शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुलुस गरेर मात्रै कालापानी फिर्ता हुँदैन: देउवा

मङ्गलबार, २६ कात्तिक २०७६, २२ : १८
मङ्गलबार, २६ कात्तिक २०७६

हेटौंडा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताएका छन् । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले कालापानी सदियौँकालबाट नेपालको भूभाग भएको बताए । कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उनले कालापानीको भूभाग एक इन्च पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

सभापति देउवाले ऋण लिएर रेल चढ्ने कुराको काङ्ग्रेसले समर्थन नगर्ने बताए । भारत या चीन दुवैले रेलमा अनुदान दिने भएमात्र रेल बन्नसक्ने उनको भनाइ थियो । उनले भने, “भारत होस् कि चीन, ऋण लिएर रेल बनाउने काममा समर्थन हुन्न, प्रत्येक वर्ष ब्याज तिर्दै रेल चढ्ने कुरालाई समर्थन छैन ।”

नेपाली काङ्ग्रेसलाई बलियो बनाउन पार्टीमा आन्तरिक एकता आवश्यक रहेकोसमेत उनको भनाइ थियो । पार्टीमा एकता भएको अवस्थामा चुनावमा समेत विजयी हुने उनले बताए ।

कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेसले अब नेपालको कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए । कम्युनिष्टहरुको विचारनै नभएको र बहुदलमा विश्वास गर्ने चरित्रसमेत नरहेको उनको आरोप थियो ।

कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय नेताहरु डा शशाङ्क कोइराला, डा रामशरण महतलगायतले बोलेका थिए । भोलिसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नं ३ का ६ जिल्लाका २९० महाधिवेशन प्रतिनिधिहरुको सहभागिता छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप