बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गुनासो बोकेर काँग्रेस निर्वाचन आयोगमा

उपनिर्वाचनका लागि प्रचार सामग्रीसहित केन्द्रीय प्रतिनिधि परिचालित
शुक्रबार, २९ कात्तिक २०७६, १३ : ०५
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौं – नेपाली काँग्रेसद्वारा केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित ‘उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ले शुक्रबार दिउँसो तीन बजे निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको छ ।

निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना गराउन आयोगकै भूमिका प्रभावकारी नदेखिएको भन्दै काँग्रेसले आयोग नेतृत्वको ध्यानाकर्षण गराउन लागेको हो । यस अतिरिक्त विभिन्न जिल्लामा सरकार पक्षबाट उपनिर्वाचनको सुरक्षा व्यवस्थापन र स्वतन्त्र मतदानलाई प्रभावित गराउने काम भएको पाइएपछि आयोगको ध्यानाकर्षण गराउन लागिएको काँग्रेसको भनाइ छ ।

काँग्रेसको उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिका संयोजक रमेश लेखकले सत्ताको आडमा उपनिर्वाचनलाई प्रभावित पार्ने काम भइरहेको आरोप लगाए । शुक्रबार बिहान भक्तपुर–१ (क) मा स्थलगत अनुगमन गरेका लेखकले रातोपाटीसँग भने, ‘उपनिर्वाचन हुने केही स्थानमा गएर हामीले अनुगमन ग¥यौँ । सरकार पक्षबाट उपनिर्वाचनको सुरक्षा व्यवस्थापन र स्वतन्त्र मतदानलाई प्रभावित गराउने काम भएको पाइयो । यो विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउनका लागि आज दिउँसो ३ बजे निर्वाचन आयोग जाँदैछौँ ।’

सत्ता पक्षका सांसद र स्थानीय जनप्रतिनिधिले निर्वाचन आचासंहितालाई लत्याउँदै विभिन्न आश्वासन दिने गरेको भेटिएको उनको भनाइ छ । उनका अनुसार उपनिर्वाचनकै बीचमा संसदीय विकास कोष अन्तर्गत योजना छनोटको कार्यक्रम सुरु गर्न लागिएको विषयमा पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराइनेछ ।

काँग्रेसले उपनिर्वाचन हुने विभिन्न जिल्लामा पनि ‘उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको छ । सम्बन्धित क्षेत्रको गतिविधि जिल्ला समितिले पठाउने र पठाइरहेको लेखकले बताए ।

यसअघि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिले निर्वाचन आयोगको नेतृत्वलाई नै भेटेर आचारसंहिता पालनामा आयोग गम्भीर नभएको विषयमा ध्यानाकर्षण गराउने बताएका थिए । गत मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश प्रमुख नियुक्तिका सम्बन्धमा आयोगले व्यक्त गरेको धारणा ‘एकांगी’ भएको टिप्पणी गरेका थिए ।

‘निर्वाचन आचारसंहिताको परिच्छेद—४ को ९ मा नयाँ पद सृजना गर्न या रिक्त पद पूर्ति गर्नसमेत नपाइने प्रष्ट ब्यवस्था उल्लेख छ,’ पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘कर्मचारीका हकमा मात्रै भन्ने तर्क दिएर उन्मुक्ति खोज्नु नैतिक दृष्टिले सतप्रतिशत गलत हुन्छ ।’

आयोगले प्रदेश प्रमुख नियुक्तिबाट निर्वाचन आचारसंहिता उल्लंघन नभएको जिकिर गरेको थियो ।

विभिन्न स्थानमा केन्द्रीय प्रतिनिधिसहित पठायो सामग्री

काँग्रेसले उपनिर्वाचनमा पार्टीका पक्षमा चुनावी माहोल तयार पार्न केन्द्रीय नेताहरुलाई समेत सम्बन्धित चुनावी क्षेत्रमा परिचालन गरेको छ ।

जिल्लाकै माग अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा केन्द्रबाट नेताहरु खटाइएको प्रवक्ता शर्माले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभाका लागि उपनिर्वाचन हुने कास्की क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाललाई पठाइएको छ ।

यता, प्रदेशसभातर्फ भक्तपुरमा केन्द्रीय सदस्य मोहन बस्नेत, दाङमा केन्द्रीय सदस्य देवेन्द्र कँडेल र बागलुङमा केन्द्रीय सदस्य शंकर भण्डारीलाई पठाइएको छ ।

स्थानीय तहअन्तर्गत केन्द्रीय प्रतिनिधिका रुपमा धरान उपमहानगरपालिकामा केन्द्रीय महेश आचार्य, महोत्तरीको पिपरा गाउँपालिकामा केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, पाँचथरको फाल्गुनन्द गाउँपालिकामा केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे र हुम्लाको खार्पुनाथ गाउँपालिकामा केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई खइटाएको छ ।

यता, वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा जिल्लास्तरीय नेताहरुले चुनावी नेतृत्व गर्नेछन् । यस्तै उपनिर्वाचन हुने सबै तहका लागि केन्द्रबाट चुनावी सामग्री पठाइएको शर्माले जानकारी दिए ।

उनका अनुसार पार्टीको चारतारे झण्डा, चुनाव चिह्न अंकित झण्डा, पर्चा, पम्लेट, पोस्टरलगायतका प्रचार सामग्री केन्द्रले व्यवस्थापन गरेको हो । काँग्रेसले उपनिर्वाचन हुने ३७ वटै जिल्लामा प्रचार सामग्री पठाइसकेको छ । वडामा २ हजार, गाउँपालिका ४ चार, प्रदेशमा ७ हजार र प्रतिनिधिसभामा १० हजारका दरले चुनावी सामग्री पठाएको उनले जानकारी दिए ।

सम्बन्धित निर्वाचन क्षेत्रको आवश्कतालाई मध्यनजर गरेर अन्तिम साताको चुनावी अभियानमा पार्टीका प्रमुख नेताहरु पनि मैदानमा निस्किने शर्माले जानकारी दिए ।

३७ जिल्लामा विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह प्रमुखसहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षका ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको छ ।

जसमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २८ सिट दाउमा छन् भने काँग्रेसका १४ सिट दाउमा छन् । जनमोर्चाको एक सिट दाउमा छ । बाँकीमा अन्य दल र स्वतन्त्रका सिट दाउमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप