शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको सम्पादकीय : ‘ठेकेदारको शासन’ देखि ‘पवित्र वस्तुको किनबेच’सम्म

शुक्रबार, २९ कात्तिक २०७६, ०७ : ४३
शुक्रबार, २९ कात्तिक २०७६

आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले पूर्वाधार निर्माणमा ठेकेदारले गरेको ढिलाइका कारण जनतामा देखिएको आक्रोश र बंगलादेशका राष्ट्रपति भ्रमणको विषयमा रहेर आज सम्पादीय लेखेका छन् । त्यस्तै एम्बुलेन्स जस्तो पवित्र सेवालाई बद्नाम गरिएको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराइएको छ ।

परोपकारको कारोबार हुने बद्नाम क्षेत्र एम्बुलेन्स सेवा भएको उल्लेख गर्दै आज नयाँ पत्रिकाले ‘पवित्र वस्तुको किनबेच’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –नाफामुखी बजार व्यवस्थाले परोपकार र सेवाको कामलाई तुच्छ वैयक्तिक लाभमा रुपान्तरण गरिदिएको छ । चितवनमा हालै भएको एम्बुलेन्ससञ्चालकको भोजभत्तेरले यस्तै संकेत गरेको छ ।

देशको पूर्वाधार निर्माणमा चलिरहेको ठेकेदारको अनियमितताका विषयमा कान्तिपुर दैनिकले सम्पादकीय देखेको छ । ‘ठेकेदारको शासन’ शीर्षकमा लेखिएको सम्पादकीयमा ठेकेदारको राजले जनता कति आजित भएका छन् भन्ने विषय पछिल्ला समयमा देखिँदै गएको उल्लेख गरेको छ । ठेकेदारसँग नीति निर्माता र राजनीतिज्ञको स्वार्थप्रेरित सम्बन्धको अन्त्य हुनुपर्ने सम्पादकीयमा जोड दिइएको छ ।

त्यसैगरी नागरिक दैनिकले पनि सार्वजनिक निर्माणको ठेक्का लिएर समयमै पूरा नगर्नेप्रति राज्य संयन्त्रले कारबाही नगरेपछि जनतामा आक्रोश देखिन थालेको विषयलाई सम्पादकीय बनाएको छ । ‘ठेकेदारको ठेगाना’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –१६ किलोमिटर सडकको निर्माण पूरा गर्न ६ वर्ष बित्दा पनि काम हुन नसक्नु आफैंमा लज्जास्पद हो । आफूले जिम्मा लिएको सडको निर्माण कार्य पूरा नगर्दा पनि  नयाँ नयाँ ठेक्का पाइरहने क्षमता देखेर आश्चर्य मान्नुपर्ने हुन्छ ।

यता गोरखापत्र दैनिकले भने बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिवसीय भ्रमणको प्रशंगलाई अगाडि सार्दै ‘नेपाल–बंगलादेश सम्बन्ध’ शीर्षकमा आजको सम्पादकीय लेखेको छ । सम्पादकीयमा दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्दै व्यापार एवं अन्तर्राष्ट्रिय मञ्चमा दरिलो उपस्थिती देखाउनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै आजको अन्नपूर्ण पोस्ट्ले पनि राष्ट्रपति हमिदको नेपाल भ्रमणको विषयमा सम्पादकीय बनाएको छ । यस भ्रमणले नेपाल र बंगलादेशबीच रहीआएको सम्बन्धलाई अझै विविध आयामा विकास गर्नुपर्नेमा जोड दिँदै ‘हमिद भ्रमणको सन्देश’ शीर्षकमा लेखिएको सम्पादकीयमा दवै देश रहेका बहुपक्षीय मञ्चलाई सक्रिय बनाउने र व्यापार विस्तारमा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।

यता कारोबार दैनिकले पनि बंगलादेशको राष्ट्रतिको भ्रमणकै अवसर पारेर ‘बंगलादेशमा निकासी बढाऔं’ शीर्षकमा आज सम्पादकीय लेखेको छ । नेपालले बजारीकरणका लागि वस्तु र मुलुक सावधानीपूर्वक छान्नुपर्नेमा जोड दिँदै सम्पादकीयमा भारतीय भूमि प्रयोग गरेर बंगलादेशसँग व्यापार गर्नुपर्ने भएकाले उसलाई विश्वासमा लिएर अगाडि व्यापार विस्तार गर्न सुझाइएको छ ।

न्याय प्रशासनलाई छिटो–छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने राज्यले लिएको न्याय र दण्डसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गर्दै नेपाल समाचारपत्रले सम्पादकीय लेखेको छ । सम्पादकीयमा सर्वोच्च अदालतले न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाका लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिइएको छ ।

आर्थिक अभियानले त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको ‘रिमोट पार्किङ वे’ को विषयलाई सम्पादकीय बनाएको छ । ‘...विमानस्थलको सुधार’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकहरुका लागि नेपाल अनुभूत गर्ने पहिलो ठाउँ हो । यहीबाट नेपाल र नेपालीप्रति पर्यटकले आआफ्नो धारणा बनाउँछन् । त्यसो हुँदा यहाँबाट प्रदान गरिने सेवा व्यवस्थित र मर्यादित खालको हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप