शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

बिहीबार, २८ कात्तिक २०७६, १८ : १२
बिहीबार, २८ कात्तिक २०७६

पोखरा– बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ । नेपालको राजकीय भ्रमणमा आउनुभएका राष्ट्रपति हमिद पोखरा र आसपासको दृश्यावलोकनका लागि आज यहाँ आएका हुन् । रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङ, जनप्रतिनिधि तथा सरकारी कर्मचारीलगायतले स्वागत गरेका छन् ।

उनको स्वागतार्थ रुपा गाउँपालिकाको मुख्य प्रवेशद्वार खोलाको छेउ र रुपाकोट रिसोर्टको मुख्य प्रवेशद्वारमा आकर्षक स्वागतद्वार राखिएको थियो । राष्ट्रपति हमिद हेलिकोप्टरबाट सवार भए पनि स्थानीयवासीले उहाँ आउने सूचना पाएसँगै पोखराको विजयपुरदेखि नै बिहानैदेखि पानीले भरिएका घडा राखेर स्वागत गरेका थिए ।

राष्ट्रपति हमिदलाई स्वागतार्थ मुस्लिम समुदायको झाँकी, दलित समुदायको पञ्चेबाजा तथा नेवार समुदायबाट लाखे नाचका साथै गुरुङ समुदायको घाटु र मारुनी नृत्य देखाइएको थियो । राष्ट्रपति हमिद आउने कुरासँगै उत्साहित यहाँका स्थानीयवासी उनलाई स्वागत गर्न पाउँदा निकै खुशी देखिन्थे ।

पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एक साथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ«े, अन्नपूर्णलगायतका हिम शृङ्खलाले राष्ट्रपति हमिदलाई लोभ्याएको सहजै अनुमान गर्न सकिन्थ्यो ।

उनले हिमाल, तालसहितका दृश्य निकै उत्सुकताका साथ अवलोकन गरेका थिए । आज बिहानैदेखि मौसमको प्रतिकूलताका कारण नखुलेको हिमाल हमिद आउनुपूर्व केही समय अघि मात्रै खुलेको थियो । रुपाकोटमा रहँदा हमिदले ताल र हिमालका सम्बन्धमा अभिरुचिका साथ चासो व्यक्त गर्नुभयो भने उच्च पहाडी भूभागमा सडक र खानेपानी पु¥याइएको सम्बन्धमा पनि जिज्ञासा राखेका थिए । 

राष्ट्रपति हमिदलाई गाउँपालिका प्रमुखले नेपालमा परम्परागतरुपमा उत्पादन गरिँदै आइएको काठको ठेकी उपहार दिए । झण्डै डेढ घण्टा समय रुपाकोटमा विताएर चियापान गरी राष्ट्रपति हमिद आजै काठमाडौँ फर्किए । उनलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री चुमान, गाउँपालिका प्रमुख नवराज ओझालगायतले बिदाइ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप