बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भिजिट नेपाल २०२० : पर्यटकको मुख्य प्रवेशद्वार ‘प्रदेश ३’ को तयारी के ?

बुधबार, २७ कात्तिक २०७६, १६ : ०३
बुधबार, २७ कात्तिक २०७६

काठमाडौँ । भिजिट नेपाल २०२० को समय नजिकिएको छ । अङ्ग्रेजी वर्ष २०२० नजिकिएसँगै अबको केही दिनमै पर्यटन वर्षले प्रवेश पाउँदै छ । भ्रमण वर्षलाई नै लिएर यति खेर देशभित्र र बाहिर दौडधूप सुरु भएको छ । केन्द्र सरकारदेखि प्रदेश सरकार र स्थानीय निकायलाई समेत भ्रमण वर्ष २०२० ले तताएको छ । यतिखेर पर्यटनका कार्यक्रमहरू तय गर्न र प्रचार प्रसार गर्न तीनै तहका निकायहरूलाई भ्याई नभ्याई छ । 
भ्रमण वर्ष २०२० मा अधिकतम २० लाख पर्यटन भित्र्याउने सरकारको तयारी छ । 

सन् २०१७ मै २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने सरकारी निर्णय भए पनि भ्रमर्ण वर्षकै दौलोमा अर्थात् भ्रमण वर्षको पूर्वसन्ध्यामा आएर सरकारी तवरबाट तयारी थालनी हुन थालेको हो । 

भ्रमण वर्षको पूर्वसन्ध्यामा केन्द्रदेखि स्थानीय तहसम्मले आफूसँग भएका र सम्भावित पर्यटन क्षेत्रको पहिना, पूर्वाधार विकास र प्रचार प्रसारमा केन्द्रित हुन थालेका हुन् । यता भ्रमण वर्ष सुरु हुनै लाग्दा पर्यटन व्यवसायीहरू पनि व्यस्त देख्न थालिसकेका छन् । भव्य, सभ्य र पूर्ण उत्साहपूर्व भ्रमण वर्ष सफल बनाउने सरकारको तयारीमा सबैतिरबाट तयारी थालिएको छ । यस्तैमा पर्यटक प्रवेशको मुख्यद्वार मानिएको प्रदेश नं. ३ ले समेत आफ्नो क्षेत्रबाट भ्रमण वर्षको जोडबल गर्न थालिसकेको छ ।

कस्तो छ प्रदेश ३ को तयारी ?
पर्यटक आगमनको मुख्य प्रवेशद्वारसमेत मानिएको प्रदेश ३ ले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विभिन्न कार्यक्रम, नीति तथा रणनीति अघि सारेको छ । भ्रमण वर्षलाई नै लिएर यो प्रदेशले प्रदेशस्तरीय कार्यक्रम भेला आयोजना गरिरहेको छ । गत मङ्गलबार मात्र प्रदेशले नेपाल भ्रमण वर्ष २०२० पूर्वतयारी भेला आयोजना गरेको थियो । भेलामा प्रदेश सरकार, स्थानीय निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला निकायहरूसँग भ्रमण वर्षको तयारीबारे छलफल चलाएको छ । प्रदेशभित्र रहेका र सम्भावित पर्यटन क्षेत्रको पहिचान, सुधार र प्रचार प्रसारमा प्रदेश खुलेरै लागेको छ । यसका लागि प्रदेश सरकारले एक अर्ब ६५ करोड बजेटसमेत छुट्याइसकेको छ । 

पर्यटक प्रवेशको मुख्यद्वार प्रदेश ३
देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ प्रदेश ३ मा पर्छ । तेस्रो मुलुकबाट आउने वा हवाई मार्ग प्रयोग गर्दै आउने पर्यटकको पहिलो प्रवेश यही प्रदेशमा हुन्छ । त्यसैले पनि भ्रमण वर्षको मुख्य पर्यटकद्वारको रूपमा प्रदेश ३ लाई नै मानिन्छ । 

स्थलगत मार्गबाहेक हवाई मार्गको प्रयोग गर्दै नेपाल भित्रिने पर्यटकको सङ्ख्या प्रतिवर्ष १० लाखको हारहारीमा छ । अझ पछिल्लो समय यो सङ्ख्या बढ्दो छ । चालू आर्थिक वर्षको चार महिनामा मात्र करिब ९ लाख पर्यटक हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेको सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०२० सम्ममा यो सङ्ख्या बढेर २०, २२ लाख पुग्ने सरकारी आँकलन छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्न मन्त्री योगेश भट्टराईले हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको यकिन तथ्याङ्क भए पनि स्थलमार्ग प्रयोग गर्दै नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या ठूलो रहेको बताएका छन् । झण्डै २०, ३० लाख पर्यटक वार्षिक रूपमा स्थलमार्ग हुँदै नेपाल भित्रिने गर्छन् । तर अहिले हवाई मार्गमा पर्यटकको चाप उच्च छ ।

‘नेपालको पर्यटक आगमनको ठूलो बजार भारत हो । भारतबाट झण्डै २० लाख पर्यटक वार्षिक रूपमा नेपाल भित्रिने गर्छन् । यसमा हवाई मार्गमा भन्दा स्थलमार्गबाट आउनेहरूको सङ्ख्या ठूलो छ ।’ मन्त्री भट्टराईले भने, ‘तर पछिल्लो समय हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । झण्डै ८ देखि ९ प्रतिशतले बढेर गएको छ । अझ यसमा सहजता र सुविधा थप्ने हाम्रो तयारी हो ।’
भट्टराईका अनुसार अहिले विश्वमा हवाई मार्गको प्रयोग झण्डै ७ प्रतिश रहेको छ । तर नेपालमा भने पछिल्लो समय यो दर बढेर १३ प्रतिशत पुगेको छ । यही रफ्तार रहे अबको एक दशकमा त्रिभुवन विमानस्थलले धान्ने अवस्था रहँदैन । त्यसैको विकल्पमा सरकारले निजगढ विमानस्थललाई अघि सारको भट्टराईले बताए ।

‘नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलले अब धान्ने अवस्था छैन । यही अवस्था रहिरहे अबको केही वर्षमा नै तहसनहस हुने देखिन्छ । त्यसैले सरकारले यसको विकल्पको रूपमा निजगढ विमानस्थललाई अघि सारेको छ । तर विकास नचाहने केही तत्वहरूले यसलाई रोक्न विभिन्न अड्को थापिरहेका छन् ।’ भट्टराईले भने, ‘यो विमानस्थल जसरी पनि निर्माण हुन्छ ।’

त्यस्तै, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल समेत छिटो सम्पन्न गर्ने गरी सरकार अघि बढिरहेको मन्त्री भट्टराईले बताए । यी विमानस्थलहरू बने पर्यटन प्रवद्र्धनमा थप सहयोग मिल्ने उनको भनाइ छ । 

भ्रमण वर्ष २०२० का लागि प्रदेशका २० पर्यटन गन्तव्य 
नेपाल भ्रमण वर्ष २०२० का लागि प्रदेश ३ ले २० स्थान तय गरेको छ । धार्मिक, सांस्कृति तथा ऐतिहासिक १० स्थानसहित १० हिल स्टेसन प्रदेशको प्रमुख पर्यटक आकर्षणको केन्द्र बनेको छ । यीबाहेक प्रदेशभित्रका ६६ वटै निर्वाचन क्षेत्रमा एक एकवटा पर्यटन क्षेत्र प्रवद्र्धनमा परेका छन् । यसका लागि प्रदेश सरकारले ५७ वटा पूर्वाधार निर्माण अध्ययन र ९७ वटा पूर्वाधार निर्माण सम्पन्न गरिसकेको छ । 

मुख्य पर्यटन गन्तव्यका रूपमा प्रदेशले समुदायमा आधारित पर्यापर्यटनमा सिन्धुली हरिहरपुरगढी क्षेत्रमा मचान भ्युटावर, इन्द्रेणी सामुदायिक वन अवलोकन, जुगल हिमाल आरोहण, हिलारी एन्ड तेन्जिङ नोर्गे पार्क, गोठाटार पार्क र सफा तथा हरियाली सहर विकासका कार्यक्रम अघि सारेको छ । 

त्यस्तै, घरेलु तथा हस्तकला उपजसमेत प्रदेशको पर्यटन प्रदर्शनका साधन बनेका छन् । प्रदेशको भक्तपुर दत्तात्रयमा रहेको कोसेली घर, इको रिक्रिएसन पार्क, कीर्तिपुरको युद्ध पार्क हस्तकला प्रदर्शनीमा परेको छ । 
हाइकिङ तथा पदयात्रका लागि प्रदेशले फुलचोकी हाइकिङ रुटसहितको मनमोहक पार्क (४०० मि. जुन निर्माण हुँदै गरेको), गोदावरी हाइकिङ रुट (४५० मि.) नुवाकोटको ककनी चिप्टेश्वर हिलस्टेसन, सिन्धुपाल्चोक पाँच पोखरी हाइकिङ, रामेछाप चिज जनजाति पदमार्ग, धादिङ –झारलाङ, झारलाङ – तातोपानी पदमार्ग, काभ्रेको गिम्दीबेंसी पदमार्ग लगायतका हाइकिङलाई अघि सारेको छ । साथै प्रदेश ३ ले गोसाइँकुण्ड–लाङटाङ–हेलम्बु, घन्जलापास हाइकिङ रुटसमेत तय गरेको छ । यसले समग्र प्रदेशको २५ हजारभन्दा बढी पर्यटक बढाउने प्रदेशको बुझाइ छ । यसलाई चालू आर्थिक वर्षको अन्त्यसम्ममा दोहोरो पदमार्गका रूपमा विकास गर्ने प्रदेशले तयारी गरेको छ । 

त्यस्तै यीबाहेक प्रदेशमा स्थापित गन्तव्यहरूमा काठमाडौँ उपत्यका, चितवन, नगरकोट, धुलीखेल, दोलखा, लाङटाङ, शिवालय, जुगल, इन्द्रसरोबर, गौरीशङ्कर, मुडे–शैलुङ, जिरी, ककनी, वासुकीथुम्की लगायतका पर्यटन गन्तव्यहरू समेटिएका छन् । 

धार्मिक तथा ऐतिहासिक स्थलहरू
नेपालकै एतिहासिक तथा पुरातात्विक सम्पदामा परेका प्रदेशका मुख्य मुख्य सम्पदाहरू गोरखा दरबार, नुवाकोटको सात तले दरबार, काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका ऐतिहासिक दरबार, सिन्धुलीगढी दरबार, किल्ला र गढीहरू पर्यटन क्षेत्रको रूपमा विकास गरिने भएको छ । त्यस्तै, प्रदेशभित्रका पाटी, पौवा, मठ मन्दिर, चैत्य गुम्बाहरूको समेत प्रचार गरिने भएको छ ।  
त्यस्तै एड्भेन्चर पर्यटनमा समेत प्रदेशले विशेष महत्त्व गर्ने भएको छ । प्रदेशभित्र पर्ने हिमशृङ्खलाहरूको हिमाल आरोहणदेखि भोटेकोसीमा बन्जी खेल, भोटेकोसी, त्रिशूली, नारायणी ¥याफ्टिङ, साइक्लिङ लगायतका कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । 

भ्रमण वर्ष पर्यटन प्रवद्र्धन तथा प्रचार प्रसारका कार्यक्रमहरू 
प्रदेश ३ ले आफ्नो ६६ वटै निर्वाचन क्षेत्रमा एक एकवटा पर्यटन क्षेत्र पहिचान गर्दै सो क्षेत्रमा पर्यटकीय औद्योगिक मेला सञ्चालन गर्ने भएको छ । त्यसका लागि प्रदेश मन्त्रालयले ३ करोड ३० लाख रकम विनियोजन गरेको छ । त्यस्तै प्रदेशको पर्यटन, व्यापार, औद्योगिक मेला सञ्चालनका लागि २ करोड ४० लाख छुट्याएको छ ।

यसका लागि तीन चरणमा सूचना प्रकाशित गर्ने गरी प्रदेश सरकारले तयारी गरेको छ । भ्रमण वर्षलाई नै लिएर प्रदेशले पर्यटकीय स्थलहरूको पहिचान र प्रचार प्रसारमा सासंदहरूको अन्तरप्रदेश भ्रमण, पत्रकारहरूको प्रदेश भ्रमण र निजी क्षेत्र र कर्मचारीहरूको भ्रमणका कार्यक्रमसमेत राखेको छ । 

त्यस्तै, नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा टुरिजम रेडियो कार्यक्रम सञ्चालन, प्रदेशका पर्यटकीय उत्पादनको ८ वटा भाषाको ११२ वटा भिडियो क्लिप प्रचार प्रसार, हरेक पर्यटन स्टेसनमा प्रदेश टुरिज्म एम्बेस्डर तथा सामुदायिक पर्यटन फोकल पर्सनको नियुक्ति गर्ने, टुरिस्ट गाइडलाई प्रदेश सरकारबाट बिमा तथा सहुलियत भत्ताको व्यवस्था र प्रदेशभित्रका पर्यटन क्षेत्रमा आवश्यक होमस्टे तथा हस्पिटालिटीको उचित व्यवस्थापन गर्ने कार्यक्रम रहेका छन् । 

भ्रमण वर्षको पूर्वसन्ध्याकालीन कार्यक्रमहरू
नोभेम्बर १६ का दिन उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा परेका स्थलहरूको भ्रमण साइकल ¥याली (साइक्लिङ) गरिने । जसमा ५०० वटा साइकल प्रयोग गरिँदै छ । 

मङ्सिर ६–९ सम्म काठमाडौँ–सिन्धुलीगढी–जनकपुर साइकल यात्रा गर्ने,

नोबेम्बर २६–२८ अर्थात् मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोसीमा हिमालयन ह्वाइट वाटर ¥याफ्टिङ कम्पिटिसन गर्ने,

डिसेम्बर २१ (पौष ६ गते) दस हजार जनाको सहभागितामा काठमाडौँ रन सञ्चालन गर्ने,

पुस १२ गते २ हजार ५ सय जनाको सहभागितामा हेटौँडादेखि गढीसम्म हेटौँडा रन सञ्चालन गर्ने, 

पुस १०–१४ सौराहा हात्तीपोलो खेल लगायत विविध खेल खेलाइने  र, डिसेम्बरको अन्तिम दिन न्युरोडगेटदेखि वसन्तपुर दरबारसम्म सांस्कृतिक नाच प्रस्तुत गर्ने र तमु ल्होसारको अवसरमा ठमेलदेखि कर्मचारी सञ्चयकोषसम्म तमु सांस्कृतिक नाच प्रस्तुत गर्ने कार्यक्रम प्रदेशले राखेको छ । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भने, जनवरी १ मा धुलिखेल र इन्द्रसरोवरमा भिजिट नेपाल २०२० को स्तम्भ स्थापना गरेर प्रदेश ३ ले औपचारिक सुरुवात गर्ने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप