मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

आइतबार, ०४ असार २०७४, १० : ५४
आइतबार, ०४ असार २०७४

‘नेपालजस्तो सुन्दर देश अरू छँदै छैन,’ नेपाल टेलिकमकी  प्रबन्ध निर्देशक  कामिनी राजभण्डारीले उत्साहित हुँदै भनिन्, ‘यहाँको प्राकृतिक स्रोत/साधनमात्रै व्यवस्थापन गर्न सके नेपाललाई संसारकै सुन्दर र धनी देश बनाउन सकिन्छ ।’ 


संवत् २०४२ मा टेलिकम प्रवेश गरेकी टेलिकम प्रबन्ध निर्देशक  राजभण्डारी खुसी देखिन्छिन् । खुसी रहने मानिस त्यत्तिकै स्वस्थसमेत हुन्छन् । ‘आफू बिरामी भए टेलिकम स्वस्थ रहन सक्दैन,’ उनको मान्यता छ, ‘संस्थालाई गतिशील राख्न आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्यो ।’ गत आर्थिक वर्षमा २३ करोड राजस्व तिरेको टेलिकमलाई सधैं ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध नेपाल टेलिकम प्रबन्ध निर्देशक  कामिनी राजभण्डारीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :


मेरो खाना
 

केही वर्षपहिलेदेखि साकाहारी भएकाले ‘भेजिटेबल्स’ बढी मन पर्छ । हिजोआज ‘ननभेज’ पटक्कै मन पर्दैन । खानकै लागि कहिलेकाहीं रेष्टुरेन्ट पुग्ने गरेकी छु । साकाहारी  भएकाले स्न्याक्समा ‘भेजिटेबल्स’ नै मन पर्छ । पकाउने रुचि असाध्यै छ । तर, मेरो महत्वपूर्ण समय अरूमा ‘डाइभर्ट’ भएकाले खाना पकाउन सकिरहेकी छैन ।  

 
मेरो पोसाक
विशेषतः सामान्य पोसाक मन पर्छ । हेर्दा विशेष देखिने ‘लुज फिटिङ’ का पोसाक रोजाइमा पर्छ । अहिले पनि बिहेको पोसाक सुरक्षित छ । त्यो हिजोआज पनि लगाउने गरेकी छु । त्यति पुरानो पोसाक लगाउँदा श्रीमान् र छोराहरूले जिस्क्याउने गर्छन् । ‘क्रिम’ र ‘लाइट कलर’ को पोसाकप्रति आकर्षित छु । प्रायः कपडा सिलाएरै लगाउने गरे पनि पछिल्लो समय सस्तो पर्ने भएकाले ‘रेडिमेड’ नै रोज्ने गरेकी छु ।


मेरो फिटनेस
दैनिकजसो आधा घन्टा योगा गर्छु । समय मिलिहालेमा ‘वाक’ गर्छु । म जे पायो त्यही खानेकुरा खान्न । 

मेरो अध्ययन
पत्रपत्रिका पढ्न छुटाएको छैन । विशेषतः ज्ञानबद्र्धक किताब पढ्ने गरेकी छु । नेतृत्व विकास गर्ने र सफलताका कथा भएको किताब प्राथमिकतामा पर्छन् । मेरो रुचि दृष्टिगत गर्दै अमेरिकामा रहेका छोराले किताब पठाइदिने गरेका छन् ।


व्यावसायिक रूपमा नभए पनि आफ्नै संस्थाद्वारा प्रकाशित प्रकाशनमा लेख लेख्ने गरेकी छु । त्यति धेरै नभए पनि पछिल्लो समय व्यवस्थापनसम्बन्धी किताब संकलन गर्दै आएकी छु । हिजोआज सबै कुरा इन्टरनेटमा पाइने भएकाले किताबमा खर्च कमै छ । 


मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । नयाँ÷नयाँ ठाउँ पुग्ने, नयाँ÷नयाँ मानिससँग भेटघाट गर्ने रुचि कम भएको छैन । बिदा पाउनसाथ घुम्न निस्कन्छु । नेपालका धेरै जिल्ला टेकेकी छु । नेपाल टेलिकम महाप्रबन्धकको भूमिकामा रहँदा सबै जिल्ला पुग्नेछु ।


