शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई वर्षमा सिके राउतको रोचक यूटर्नः ‘नो भोट’ देखि ‘भोट मलाई’ सम्म

बिहीबार, २८ कात्तिक २०७६, १३ : ०५
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ । अघिल्लो स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा मूलधारका राजनीतिक दलले आफ्नो पक्षमा नतिजा ल्याउन जोडतोडले गतिविधि गर्दै गर्दा सिके राउत नेतृत्वको तत्कालीन ‘स्वतन्त्र मधेस गठबन्धन’ भने मतदान बहिस्कार अभियान चलाउँदै थियो ।

तराई मधेसका गाउँगाउँमा पुगेर सिके राउतका कार्यकर्ताले मतदातालाई मतदान बहिस्कारमा प्रेरित गरेको थियो । 

विखण्डनकारी राजनीति गरेको आरोप लागेका सिके राउतले त्यतिबेला आफ्नो प्रभावक्षेत्रमा मतदान बदर कसरी हुन्छ भन्ने सिकाउने खालका प्रचार सामग्री वितरण गर्दै चुनावविरोधी गतिविधि तीव्र बनाएका थिए । सोही आरोपमा सिके राउत प्रहरीको फन्दामा समेत परेका थिए ।

अहिले उनै सिके राउत आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनको चुनावी अभियानमा होमिएका छन् । आफ्ना नेता कार्यकर्तालाई चुनावी गविधिमा होमाएर माहोल तयार गर्न जुटेका छन् । अहिले जनमत पार्टीले स्थानीय तहमा खडा गरेको उम्मेदवारहरु मतदातालाई नमस्कार गर्दै भोट माग्न तल्लिन देखिन्छन् ।

४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि बुधबार निर्वाचन आयोगले तय गरेको मनोनयन दर्ता कार्यक्रम अन्तर्गत सिके राउत नेतृत्वको जनमत पार्टीले पनि विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ ।  प्रदेश नम्बर २ को उपनिर्वाचन हुन लागेको अधिकांश स्थानीय तहका साथै प्रदेश नम्बर ५ को कपिलबस्तु र प्रदेश नम्बर १ को मोरङको एउटा स्थानीय तहमा सिके राउतको पार्टीले उम्मेदवारी दर्ता गराएको हो ।

फागुन २४ को सहमतिले सिके राउतको यूटर्न

तराई–मधेसमा पृथकतावादी आन्दोलन गरेको आरोपमा पटक–पटक पक्राउ पर्दै र छुट्टै आएका सिके राउतले एकाएक केपी ओली नेतृत्वको सरकारसँग ११ बुँदे सम्झौता गर्दै मूलधारको राजनीतिमा आएको घोषणा गरेका थिए ।

०७५ फागुन २४ गते राउत सरकारसँग ११ बुँदे सहमति गरी खुला राजनीतिमा आएका हुन् । ११ बुँदे सहमतिमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतन्त्रता, स्वाधीनता र अखण्डतको रक्षा गर्ने उल्लेख गरिएको छ । त्यस्तै सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मुलधारको राजनीति गर्न अवरोध नगर्ने, गठबन्धनका नेता कार्यकर्ताको ज्ञान र र सीप राज्यका लागि लगाउने उल्लेख छ ।

सोही सहमतिपछि राउतको गतिविधि र व्यवहारमा परिवर्तन आएको थियो भने त्यसयता राउतको राष्ट्रिय अखण्डताविरोधी गतिविधि देखिने गरी भएको पाइँदैन । सरकारसँग सहमतिसँगै आफ्नो संगठनलाई पुनर्गठन गरेर जनमत पार्टी निर्माण गरेका राउतले अहिले निर्वाचन प्रक्रियामा सहभागिता जनाएका हुन् ।

फाुगन २४ गते मूलधारको राजनीतिमा आएको घोषणा गर्दै सिके राउतले लामो संघर्षलाई आफूहरुले सुरक्षितरुपमा अवतरण गरेको बताएका थिए ।

‘नेपालमा विगतमा रहेका जटिल समस्या थिए,  नेपाललाई स्थिरतामा लैजानका लागि हामीले यो कदम चालेका छौँ,’ उनले भनेका थिए, ‘आन्दोलन विस्फोट हुने डर थियो तर प्रधानमन्त्रीले गर्नुभएको पहलले हामी यो अवस्थामा आइपुगेका छौँ ।’

राउतले त्यतिबेला भगवान गौतम बुद्धको नाम लिँदै ‘हामी बुद्धका सन्तान, अहिंसा हाम्रो रग रगमा बसेको छ । अहिंसा हाम्रो शरीर भित्र नै अन्तरनिहीत भएर बसेको छ’, भन्दै आफू अहिंसाको पक्षधर रहेको सन्देश दिएका थिए ।

त्यही सहमतिलाई टेक्दै जनमत पार्टीले पहिलो पटक चुनावमा भाग लिएको हो ।

किन चुनावमा भाग लियो जनमत पार्टीले ?

मुलधारको राजनीतिमा आइसकेपछि राजनीतिक अधिकारलाई उपयोग गर्दै चुनावी गतिविधिमा भाग लिएको जनमत पार्टीको भनाइ छ ।

राउतले बुधबार बीबीसी नेपालीसँग भनेका थिए, ‘मुलधारको राजनीतिमा आइसकेपछि राजनीतिक अधिकारहरुलाई संस्थागत गर्नेक्रममा राजनीतिक पार्टीले चुनावमा भाग लिएर त्यो अनुसार योजना बनाउने गर्छ, त्यही अनुसार हामीले पनि यो चुनावमा भाग लिएका हौँ’ । पहिलो पटक आफूहरुले चुनावमा भाग लिएको र यसले जनतामा सकारात्मक सन्देश जाने जनमत पार्टीको दाबी छ । अब मुलधारमा आइसकेपछि विगतमा जस्तो विखण्डनकारी गतिविधिमा लाग्छ कि भन्ने डराउन पर्ने अवस्था नरहेको सन्देश पनि जनमत पार्टीले दिन खोजेको छ ।

यसैगरी जनमत पार्टीका केन्द्रीय सदस्य चन्दक सिंहले पनि विगतमा स्वतन्त्र मधेस गठबन्धन अर्धभूमिगत अवस्थामा रहेको भएपनि फागुन २४ को सहमतिपनि खुला राजनीतिमा आएकाले चुनावी प्रक्रियामा सहभागी हुनु स्वाभाविक भएको रातोपाटीलाई बताए ।

‘बुधबार प्रदेश नम्बर २ का विभिन्न स्थानीय तह, प्रदेश नम्बर १ को मोरङ र प्रदेश नम्बर ५ को कपिलबस्तुमा हाम्रो तर्फबाट मनोनयन दर्ता भएको छ’, ०७४ को तीनै तहको निर्वाचनको क्रममा हाम्रो पार्टी नै थिएन र अर्धभूमिगत रुपमा सक्रिय थियौँ’ उनले भने, ‘सरकारसँगको ११ बुँदे सहमतिबाट मुलधारमा आएसँगै अहिले चुनावी प्रक्रियामा सहभागी हुनु स्वाभाविक हो ।’

उनले चुनावी प्रक्रियामा सहभागी हुँदा जनताबाट सकारात्मक प्रतिक्रिया पाएको दाबी गर्दै उम्मेदवारी दिएको ३–४ वटा स्थानीय तहका पदमा जित हासिल गर्ने पनि दाबी गरे ।

उनले आफूहरुले हिंसात्मक र मारकाटको राजनीति नगर्ने भन्दै अन्य जनताको पक्षमा काम गर्न चाहेको बताए ।

तर मधेसमा राउतको उम्मेदवारीको विषयलाई लिएर पक्ष–विपक्षमा बहस चलिरहेको छ। केहीले राउतले विखण्डनको राजनीति त्यागेर मूलधारको राजनीतिमा आउनुलाई सकारात्मक भनेका छन् केहीले भने राउनले राज्यसँग आत्मसमर्पण गर्दै मधेसी समूदायलाई धोका दिएको टिप्पणी गरेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ का स्थानीय रामबृक्ष महतो राउतले मधेसी जनताको मुक्तिको लागि भन्दै आन्दोलन गरेपनि राज्यसँग सम्झौता गरेर धोका दिएको रातोपाटीलाई प्रतिक्रिया दिए ।

सोही वडाको अध्यक्ष पदमा सिके राउतको जनमत पार्टीका मो. अताउल राइन उम्मेदवार बनेका छन् ।

उनको उम्मेदवारीप्रति लक्षित गर्दै महतोले भने, ‘यहाँ सिके राउतको जमानत पनि जफत हुन्छ । पछिल्लो समय सर्वसाधारणमा राउतप्रति विश्वास कम हुँदै गएको छ । जुन एजेण्डा लिएर राउत अघि बढ्नु भएको थियो । उहाँले सबै छाड्नु भएको छ । सिके राउतले सरकारसँग गरेको सम्झौता मधेसको लागि घातक छ । जुन लोकप्रियता सर्वसाधाणमा सिकेप्रति थियो अहिले त्यो एकाएक घटेको छ ।’

उनले वडा नम्बर १२ मा राजपा, नेकपा र काँग्रेसबीच त्रिपक्षीय भिडन्त हुने समेत बताए ।

स्थानीय तहमा उम्मेदवारी दिएको सिके राउतको पार्टीले प्रदेश तथा प्रतिनिधिसभा उपनिर्वाचनमा भने उम्मेदवारी दिएको छैन । यस्तै पहाडी क्षेत्रका स्थानीय तहमा पनि उम्मेदवारी दिएको छैन । पार्टीको जनाधार मधेसमा रहेको र पहाडी क्षेत्रमा संगठन कमजोर रहेकाले मधेसमा मात्रै केन्द्रीत भएको केन्द्रीय सदस्य सिंहले बताए ।

सिके राउतको पार्टीले उम्मेदवारी दिएको मध्ये महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा पनि एक हो । जुन गाउँपालिकामा आफ्नो पक्षमा चुनाव पार्न प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएको सो पार्टीले जनाएको छ ।

अघिल्लो चुनावमा भोटको प्रचार प्रसार गरेको सो पार्टीले अहिले यूटर्न हुँदै आफ्नै उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसार गरिरहेको हो । जनमत पार्टीको चुनाव चिन्ह ‘लाउडस्पिकर’ रहेको छ ।

सिके राउतको पार्टीको उम्मेदवार कहाँ–कहाँ ?

–महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी । जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलको उम्मेदवारी ।

–महोत्तरीको बलवा नगरपालिकाको वडा नं २ मा जनमत पार्टीबाट वीरेन्द्रकुमार साहको उम्मेदवारी । 

–सोही नगरपालिकाको वडा नं ८ मा हुने अध्यक्ष पदको उपनिर्वाचनका लागि जनमत पार्टीबाट फूलकुमारी देवीको उम्मेदवारी ।

–कपिलबस्तुको शिवराज नगरपालिका–१० को अध्यक्ष पदका लागि जनमत  पार्टीबाट महोम्मद हानिफ गद्दीको उम्मेदवारी ।

–सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ७ को वडाध्यक्ष पदमा  जनमत पार्टीबाट दिनेशकुमार यादवको उम्मेदवारी ।

–सर्लाहीको  हरिपूर्वा नगरपालिका–१ मा जनमत पार्टीबाट दिनेश राय यादवको अध्यक्ष पदमा उम्मेदवारी ।

–मोरङको धनपालथान गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदका लागि जनमत पार्टीका चनरादेवी मण्डलको उम्मेदवारी ।

–सिरहाको कल्याणपुर नगरपालिका १२ जनमत पार्टीका मो. अताउल राइनको उम्मेदवारी ।

– बाराको बारागढी गाउँपालिका १ मा जनमत पार्टीका शंकरप्रसाद चौधरीको उम्मेदवारी

निर्वाचन आयोगका अनुसार बुधबारको मनोनयन दर्ता कार्यतालिका अनुसार स्थानीय तहका ४८ पदका लागि २८१ जनाको उम्मेदवारी परेको छ । उपमहानगरपालिका प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप