बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा एकता प्रक्रिया : टाउको बन्यो, गुदी भर्न अझै बाँकी !

बिहीबार, २८ कात्तिक २०७६, १० : ०८
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ । पार्टी एकता घोषणा भएको झण्डै १८ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मोटामोटी एकता प्रकृया टुङ्ग्याएको दाबी गरेको छ । तर शीर्ष तहमा एकता प्रकृया टुङ्गिएपनि नेकपाका केन्द्रीय विभाग, जनसंगठन र आयोगहरु अझै पूर्ण हुन सकेका छैनन् । केवल ‘टाउको’ तोक्ने काममात्रै भएको छ ।

कार्तिक २५ गते बसेको नेकपाको सचिवालय बैठकले आयोगहरू, सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व छनोट गरेसँगै मोटामोटी रुपमा एकता प्रकृयाले पूर्णता पाएको दावी सो पार्टीका शीर्ष नेताहरुले गर्ने गरेका छन् । नेताहरुको यस्तो दावी भएपनि नेकपामा महत्त्वपूर्ण मानिएको केन्द्रीय तहको पोलिटव्युरो र प्रवास कमिटि अझै गठन हुन सकेको छैन । नेकपाको विधान अनुसार ६/६ महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक डेढ बर्ष सम्म पनि बसेको छैन भने ३/३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक झण्डै एक वर्ष हुन लाग्दा पनि बोलाइएको छैन । लामो समयसम्म केन्द्रीय समिति बैठक नबस्दा नेताहरुले केन्द्रमा स्थानीय तहको रिपोर्टिङ नै गर्न नपाएको गुनासो गर्न थालेका छन् ।

‘पोलिटव्युरोबाहेक पार्टी केन्द्रबाट एकता प्रकृयाका लागि गर्नुपर्ने काम सकियो, अब पोलिटव्युरो पनि चाँडै बन्छ’ महासचिव विष्णु पौडेलले भने, ‘केन्द्रबाट ढोका खुलिसक्यो, गाँठो फुकिस्यो, अब तल्ला तहका पार्टी कमिटिले फटाफट आफ्नो काम गर्न सक्छन् । त्यसैले अब एकता प्रकृया लम्बियो भनेर गुनासो गर्ने ठाउँ रहन्न ।’

केन्द्रबाटै एकता प्रकृयालाई पूर्णता दिन ढिलाइ भएको भन्ने गुनासो धेरै नेता कार्यकर्ताले गरिरहेका बेला नेकपाले पछिल्लो पटक आयोग गठन गरेसँगै गुनासो गर्ने नेता कार्यकर्ताको केही हदसम्म भएपनि मुखमा बुझो लागेको छ ।

तर शीर्षस्तरमा एकता प्रकृयाले पूर्णता पाएपनि ३३ विभागहरुका सदस्यहरु चयन गर्न बाँकी नै छ । यो काम पनि सचिवालयबाटै हुने नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन् । उता, केन्द्री सचिवालयले उपाध्यक्षमा सिफारिस गरेका बामदेव गौतमको पद अझै वैधानिक भइसकेको छैन । त्यसका लागि स्थायी समिति बैठक बस्नुपर्ने भएपनि अहिलेसम्म स्थायी समितिको बैठक बोलाउने सुरसार समेत नेकपाले गरेको छैन ।

‘मोटामोटी एकता प्रकृया त पूरा भयो तर विभिन्न विभाग, जनसङ्गठन लगायतले पूर्णता नपाउँदा पार्टी कमिटि फङ्सनेवल हुँदैनन्, जसले गर्दा पार्टी अझै चलायमान हुन सकिरहेको छैन,’ केन्द्रीय सदस्य रिजालका अनुसार किसान, युवा र विद्यार्थीबाहेक अरु विभागले अझै पूर्णता पाएका छैनन् ।

कुनैपनि पार्टीलाई चलायमान बनाउन सम्पुर्ण पार्टी कमिटिलाई पूर्णता दिन आवश्यक हुन्छ । धेरै काम गर्ने तलका कमिटिहरुले नै भएकाले ति कमिटिले पूर्णता नपाएसम्म तल्लो तहमा कार्यकर्ता परिचालन गर्न समस्या हुने गरेको नेताहरु स्वयम्ले स्वीकार गर्दै आएका हुन् ।

नेकपाका स्थायी समिति सदस्य अग्नी सापकोटा पनि रिजालको भनाइप्रति सहमत छन् । केन्द्रमा एकता प्रकृया टुङ्गिएपनि सबै कमिटिले पुर्णता नपाउँदा पार्टी कमिटिहरु चलायमान बनाउन नसकिएको सापकोटा स्वीकार्छन् ।

‘मूल नेतृत्व टुङ्गिएको छ । यो राम्रो कुरा हो । मूल ढोका खुलेसँगै अरु कमिटीलाई पनि ढोका खुला त भएको छ तर सवै कमिटीलाई पूर्णता दिन बाँकी नै छ । तत्ला कमिटिहरुले पनि अब विस्तारै पूर्णता पाउँलान्,’ सापकोटाको अपेक्षा छ । 

केन्द्रीय समितिको एक तिहाइ सङ्ख्या पोलिटब्युरोमा रहने नेकपाको विधानमा व्यवस्था भएपनि  पोलिटव्यूरो गठन नै हुन सकिरहेको छैन । ४४५ केन्द्रीय समिति बैठक पनि लामो समयदेखि बस्न नकस्दा शीर्ष नेताले तल्ला तहका समस्या, जनताका गुनासा र अवश्यक्ताका बारेमा थाहा पाउने अवसरको सदुपयोग गर्न सकिरहेका छैनन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच ०७५ जेठ ३ मा एकीकरण घोषणा भएर नेकपा गठन भएपनि आन्तरिक विवादका कारण साङ्गठनिक संरचनाहरूले पूर्णता पाउन ढिलाइ हुँदा दुइृ ठुला कम्युनिस्ट पार्टी मिलेर बनेको नेकपाको सांगठानिक संरचना चुसत दुरुस्त हुनुको साटो थप भद्रगोल अवस्थामा पुगेको नेकपाका कार्यकर्ताको गुनासो छ ।

छलफल नै हुँदैन

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएसँगै यो पार्टीमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । त्योसँगै ४४५ सदस्यीय केन्द्रीय कमिटी र ४५ सदस्यीय स्थायी समिति छ । तर धेरै निर्णयहरु अध्यक्षद्वय ओली र प्रचण्डबाटै हुँदै आएका छन् । यतिसम्मकी ३–३ महिनामा बस्नुपर्ने स्थायी समितिको बैठक झण्डै एक वर्षयता बस्न नसकेपछि कतिपय स्थायी समिति सदस्यहरुले नेतृत्वकै कारण सांगठनिक संरचना चलायमान हुन नसकेको बताइरहेका छन् । गत वर्ष पुस १३ गते बसेको स्थायी समिति बैठक त्यसयता बस्न नसक्दा नेतृत्वप्रति आलोचना अरु बढिरहेको छ ।

नेकपाका नेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङले त नेकपाले धेरै राम्रा काम गरेपनि प्रकृया र संयन्त्र स्थापित नहुँदा पार्टीविरुद्ध भइरहेका भ्रम र षड्यन्त्रहरु चिर्न नसकिएको सार्वजनिक रुपमै बताउँदै आएका छन् । उनले रातोपाटीसँगको कुराकानीमा पनि त्यहीँ कुरा दोहोर्याए । ‘मैले एक वाक्यमा भन्ने गरेको छु, हामीले धेरै राम्रा काम गरेका छौँ । तर, समयमै प्रकृया र संयन्त्र स्थापित नहुँदा राम्रा काम पनि नराम्रा भएको भनेर प्रचारबाजी भइरहेका छन् । त्यसलाई हामीले चिर्न सकेका छैनौँ । यो दुःखलाग्दो कुरा हो,’ नेम्वाङको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप