँ भन्ने चाहना हुँदाहुँदै भ्याइँदैन ।

मेरो अध्यायन
पहिले सधैँ अध्यायन गर्थें । बीचमा छोडेकी थिएँ । अहिले बिरामी परेपछि फेरि थालेकी छु । रसिक राईले लेखेको पुस्तक पेरुङ्गो अहिले पढिरहेको पुस्तक हो । ५ मनपर्ने व्यक्तित्वका बारेमा पुस्तक लेखिएको छ । फुर्सद भयो भने पुस्तक पढ्न मनपर्छ ।

मेरो फुर्सद 
मेरो जीवनमा फुर्सद कहिल्यै भएन । म आनन्दले घरमा बस्न पाउने भनेको बिमारी हुँदा मात्र हो । त्यो पनि फोन आएर हैरान पार्छ ।

लाग्छ मलाई अब फुर्सद माथि गएपछि मात्र होला । अरूले पनि त्यही भन्छन् । मेरो व्यस्तता देखेर म बस्ने टोलका मानिस तीन छक्क पर्छन् ।

बिहानैदेखि रातिसम्म विभिन्न कार्यक्रममा दोडधुप । मनिसले हेर्दा कति कमाउने जस्तो देखिन्छ । म बोलाएको ठाउँमा नाई भन्न पनि सक्दिनँ ।

मेरो घुमफिर
कामले नै घुमाउने गरेको छ । तर पनि फुर्सद भयो भने श्रीमान् र म आफूभन्दा सिनियर व्यक्तित्व भेट्न जान्छौँ ।

कोही बिरामी छ भन्ने थाहा भयो भने म जस्तो अवस्थामा पनि भेट्न पुग्छु । मेरो घुमघाम भनेको यही हो । पहिले पहिले मन्दिर धेरै जान्थेँ । अहिले शरीर कमजोर भएर होला । आत्मा नै परमात्मा हो भन्ने लाग्छ ।

मेरो खेलकुद 
सानोमा खेलकुदमा एकदमै रुचि थियो । यदि कलाकार नभएको भए म, खेलाडी हुन्थेँ । स्कुल पढ्दा साइकल रेस, ब्याडमिन्टन, कबड्डी, तीन खुट्टे रेस, डोरी तान्नेलगायत धेरै खेल खेल्थेँ ।

डोरी तान्ने खेल अहिले पनि वर्षको एक पटक माइती नेपालले खेलाउने गरेको छ । त्यहाँ खेलेर हरेक वर्ष हाम्रो टिमले पुरस्कार जित्छ । पहिले फुटबल बुझ्ने भएकाले टीभीमा हेर्थें । अहिले हेर्दिनँ । 

मेरो मोबाइल 
यो मोबाइले बर्बाद पारिसक्यो । जहाँ पनि उठाउनुपर्ने । कुरा गर्नुपर्ने । मानिसलाई फुर्सदै नहुने । अहिले म सामसुम ब्रान्डको एउटा नाइन प्लस मोबाइल बोक्छु । फोन गर्न, समाचार पढ्न, फेसबुक र युट्युब चलाउन प्रयोग हुँदै आएको छ ।

मोबाइल पनि युट्युब आएपछि चलाउन थालेकी हुँ । मोबाइलबाट चाहेको समयमा इच्छा लागेको कुरा हेर्न मिल्छ । मेरा दुईवटा राम्रो राम्रो मोबाइल हराइसक्यो ।

मेरो टीभी
टीभी थोरै हेर्छु । टीभीमा आएका आफ्ना अन्तरवार्ता त  धेरै हेर्न पाएको छैन । मलाई सबैले कमेडियन कलाकार भन्छन् । तर मलाई आर्ट टाइपका विषयवस्तुले भनेका टीभी सामग्री मनपर्छ ।

मेरो चलचित्र 
मेरो पेसा नै अभिनय । चलचित्र धेरै हेर्छु । प्रिमियरमा बोलाउँछन् । सोही समय गएर हेर्छु । बिमारी भएकाले अशोक शर्माको ‘रातो टीका निधारमा’ हेर्न पाइनँ । दीपकदीपाले ‘छ माया छपक्कै’ पनि हेर्न बोलाउनुभएको थियो । जान सकिनँ ।

म नेपाली फिल्म मात्र हेर्छु । प्रिमिएरबाहेक अन्य समय हलमा गएर पनि फिल्म हेर्छु । 

मेरो रोग
यो वर्षदेखि म धेरै गलेकी छु । दसैँ अगाडिदेखि बिमारी परेको अहिले पनि राम्रो ठीक भएको छैन । शरीरको अप्रेसन गर्दा बरु ७ दिनमा हिँड्न सक्थेँ । यो पटक मलाई के खालको रोग लाग्यो लाग्यो भन्या ।

जिउ थाक्ने अनि थाइराइट पनि बढेको छ । यसका लागि ७५ एमजी औषधि खाँदैछु । तर पनि मेरो आत्मबल बलियो छ ।

रिँगटा धेरै लाग्छ । यसले म मन अतालिँदो रहेछ । २०७२ को भुइँचालो जाँदा एकदमै रिँगटो लागेर म आतिएर रोएकी थिएँ ।

पहिलेदेखि मलाई अल्सर पनि थियो । अहिले भने छातीको एलर्जीले दुःख दिएको डाक्टर बताउँछन् । मेरो रोग भनेको पेटको रोग हो । पेटको अपरेसन गरेर २८ वटा पत्थर निकाली सकँे । किड्नीमा पनि स्टोन छ रे । जचाउन जाँदा जाँदा वीर अस्पताल त मेरो माइतीघर जस्तो भइसक्यो । 

मेरो भाषाशैली
नेपाली भाषा नै ठीक लाग्छ । म सीधा कुरा गर्न रुचाउँछु । अरूले पनि घुमाएर कुरा गरेको, पछाडि कुरा काटेको मन पर्दैन ।

सरल भाषा प्रयोग गर्नुपर्छ । साहित्य घुसाएर बोल्न जाँन्दिनँ । बोलेको पनि मनपर्दैन । सरल सबैले बुझ्ने खालको भाषा बोलनुपर्छ भन्ने मेरो मान्यता हो ।

मेरो गीतसङ्गीत
गीतसङ्गीत धेरै सुन्छु । बिहान, दिउँसो, बेलुका जुनै समय पनि गीतसङ्गीत सुनिरहेकी हुन्छु । यात्रा गर्दा गाडीमा पनि सुन्छु ।

पहिलेका गायकगायिका नारायण गोपाल, अरुणा लामा, तारादेवी लगायतका गीत सुन्ने गरेकी छु । शब्द राम्रा र मिठास भएका गीत सुन्छु ।

अहिले बजारमा देखिएका हा हु तालका गीत सुन्दिनँ । मेरो उमेरले गर्दा पनि होला सायद यस्ता गीत मन पर्दैनन् ।

मेरो पेसा
२०१४ सालबाट रङ्गमञ्चको बालकला भन्ने प्रतियोगितामार्फत मेरो कलाकारिता सुरु भएको थियो । सो समय ७ वर्षकी थिएँ । उक्त कार्यक्रममा ‘हातै काट्यो चालिसे चुराले, माया फाटो जालीको कुराले’ गीतमा नाचेर पुरस्कारसमेत हात परेकी थिएँ ।

२०१८ सालमा स्वर्गीय जनकवि केसरी धर्मराज थापाको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग भन्ने अञ्चल अञ्चलमा आयोजना हुने कार्यक्रममा सहभागी भएँ । यो कार्यक्रम पूर्वपश्चिम राजमार्ग बनाउन पैसा उठाउने उद्देश्यले सञ्चालन भएको थियो ।

२०२१ सालमा निर्मित ‘आमा’बाट मेरो चलचित्र अभिनय सुरु भयो । अहिले ६० वर्षभयो यो क्षेत्रमा लागेको ।

मेरो जीवनको इच्छा कलाकारिता थियो । त्यसैले आफूलाई कलाकारितामै समर्पित गरेँ । मानिसले दुईतिर खुट्टा राख्नु पनि हुँदैन । कलाकारितामा मात्र नभएर म कलाक्षेत्रको विभिन्न सङ्घमा बसेर कलाकारकै हकहितका लागि समेत काम गर्दै आएकी छु । १८ वर्ष भयो चलचित्रकर्मी कल्याणकोष स्थापना भएको । त्यसको अहिले म संयोजक पनि हुँ ।
     
मेरो प्रेम
मेरो समझदारी विवाह । प्रेम परेर विवाह भएको पनि होइन । मागी विवाह गरेकी पनि होइन । उहाँसँग एक कार्यक्रममा देखादेख भएको थियो । समझदारी विवाह गर्यौँ ।

उहाँ महेन्द्र पुलिस क्लबमा सबइन्स्पेक्टर हुनुहुन्थ्यो । म राष्ट्रिय नाचघरबाट गेस्ट आर्टिस्टका रूपमा पुलिस क्लब गएकी थिएँ । सो क्रममा एक कार्यक्रममा उहाँ र म सँगै नाच्नु पर्यो । 

मेरो टीका लगाएको दाइ डीबी लामा ट्राफिकको डीएस्पी हुनुहुन्थ्यो । उहाँकै पहलबाट हामीले विवाह गर्यौँ । अहिले पनि श्रीमान्सँग सम्बन्ध राम्रो छ । वास्तवमा भन्ने हो भने चलचित्र क्षेत्रमा अगाडि बढ्न मलाई विवाह पछि सजिलो भयो । 

उहिलेदेखि अहिलेसम्म पनि कलाकारितामा अगाडि बढ्न उहाँले हौस्याउनु हुन्छ । 

मेरो भुल
भुल नगर्ने मानिस सायदै होलान् । नजानेर भुल कति गरियो गरियो । धेरैको चित्त पनि दुखाएँ होला । कसैका लागि राम्रो कुरा गर्दा उनको बुझाइमा नराम्रो भइरहेको हुन्छ ।

त्यो पनि भुल जस्तो लाग्छ । मैले त ती व्यक्तिको मार्ग निर्देशनका लागि अनुभवका आधारमा उपदेश दिएकी हुन्छु । राम्रो कुरा भनेकी हुन्छु । तर नराम्रा रूपमा लिँदा रहेछन् । चित्त दुख्यो भनेर गुनासो गर्दारहेछन् । 

यो क्षेत्रमा धेरै समय बिताएको अनुभवका आधारमा हामीले दिएको उपदेश २, ४ जना बहिनीहरुलाई नपच्दो रहेछ । त्यो पनि भुलै हो । कसैको दुःख देख्न नसक्ने र दुःखमा परेको व्यक्तिको पक्षमा बोलिहाल्ने, अन्याय भएको मानिसको पक्ष लिने बानी मेरो छ । यो पनि भुल रहेछ । 

मेरो सपना 
कलाकारितामै जीवन बित्यो । अब कति वर्ष बाँचिएला र ? पहिले यो क्षेत्रबाट जीवन धान्न मुस्किल थियो । अहिले सबैथोक गर्न सक्ने वातावरण बनिसकेको छ । हाम्रो समयमा कलाकारितामा पैसा भन्ने हँुदैन थियो । अहिलेका भाइबहिनीले राम्रो पैसा लिन्छन् । 

तर पुराना कलाकारको अहिले पनि पारिश्रमिक कम छ । यो क्षेत्रमा लामो समय बिताएकाका लागि पनि सम्मानजनक पारिश्रमिक भए हुन्थ्यो भन्ने छ । 

अर्काे कुरो नेपाली फिल्म विश्वका फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने होस् भन्ने छ । चलचित्र क्षेत्रको राम्रो होस् । देशको समृद्धि भएर सबै जनताले सुख पाऊन् । राम्रो नेताको अपेक्षा गरेको छु । 

मेरो मापसे 
मापसेको कुरै नगरौँ । अहिलेसम्म ओठमा लगाएकी पनि छैन । कहिलेकाहीँ सवारी चलाएका बेला पुलिसले तपाईं खानु हुँदैन भन्ने हामीलाई थाहा छ । अरूलाई पनि सिकाउनुस् है भन्ने गरेका छन् ।

मेरो राशि 
मेरो कुम्भ राशि हो । ग्रहदशामा विश्वास गर्छु । धेरै विश्वास गरेर पनि चल्दैन । ग्रह शान्तिका लागि शिवरात्रिका दिन म सधैँ दान गर्ने गर्छु । 

मेरो मृत्यु
मृत्यु प्राकृतिक नियम हो । यो हाम्रो बसमा छैन । कहिले र कसरी कसैले भन्न सक्दैन । म मृत्यसँग कहिल्यै डराउँदिनँ । उकालो चढेपछि ओर्लिनु पर्छ । जन्मिएपछि मर्नुपर्छ । बेलुका सुत्दा भोलि बिहान देख्न पाइँदैन कि जस्तो लाग्छ । त्यसैले कसैलाई केही गर्दिनु छ भने आजै गर्नुपर्छ भन्ने मेरो मान्यता छ । म केही पनि काम भोलिका लागि साँच्दिनँ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...