टेलिकममा काम गर्ने भएकाले तालिम तथा ‘वर्कसप’ मा विदेश पुगेकी छु । युरोपका धेरैजसो देश, चीन र भारत पनि पुगेकी छु । नेपालबाहेक घुमेकामध्ये अमेरिकाले आकर्षित गर्यो । 


मेरो फुर्सद


टेलिकम महाप्रबन्धक भएपछि ‘लाइफ’ नै ‘टर्निङ’ भएको छ । बिहान सात बजेदेखि कार्यालयसँग सम्बन्धित कामका लागि मोबाइलमा घन्टी बज्छ । यो प्रक्रिया बेलुका अ‍ेबरसम्म चलिरहन्छ । 


बेफुर्सदी भए पनि कार्यालयीय समय सकिएपछि घर पुग्दा थकाइ लागेको अनुभूति भएकाले गहिरो निद्रा लाग्छ । व्यस्त भए पनि बिदा लिएर आराम गर्ने सोचेकी पनि छैन । फुर्सद पाइहालेमा टेलिकमसँग जानकारबाट प्रतिक्रिया लिन्छु । जसले संस्थालाई सही तरिकाले अघि बढाउन सकियोस् । 


कार्यालयीयबाहेक परिवारलाई समय दिएकी छु । परिवारसहित रेष्टुरेन्ट पुगेर खाना खाने गरे पनि चलचित्र हेर्ने बानी छैन ।    

मेरो खेलकुद
मलाई टेबलटेनिस मन पर्छ । म इन्जिनियरिङ कलेज पढ्दासम्म टेबलटेनिस खेलेकी थिएँ । स्वीमिङ पनि त्यत्तिकै मन पर्छ । 

मेरो मोबाइल
आइफोन बोक्दै आएकी छु । ब्रान्डको हिसाबले अलि महँगै पर्यो । अन्य मोबाइलभन्दा ‘फिचर्स’ बढी भएकाले आइफोन बोकेकी हुँ । मोबाइलका अधिकांश ‘एप्लिकेसन्स’ प्रयोग गर्दै आएकी छु । 

पहिले/पहिले मञ्चमा उभिएर दुई शब्द बोल्नसमेत सक्दिनथें । प्रतिबद्धता ठूलो कुरा रहेछ । प्रतिबद्धताले परिपक्व बनाउँदोरहेछ । हिजोआज भाषण गर्न गाह्रो लाग्दैन । भाषणमार्फत केही न केही दिन चाहने भएकाले मेरो भाषण सन्देशमूलक हुन्छ । भाषण गर्नअघि सामान्य तयारी गर्ने गरेकी छु ।

मेरो टेलिभिजन
टीभीमा समाचार हेर्ने गरेकी छु । पहिले/पहिले हेरे पनि हिजोआज टेलिशृंखला हर्ने गरेकी छैन । कहिलेकाहीं चलचित्र हेर्छु । धार्मिक कार्यक्रमसमेत हेर्छु । धार्मिक कार्यक्रम हेरेपछि आफूमा धेरै परिवर्तन पाएकी छु । 


बेलुकाको खानापछि र सुत्नअघि टीभी हेर्ने साइत जुर्छ । घरमा भएको एलजी टीभी २१ इन्चको छ । 


मेरो चलचित्र
केही समयअघि युटुबमा चलचित्र ‘बाहुबली’ हेरेकी थिएँ । राम्रो लाग्यो । दुई वर्षअघि हलसम्म पुगेर चलचित्र हेरेकी थिएँ । त्यतिबेला धेरै चलचित्र हेरे पनि नाम सम्झना छैन । रेखा र अमिताभ बच्चनको अभिनय मन पर्छ ।   

मेरो रोग
स्वास्थ्यप्रति सचेत छु । म बिरामी परे कम्पनी पनि बिरामी हुने मेरो मान्यता छ । तसर्थ, आफूलाई स्वस्थ राख्न सधैं सचेत रहन्छु । 


सालिन्दा एकपटक ‘होलबडी चेकअप’ गराउँछु । सम्बन्धित मानिस स्वस्थ रहनु भनेको उसैमा भर पर्छ । तपाईं खुसी हुनमात्रै जान्नु भए पनि स्वस्थ रहन सक्नुहुन्छ ।

त्यतिबेला कसैले दुःख दिए पनि तपाईं खुसी रहन सक्नुहुन्छ । सबैभन्दा ठूलो समस्या भनेको ‘स्ट्रेस’ हो । शारीरिक अभ्यासले पनि स्वस्थ रहन सकिन्छ ।


मेरो भाषणशैली
 

पहिले/पहिले मञ्चमा उभिएर दुई शब्द बोल्नसमेत सक्दिनथें । प्रतिबद्धता ठूलो कुरा रहेछ । प्रतिबद्धताले परिपक्व बनाउँदोरहेछ । हिजोआज भाषण गर्न गाह्रो लाग्दैन । भाषणमार्फत केही न केही दिन चाहने भएकाले मेरो भाषण सन्देशमूलक हुन्छ । भाषण गर्नअघि सामान्य तयारी गर्ने गरेकी छु ।

मेरो मापसे
कहिलेकाहीं वाइन लिने गरेकी छु । फ्रान्सको वाइन राम्रो मानिन्छ । ‘फर्मल पार्टी’ को शोभा बढाइदिन एक पेगसम्म पिउने गर्छु ।  

मेरो संगीत
 

गीत/संगीत सुन्न असाध्यै मन पर्छ । ‘सिरियस’ गीत सुन्न आनन्द लाग्छ । धेरैजसो भजन सुन्ने गरेकी छु । भजन नसुको दिन हुँदैन । नारायण गोपाल र लगा मंगेशकरको आवाज कर्णप्रिय लाग्छ ।

मेरो भूल
मानिस भएपछि जान/अन्जानमा भूल गरिन्छ । तर, पश्चाताप लाग्नेगरी भूल गरेकी छैन । हानि हुनेगरी भूल नगरेकीले सजाय पाएको छैन । भूल नगरी सजाय पाएको अनुभूतिसम्म गरेकी छु । त्यसलाई सामान्य रूपमा लिएकी छु । 

मेरो घर
अहिले बस्दै आएको घर २०५२/०५३ मा बनाएको हो । श्रीमान्, श्रीमती र छोराको कमाइका साथै घर बनाउँदा मैले पाएको दाइजोसमेत परेको थियो । घर बनाउन ऋण पनि लिएका थियौं । तिर्न बाँकी छ ।  
 

नेपालजस्तो सुन्दर देश कुनै छैन । नेपालको प्राकृतिक स्रोत सही व्यवस्थापन गर्न सके  नेपालाई संसारकै सुन्दर र धनी बनाउन सकिन्छ । म जुन भूमिकामा छु, यही भूमिकाबाट आफू होइन, संस्थालाई जहिल्यै ‘लिडिङ रोल’ मा राख्ने, सम्पूर्ण नेपालीको प्रिय टेलिकम बनाउने लक्ष्य लिएकी छु । 

मेरो राशी
 

मेरो राशी वृश्चिक हो । जन्मदिनको अवसर पारेर सालिन्दा सपरिवारको ग्रहदशा देखाउने गरेकी छु । आफूले कमाएको १ प्रतिशत अरूको नाममा खर्चंदै आएकी छु । 

मेरो सौन्दर्यचेत
 

कपालमा तेल लगाउने गरेकी छु । अनुहारमा क्रिम लगाउँछु । सकेसम्म ‘आर्टिफिसियल’ वस्तु कम प्रयोग गर्छु । फेसियल गर्ने बानी छैन । विदेशतिर जाँदा फुर्सद भएमा आफू बसेको होटलमा साउनाबाथ लिन्थें । 

मेरो प्रेम
 

हामीले प्रेमविवाह गरेका हौं ।

मेरो सपना


नेपालजस्तो सुन्दर देश कुनै छैन । नेपालको प्राकृतिक स्रोत सही व्यवस्थापन गर्न सके  नेपालाई संसारकै सुन्दर र धनी बनाउन सकिन्छ । म जुन भूमिकामा छु, यही भूमिकाबाट आफू होइन, संस्थालाई जहिल्यै ‘लिडिङ रोल’ मा राख्ने, सम्पूर्ण नेपालीको प्रिय टेलिकम बनाउने लक्ष्य लिएकी छु । 

गत आर्थिक वर्षमा २३ करोड कर तिरेको टेलिकमलाई धेरैभन्दा धेरै सेवा विस्तार गर्ने संस्था बनाउन प्रतिबद्ध छु ।    

मेरो मृत्यु
 

जन्मेपछि मर्नैपर्छ । मृत्युलाई सामान्य रूपमा लिएकी छु । अरूलाई दुःख नदिई मर्न पाइयोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप