बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा समाप्त हुने बाबुरामको दावी, कम्युनिस्ट आन्दोलन ‘कुहिरोको काग’

बिहीबार, २८ कात्तिक २०७६, १६ : २१
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलनलाई ‘कुहिरोको काग’को संज्ञा दिएका छन् । 

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिस्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको उन को भनाइ छ ।

उनले बिहीबार आफ्नो पार्टीको संघीय परिषद बैठकमा कार्यपत्र प्रस्तुत गर्दै भनेका छन्, ‘एकातिर उनीहरुले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभास छ ।’ 

यही वैचारिक संकटबीच उनीहरुले आफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिष्ट नभएर केवल राजनीतिक रुपमा मात्र कम्युनिष्ट’ भएको बुुझिदिन आग्रह गर्दै आएको डा. भट्टराईको भनाइ छ ।

एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय विनय गर्ने र अर्कोतिर ‘कम्युनिस्ट–कम्युनिस्ट’ को नाममा सामीप्यता र आडभरोसा खोज्न पनि नछाडेको उनको आरोप छ । नेपालको कम्युनिस्ट आन्दोलन वैचारिक रुपले अँध्यारो सुरुङभित्रको यात्रा गरिरहेको टिप्पणी गर्दै उनले आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख रहेको बताए ।

‘पार्टीका ठूल्ठूला नेताहरु भ्रष्टाचार तथा नैतिकपतनका घटनामा लज्जास्पद ढंगले उदाङ्गिदैछन् । आर्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको छ,’ कार्यपत्रमा उनले भनेका छन्, ‘शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिस्ट नेतृत्वको सरकारमा पनि रोकिएको छैन ।’

एनसेलको पुँजीगत लाभकर, बुढीगण्डकीको गेजुवा तथा वाइडवडी कमिसन प्रकरण र सम्पत्ति शुद्धीकरण आयोगलाई निस्क्रिय बनाउने तथा ठूला आयोजनाहरु विना टेन्डर सिधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका नरहेको उनको भनाइ छ ।

वर्तमान संविधान जारी गर्दाका बखत कांग्रेससँग मिलेर मधेसी, जनजाति÷आदिवासी, थारु, मुस्लिम, खस, शिल्पी/दलित, महिला आदि आन्दोलनलाई निर्मम दमन गर्ने, सप्तरीको मलेठजस्ता घटना गराउन उद्यत हुने, टिकापुर थारु विद्रोहको निर्ममतापूर्वक दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, १०+१ को मोडेलमा प्रदेश सीमाङ्कन हुन नदिने कार्यमा नेकपाको प्रत्यक्ष हात रहेको उनले टिप्पणी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप