बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आलम प्रकरणमा थुनछेक बहस: मौन अवधिमा एमाले उम्मेद्वार कसरी पुगे घटनास्थल ?

मङ्गलबार, २६ कात्तिक २०७६, २० : २१
मङ्गलबार, २६ कात्तिक २०७६

रौतहट ।  नेपाली काँग्रेसका निलम्बित सांसद आफ्ताव आलमलाई राजनीतिक पूर्वाग्रहका कारण फसाइएको वरिष्ठ अधिवक्ताहरुले आरोप लगाएका छन् । आलमका पक्षबाट थुनछेक बहसमा सहभागी वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खडकाले उक्त दावी गरेका हुन् ।

अधिवक्ता खड्काले आलमलाई १२ बर्षअघि भएको मनगढन्ते बमकाण्डका मुख्य अभियुक्त बनाई फसाउन खोजेको आरोप लगाए । जिल्ला अदालत रौतहटका न्यायाधीश दिपक ढकालको इजलासमा आज बहस गर्दै खडकाले प्रहरीको तर्फबाट घटनाका प्रत्यक्षदर्शी बनाइएका शैलेन्द्र साह आलमले निर्वाचनमा पराजित गरेका एमालेका नेता रहेको स्पष्ट पारेका थिए । बहसमा अधिवक्ता खड्काले २०६४ चैत्र २८ गते भएको संविधानसभा निर्वाचनको पूर्वसन्ध्या अर्थात मौन अवधिमा प्रत्यासी साह १५ जनासहित घटनास्थल कसरी पुगे र घटनाको प्रत्यक्षदर्शी बने प्रमाणित गर्न उनले प्रहरीलाई चुनौती समेत दिए । 

सर्वोच अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त ईजलासबाट घटनाको पुन अनुसन्धान गर्न भएको आदेशको आधारमा प्रहरीले तयार गरेको पछिलो प्रतिवेदन तथा प्रमाण मनगढन्ते भएको अधिवक्ताहरुले जिकिर गरेका छन् । सो घटनामा आलम कतैबाट पनि दोषी नदेखिएर्कोे अधिवक्ताहरुले दावी गरे । बहसमा अधिवक्ताहरुले जनताको अदालतबाट प्रत्यक्ष मत पाएका आलमलाई पूर्वाग्राही ढंगले फसाउन नहुने तर्क गरेका थिए ।

सोमवारदेखी सुरु भएको आलम पक्षको बहसमा मंगलवार दुई वरिष्ठ अधिवक्तासहित ३ जना अधिवक्ताहरुले बहस गरेका थिए । बरिष्ठ अधिवक्ताद्वय खडका र युगनाथ खनालसहित अधिवक्ता सतिश कुमार झा र अन्य २ जना अधिवक्ताले आलमको पक्षमा बहस गरेका हुन् ।  अधिवक्ता झाले आलममाई साधारण तारेखमा रिहा गरी मुद्धाको प्रकृया अगाडी बढाउनुपर्नेमा जोड दिए ।

२०६४ चैत्र २७ गते जिल्लाको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह पिन्टु र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै इँटा भट्टामा जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाएको थियो ।  

सोमवार आलमको तर्फबाट बरिष्ठ अधिवक्ता शेरबहादुर केसी, सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी,कृष्ण घिमिरे ‘भुषण’ र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप