शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाः आगोसँग लड्ने २३ वर्षीया गर्भवती युवती

बिहीबार, २८ कात्तिक २०७६, ०७ : २८
बिहीबार, २८ कात्तिक २०७६

अष्ट्रेलियामा २३ वर्षीया महिला गर्भवती हुँदा हुँदै पनि आगोसँग लड्नका लागि अग्नि नियन्त्रकको रुपमा स्वेच्छिक रुपमा काम गरेकी छिन् ।

क्याट रोबिन्सन विलियम्स यतिबेला १४ हप्ताकी गर्भवती छिन् । तर अग्नि नियन्त्रक (फायर फाइटर) को भूमिकामा अष्ट्रेलियाको जंगलमा फैलिएको भयानक आगोसँग उनी बहादुरीका साथ लडिरहेकी छिन् ।

विलियम्सका अनुसार उनका थुप्रै साथीहरु उनको यो निर्णयका कारण चिन्तित छन् र उनलाई यस्तो नगर्न सुझाइरहेका छन् ।

उनले इन्स्टाग्राममा एउटा पोष्ट लेख्दै यस्तो स्थितीमा उनी ‘चुपचाप लागेर पछाडि बस्न नसक्ने’ बताएकी छिन् ।

रोबिन्सन विलियम्स पछिल्लो ११ वर्षदेखि आगो नियन्त्रणका लागि भोलुन्टियरको रुपमा काम गर्न न्यू साउथ वेल्स रुरल फायर सर्भिससँग आबद्ध छिन् ।

उनी भन्छिन्, ‘अग्निनियन्त्रक कर्मचारी गर्भवती भएको यो पहिलो घटना होइन न नै यो अन्तिम हुनेछ । म अहिले पनि अरुको मद्दत गर्न सक्षम छु त्यसकारण यसो गरिरहेकी छु ।’

Photo: KAT ROBINSON-WILLIAMS

अष्ट्रेलियाको जंगलमा लागेको आगोले अहिलेसम्म तीनजनाको ज्यान लिएको छ भने दुईसय बढी घर जलेर खरानी भएका छन् ।

‘अरुले के सोच्छ, मलाई त्यसको कुनै मतलब छैन’

रोबिन्सन विलियम्सले सोमबार इन्स्टाग्राममा एउटा फोटो पोष्ट गरेकी छिन् जसमा उनले अग्निनियन्त्रक गियर लगाएका थुप्रै तस्बिर साझा गरेकी छिन् ।

पोष्टमा एउटा क्याप्सन पनि लेखिएको थियो, ‘हो, म अग्निनियन्त्रक कर्मचारी हुँ । म एक पुरुष होइन । हो, म गर्भवती छु । यदि तपाईंलाई मैले यस्तो गरिरहेको  मन परेको छैन भने मलाई कुनै मतलब छैन ।’

उनको पोष्टलाई मानिसहरुले निकै समर्थन पनि गरिरहेका छन् जसमा कतिले उनलाई ‘सबै महिलाका लागि प्रेरणा’ पनि बताएका छन् ।

उनले बीबीसीसँगको कुराकानीमा उनका थुप्रै साथीहरुले उनको कामका लागि आपत्ति जनाएपछि यस्तो तस्बिर सार्वजनिक गरेको बताएकी छिन् ।

‘म उनीहरुलाई यो बताउन चाहन्छु कि म ठिक छु र अब कुनै पनि हालतमा रोकिने छैन । जब मलाई मेरो शरीरले यो काम गर्न सक्दैन भन्ने लाग्छ, त्यसपछि मात्रै विश्राम लिन्छु ।’

उनलाई डाक्टरले पनि यसका लागि अनुमती दिएको बताएकी छिन् । तर डाक्टरले सही उपकरण लगाइरहन सल्लाह दिएको बताइन् । रोबिन्सन विलियम्स चाइल्डकेयरमा काम गर्छिन् । उनका तीन पीढिले अग्निनियन्त्रणका लागि भोलिन्टियर गर्दै आएका छन् ।

Photo: Getty Image

उनी भन्छिन्, ‘मेरी आमाले पनि सन् १९९५ मा भएको आगलागीका क्रममा अग्निनियन्त्रकको रुपमा भोलिन्टियर गरेकी थिइन् र त्यतिबेला उनी पनि गर्भवती थिइन् । हाम्रो परिवारमा यो एक प्रकारको परम्परा जस्तो भएको छ ।’

‘जब म सानी थिएँ तब मेरी हजुरआमाले मेरो नापको एउटा फायर फाइटर ड्रेस पनि बनाएकी थिइन् ।’

रोबिन्सन विलियम्स भन्छिन्, ‘यो परिवारको एउटा परम्पराजस्तो हो, हामीले उहिल्यैदेखि यस्तो काम गर्दै आएका छौं । मेरी हजुरआमा अहिले पनि भोलुन्टियर गरिरहेकी छिन् । उनले ५० वर्षसम्म यो काम गरिन् र मेरी आमाले ३० वर्षदेखि यो काम गर्दै आएकी छिन् ।’

रोबिन्सन विलियम्सका श्रीमान् र घरका अन्य सदस्य पनि अग्निनियन्त्रकको रुपमा भोलुन्टिर गरिरहेका छन् ।

उनी भन्छिन्, ‘मलाई आशा छ कि मेरो बच्चाले पनि यो काम गर्नेछ । यद्यपि, यो निर्णय उसको आफ्नै हुनेछ ।’

Photo: KAT ROBINSON-WILLIAMS

गो निभाउने क्रममा डर लाग्दैन ? बीबीसीको प्रश्नमा रोबिन्सनले तत्काल जवाफ फर्काइन्, ‘अहँ, कति पनि लाग्दैन ।’

उनी भन्छिन्, ‘म हिजो पनि एउटा भयानक आगोको बीचमा थिएँ । त्यहाँका घर नराम्रोसँग जलिरहेका थिए । हामी यसलाई रोक्ने कोसिस गरिरहेका थियौं । यो एउटा यस्तो काम हो जुन म निकै अघिदेखि गर्दै आएकी छु ।’

न्यू साउथ वेल्स राज्यमा लगभग साठी लाख मानिसको बसोबास छ । अधिकारीले अग्निनियन्त्रक कर्मचारी यो भयानक डढेलोमाथि नियन्त्रण पाउने कोसिस गरिरहेका छन् । बुधबार यो डढेलो सिड्नीको उपनगरीय इलाकामा पनि फैलिएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप