शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकप्रिय बङ्गलादेशी राष्ट्रपतिले नेपालको भ्रमण गर्दै, को हुन् अब्दुल हमिद ?

सोमबार, २५ कात्तिक २०७६, २२ : ४८
सोमबार, २५ कात्तिक २०७६

काठमाडौ- छिमेकी मित्रराष्ट्र एवम् दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सक्रिय सदस्य राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मङ्गलबारदेखि चार दिने नेपालको भ्रमण गर्दै छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा आउन लागेका हुन् । 

सन् १९४४ जनवरी १ मा जन्मिएका हमिद सन् २०१३ को अप्रिलदेखि बङ्गलादेशको १९ औँ राष्ट्रपतिका रुपमा कार्यरत रहेका छन् । सन् २००९ देखि २०१३ को अप्रिलसम्म बङ्गलादेशको माथिल्लो सदन नेशनल पार्लियामेन्टको सभामुखको रुपमा उनले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए । 

कानूनका जानकार राष्ट्रपति हमिदले पटकपटक किशोरीगञ्ज बार एशोसिएशनको सभापतिको रुपमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । किशोरीगञ्ज जिल्लाको कमलपुरमा गाउँमा जन्मिएका राष्ट्रपति हमिदले स्नातकसम्म अध्ययन गरेका छन् । 

सन् १९५९ मा छात्र लिगबाट राजनीति शुरु गरेका राष्ट्रपति हमिदले सन् १९७० देखि निरन्तर निर्वाचित हुने अवसर पाउँदै आएका छन् । यसबाट नै उनको लोकप्रियताको पुष्टि हुन जान्छ । 

पूर्वी पाकिस्तानको रुपमा परिचित बङ्गलादेशको निर्वाचनमा सन् १९७० मा उनले युवा उमेरमा नै निर्वाचित हुने अवसर प्राप्त गरे। सन् १९७३, १९८६, १९९१, १९९६, २००१ र २००९ मा भएको संसदीय निर्वाचनमा उनले लगातार आफ्नो पक्षमा जित निकाले । 
    
अवामी लिगबाट पटकपटक निर्वाचित हमिदले पछिल्लो पटक किशोरीगञ्ज निर्वाचन क्षेत्र नं ५ विजयी भए । उनले सन् १९७१ मा भएको बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि सक्रिय सहभागिता जनाएका थिए । उनलाई बङ्गलादेश स्वतन्त्र भएको अवसरमा आयोजित विशेष समारोहमा सन् २०१३ मा स्वतन्त्रता दिवस सम्मानसमेत प्रदान गरिएको छ । तीन छोरा र एक छोरीका पिता हमिदले सन् १९६४ मा रसिदा हमिदसँग विवाह गरेका थिए । 
संसारकै अत्याधिक घना बस्ती भएको देशको रुपमा परिचित बङ्गलादेशलाई शुरुआती चरणमा पूर्वी पाकिस्तानको रुपमा चिनिन्थ्यो । करीब १६  कडोड जनसङ्ख्या रहेको बङ्गलादेशमा इस्लाम, हिन्दू र बौद्ध धार्मिक समुदायको बसोबास छ । यहाँ ‘टाका’ नामक मुद्रा प्रचलनमा रहेको छ । 

बङ्गलादेशले सार्क, बिमस्टेकजस्ता क्षेत्रीय सङ्गठनमार्फत भाइचाराको अभिवृद्धि तथा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफ्नो सक्रिया भूमिका निर्वाह गर्दै आएको छ ।  मत्स्यपालन, गार्मेन्ट, पर्यटन तथा कृषिमा संलग्न बङ्गलादेशमा चिकित्सा शिक्षाका लागि नेपाली विद्यार्थीलाई समेत अवसर प्रदान गर्दै आएको छ । 

पछिल्लो पटक नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापार तथा ऊर्जा आदानप्रदानको क्षेत्रमा समेत सक्रिय संयन्त्र स्थापना भएको छ । क्रिकेट खेलको ‘पावर हाउस’का समेत परिचित बङ्गलादेश लामो समुद्री तह भएकाले पनि पर्यटकीय रुपमा समेत आकर्षक गन्तव्य हो । 

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा पर्सी बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । 

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्नेछिन् । बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । 

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप