शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ चुनाव : यसकारण मेरो पनि उम्मेदवारी

शुक्रबार, ०२ भदौ २०७४, १२ : ०४
शुक्रबार, ०२ भदौ २०७४

३४ वर्ष ।
गनिल्याउँदा थोरै होइन । छँदाखाँदाको सरकारी जागिर छाडेर ३४ वर्षदेखि पत्रकारितामा रमाउनुको आनन्द उनलाई मात्रै थाहा होला । यत्तिका समयावधिमा नेपाली पत्रकारिताको आरोह÷अवरोह नजिकबाट नियाले । मिडिया सञ्चालकको मात्रै होइन, पत्रकारको वास्तविक पीडासमेत बुझेका छन् । 

‘पत्रकारले पत्रकार भएर बाँच्न सक्नुपर्छ । पेसागत सुरक्षा नहुँदा उसले सेकेन्डरी पेसा÷व्यवसाय गर्छ,’ नेपाल पत्रकार महासंघको आसन्न २५औं अधिवेशनका लागि अध्यक्षका उम्मेदवार तीर्थ कोइरालाको मान्यता छ, ‘गर्दागर्दै काम बिगारिहाल्यो भने पत्रकार भनेर उसलाई सुरक्षा दिनुपर्छ । पत्रकारले सेकेन्डरी काम गर्न नपर्नेगरी मिडिया हाउसले व्यवस्था मिलाउनुपर्छ । सरकारले वातावरण बनाउनुपर्छ । महासंघले सहजीकरण गर्नुपर्छ ।’

महासंघले धेरै काम गरेको छ । गर्दै नगरेको होइन । तीसँगै अन्य काम पनि गर्न सकिन्छ भन्ने पत्रकार कोइरालाको बुझाइ छ । महासंघले गर्न छुटाएको काम गर्न उनले उम्मेदवारी दिएका हुन् । ‘महासंघलाई फरक ढंगले चलायमान बनाउनुपर्छ । विभिन्न राजनीतिक दलसम्बद्ध पत्रकारका भ्रातृ संगठन छन् तर महासंघलाई त्योभन्दा फरक बनाउनुपर्छ,’ उनले सुनाए, ‘महासंघलाई भ्रातृ संगठनको चपेटामुक्त राखौं । भ्रातृ संगठनले भ्रातृ संगठनकै काम गर्छ । तर, महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा समातोस् । महासंघ साझा संगठन बन्न सकोस् ।’ 

प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियनलगायतले सम्बन्धित दलको पक्षपोषण गर्छन् तर महासंघले प्रेस स्वतन्त्रताका लागि, पत्रकारको क्षमता अभिवृद्धिका साथै सञ्चारमाध्यममा भित्रिएको पुँजी संरक्षण गर्ने प्रयत्न गर्नुपर्छ । उल्लिखित काम संगठित ढंगले गर्न लोभिएपछि उनले उम्मेदवारी दिन जाँगर चलाए । 

‘सबै दलसम्बद्ध पत्रकारका आ÷आफ्नै एजेन्डा छन् । हुन्छन् । तर, त्यसो होइन,’ उनले उदाहरण पेस गरे, ‘महासंघलाई त्योभन्दा अलि माथि राखौं । पार्टीको एजेन्डा पुस गर्न आ÷आफ्ना संगठन छन् । महासंघबाट पुस गरिराख्नै पर्दैन । त्यसरी नजाने हो कि भन्ने मेरो मान्यता हो ।’ हुन त राजनीतिक विचारविहीन पत्रकार हुँदैनन् । त्यो हुनुहुँदैन । भयो भने ‘भ्याकुम क्रियट’ हुन्छ । उनको दाबी छ, ‘म कुनै पनि संगठनमा छैन । तर, हुनेले आफूलाई सचेत राख्न नसकेको हो कि । पत्रकारलाई स्वतन्त्रता दिनुपर्छ । एजेन्डाको डिलिङ हेर्दा हामी पत्रकार अलि लोभी भयौं कि जस्तो लाग्छ ।’

यो पनि पढ्नुहोस्

यसकारण मेरो उम्मेदवारी

मुलुकमा ६ सय बढी एफएम रेडियो छन् । पत्रपत्रिका त्यत्तिकै । अनलाइन पनि उत्तिकै छन् । टीभी सय नाघ्न लाग्यो । नेपाली मिडियामा भित्रिएको पुँजी संरक्षण गर्ने दायित्व हाम्रै हो । उनले चिन्ता गरे, ‘भएन भने हामी डुब्छौं । तलब नलिएर पुँजी संरक्षण गर्ने होइन । श्रमजीवीको हित हुनुपर्यो । बजार विस्तार गर्न महासंघको भूमिका रहन्छ ।’ पुँजीसँगै प्रविधि भित्रेका छन् । पत्रकारसँग क्षमता भएन । क्षमता भइहाले पनि उपयोग कसरी गर्ने भन्ने छ । ‘इन्फरमेसन विजडम भएन,’ उनले अनुरोध गरे, ‘जुनसुकै भाषामा पत्रकारिता गर्दै गरेकालाई मेरो अनुरोध छ, तपाईं जुन भाषामा पत्रकारिता गर्दै हुनुहुन्छ, शुद्ध लेख्नुस् ।’

मातृभाषामा पत्रकारिता गर्नेको भाषासमेत शुद्ध हुनुपर्छ । नेपालमा दुई पेसामात्रै सुरक्षित छन् । पहिलो नेपाली भाषा र मातृभाषामा पत्रकारिता गर्ने, दोस्रो नेपाली विषय अध्यापन गर्नेको । ‘अरू जुनसुकै पेसामा बाहिरबाट मान्छे आउन सक्छन्,’ नेपाली भाषा जे पायो त्यही लेख्न थालियो भने यस्तै त रहेछ भनेर ६ महिना नेपाल बसेर पत्रकारिता गर्ने विदेशी निस्कन सक्छन् । त्यतिबेला हाम्रो हविगत के हुन्छ ? त्यतिबेला पेसा हराउँछ । हाम्रो अस्तित्व संकटमा पर्छ । तसर्थ, श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धिमा ध्यान दिन जरुरी छ ।’

महासंघको नेतृत्व गर्नु भनेको काम गर्न जान हो  । पत्रकार कोइरालाले महासंघ नेतृत्व गर्दा गर्ने काम महत्वाकांक्षी छैन । काम गर्न सर्वप्रथम टिम सक्षम हुनुपर्छ । महाधिवशेनमा उम्मेदवारी दिने पत्रकार संघ/संगठनसम्बद्ध जिम्मेवार व्यक्तिसँग उनले तपाईंको उम्मेदवार पेसाप्रति प्रतिबद्ध रहून् है भनेका छन् । पेसाप्रति प्रतिबद्ध रहेकाको टिम बने काम गर्न सजिलो हुनेछ । 

बजार अनुगमन नगरी सञ्चारमाध्यम सुरु गर्नेको बाहुल्य छ । त्यसो हुँदा थालेको कामले कहिले ‘रिटर्न’ देला ? चिन्ता हुनु अस्वाभाविक होइन । ठूलोको ठूलै र सानाको सानै चिन्ता होलान् । ‘बजार अनुगमन नगरी मिडिया सञ्चालन गर्नुहुँदैन,’ पत्रकार तीर्थ कोइरालाले सुझाए, ‘मिडिया दर्ता गर्दा बजार अनुगमन गर्ने, मिडिया सञ्चालन गर्दा कम्तीमा दुई÷तीन वर्ष धान्नेगरी रुपैयाँ धरौटी राख्ने प्रावधान हुनुपर्छ । त्यो नगरी मिडिया दर्ता गर्न नपाउने व्यवस्था गर्नुपर्छ । त्यस्तो प्रावधान राखे मिडिया सञ्चालन ख्यालख्याल होइन भन्ने थाहा हुन्छ ।’ 

पत्रकार र राजनीति छ्यासमिस हुँदा उल्लिखित काम गर्न अप्ठ्यारो छँदै छ । तर, इच्छाशक्ति हुनुपर्छ गर्न नसकिने होइन । महासंघमा गैरपत्रकारसमेत पत्रकार भए भनेर टिप्पणी गरिन्छ । राजनीतिककर्मी र व्यापारीसमेत पत्रकार छन् । उनको विमति छ, ‘पत्रकार राजनीतिक नेता हुन अलि मिलेन । पत्रकारले बोलेको भन्नबित्तिकै छुट्टै मान्यता हुन्छ । पत्रकार भएर राजनीतिक कार्यकर्ताको भाषा बोल्नुहुन्छ भने मिल्दैन । ऊसम्बद्ध दलका नेताले पत्रकारिताको भाषा मन पराउँदैन । त्यतिबेला समस्या हुन्छ ।’ 

पत्रकार र राजनीति छ्यासमिस भएकाले पत्रकारिताको विश्वसनीयता कम हुँदै गएको छ । संवत् २०४६ पछि छ्यासमिस कम हुनुपर्ने हो तर ०६२÷६३ पछि झन् मौलायो । यसलाई सुखद मानिँदैन । निप्टारा लगाउने उपाय पनि त होला ? ‘पत्रकारको पेसागत हक, हित अधिकार बलियो भयो भने ऊ त्यही पेसाबाट आत्मनिर्भर हुन्छ,’ पत्रकार कोइरालाले भने, ‘महासंघले पेसागत अभिवृद्धिका लागि तालिम दिनुपर्छ । क्षमता अभिवृद्धिको मात्रै होइन बौद्धिक व्यवस्थापनसहितको तालिम आवश्यक छ । नेपाली पत्रकारितामा पुँजी, प्रविधि र जनशक्ति आए पनि विजडम आएन ।’

‘कल्चरल र ल्याङ्वेज डोमिनेसनबाट बच्नु त्यत्तिकै चुनौती छ । नेपाली पत्रकारले नेपाल नै चिन्न र बुझ्नुपर्छ । शिक्षा पश्चिमा भए पनि त्यसलाई नेपालीकरण कसरी गर्ने ? भन्ने सन्दर्भमा महासंघले पहल गर्नुपर्छ । ‘उसले सबै कुरा आफैंले गर्न सक्दैन । त्यसको पनि लिमिटेसन छ,’ उनको जिकिर छ, ‘तर, विभिन्न राजनीतिक दलसम्बद्ध पत्रकार संघ÷संगठनसँग सहकार्य गरेर काम गर्न सकिन्छ ।’ 

महासंघको नेतृत्व गर्नु भनेको काम गर्न जान हो  । पत्रकार कोइरालाले महासंघ नेतृत्व गर्दा गर्ने काम महत्वाकांक्षी छैन । काम गर्न सर्वप्रथम टिम सक्षम हुनुपर्छ । महाधिवशेनमा उम्मेदवारी दिने पत्रकार संघ/संगठनसम्बद्ध जिम्मेवार व्यक्तिसँग उनले तपाईंको उम्मेदवार पेसाप्रति प्रतिबद्ध रहून् है भनेका छन् । पेसाप्रति प्रतिबद्ध रहेकाको टिम बने काम गर्न सजिलो हुनेछ । 

राजनीतिक दलसम्बद्ध नेताले तपाईंहरू यसरी जानूस्, हामी आलोचना खप्छौं, तपाईंहरूको प्रशंसा पनि बेहोर्छौं, सहयोग गर्छौं भनिदिए काम गर्न सजिलो हुने उनको बुझाइ छ । त्यतिमात्रै होइन, मिडिया (साना÷ठूला) ‘हाउस’ को ‘कोअपरेसन’ भयो भने कार्यकाल सफल बनाउन सकिन्छ । उनले त्यो वातावरण बनाउने प्रतिबद्ध छन् । पेसागत सुरक्षाका लागि ‘कोअपेसरसन’ भयो भने पत्रकार सक्षम हुन्छन् । 

पछिल्लो समय समानुपातिक/समावेशी मुद्दाको चर्को बहस हुने गरेको छ । कुर्सीको मात्रै समावेशी हुनुहुँदैन । समाचार कक्षको समावेशी भयो भने सम्बन्धित सञ्चारमाध्यको ‘न्युज रिच’ हुन्छ । त्यसले पाठक बढाउँछ । उसलाई जागिर दिएको सम्झनुहुँदैन । समाचार कक्षमा समावेश सम्बन्धित व्यक्तिले उसको समुदायको सम्पत्ति लिएर पुगेको हुन्छ । त्यसले सम्बन्धित सञ्चारमाध्यमको समाचार कक्षमात्रै होइन समाचार पनि समृद्ध बनाउँछ । पत्रकार महासंघ नेतृत्व गर्न पाए पत्रकार तीर्थ कोइरालाले मिडिया हाउस सञ्चालकसँग यस विषयमा छलफल चलाउँदै समावेशी समाचार कक्षलाई प्राथमिकता दिने बताए ।

महासंघको पहिलो अध्यक्षबारे विवाद टुंगिएको छैन । कृष्णप्रसाद भट्टराईलाई पहिलो अध्यक्ष मानिए पनि सत्यबहादुर प्रधान हुन् भन्नेहरू पनि छन् ।  ‘हामीसँग तथ्य मरिसकेको छैन । कतिपय बूढापाका जीवितै छन्,’ उनले भने, ‘उनीहरूसँग बसेर सोधिखोजी गरेर वास्तविकता बाहिर ल्याउन सकिन्छ । यही विवादले प्रतिष्ठानको नाम राख्ने सन्दर्भमा विवाद भयो । तसर्थ, अध्ययन गरेर विवाद सल्टाउन सकिन्छ ।’

मासिक ४७० रुपैयाँको खरिदारको जागिर छाडेर युगधारा साप्ताहिकमा दुई सय रुपैयाँ जागिरमा रमाउने व्यक्ति हुन्– तीर्थ कोइराला । हिरण्यलाल श्रेष्ठ प्रधानसम्पादक रहेको युगधारामा कोइरालाले दुई वर्ष काम गरे । 

पत्रिका बन्द भएपछि विमर्श साप्ताहिकमा जोडिए । त्यसपछि मातृभूमि साप्ताहिकमा सात वर्ष काम गरे । त्यही समय, समय मिलाएर नेपालीपत्रमा काम गरे । वातावरणसम्बन्धी रेडियो कार्यक्रम सञ्चालन गरे । 

स्थापनाकालकै चिफ रिपोर्टर उनले कान्तिपुर दैनिकमा दुई/तीन वर्ष काम गरे । कान्तिपुरजस्तै पत्रिका प्रकाशन गर्न सक्छु भनेर श्री सगरमाथा दैनिक प्रकाशन गरे । त्यहाँ वर्ष दिन काम गरेर अलग्गिए । त्यसबीचमा स्वतन्त्र पत्रकार भएर काम गरे । त्यही समय नेपाल टेलिभिजन सल्लाहकार, ‘बोर्ड मेम्बर’ र अध्यक्षसमेत भए । यो ०५५ सालको कुरा हो । 

०५७ मा कालो हिमालय टाइम्सका सल्लाहकार सम्पादकको भूमिका निर्वाह गरेका उनले १२ वर्षसम्म नेपाल साप्ताहिकको सम्पादक रहे । त्यसपछि कान्तिपुर टीभी समाचार प्रमुखको भूमिका निर्वाह गरेका उनी हिजोआज थाहा खबर डटकम प्रधान सम्पादक छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप