बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कलङ्की चोकमा २२ लाखमा ‘बार्गेनिङ’ हुँदै थियो करोड बढी मूल्यको गाडी

शुक्रबार, २९ कात्तिक २०७६, १४ : १८
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौँ । बिहीबार राती प्रहरीले चोरीको गाडीसहित दुईजनालाई पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट चारवटा चोरीको गाडीसहित दुई जनालाई महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले पक्राउ गरेको हो । 

भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको कालिमाटी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरले बताए ।

 उनीहरुको साथबाट बा २१ च ८७१४ नम्बरको एस–७ स्कार्पियो, बा १८ च ३१३८ नम्बरको एस–४ स्कार्पियो, DL2CAZ ७७९९ नम्बरको क्रेटा कार तथा बा ११ च ९७९४ नम्बरको टोयटाको फर्चुनर निजी कार बरामद गरिएको छ । 

उनीहरुले काठमाडौँ नयाँबजारस्थित आदित्य ट्रान्सपोर्ट सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको छ । उक्त ट्रान्सपोर्टले चोरीको गाडी प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा कालिमाटीबाट खटिएको टोलीले गएराति गाडीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

२२ लाखमा बेच्दै थिए फर्चुनर गाडी

पक्राउ परेका पुडासैनी र बुढाले टोयटाको फर्चुनर गाडी २२ लाखमा बेच्न लागेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । टोयटाको फर्चुनर गाडीको नेपाली मूल्य १ करोड ६३ लाख रहेको छ ।  मध्यराती कलङ्की चोकमा उनीहरुले भारतबाट चोरी गरेर ल्याइएको गाडीहरु बेच्न लागेको डीएसपी कुँवरको भनाइ छ ।

डीएसपी कुँवरले भने, ‘चोरीको गाडी सस्तोमा बेच्न लागेको सूचना पाएलगत्तै खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।’  यस्तै उनीहरुले बा२१च ८७१४ नम्बरको एस–७ स्कार्पियो गाडी १५ लाख, बा १८च ३१३८ नम्बरको एस–४ स्कार्पियो गाडी ११ लाख र क्रेटा कार १३ लाख ५० हजारमा बेच्न लागेका थिए ।  बा २१ च ८७१४ नम्बरको एस–७ स्कार्पियो गाडीको नेपाली बजार मूल्य ६५ लाख, क्रेटा कारको ५९ लाख र बा१८च ३१३८ नम्बरको एस–४ स्कार्पियो ५० लाख पर्छ । 

यसअघि पनि राजस्व अनुसन्धान विभागले कात्तिक ६ गते बालाजु र कोटेश्वरबाट चोरीको २ वटा चोरीको गाडीसहित तीन जनालाई पक्राउ गरेको थियो ।  सेतो रङ्गको भारतीय नम्बर प्लेटको गाडीमा उनीहरुले परिवर्तन गरेर रातो नेपाली नम्बर प्लेट समेत राख्न भ्याएका थिए । विभागले बरामद गरेको गाडी पनि २०१९ को टोयोटा फर्चुनर थियो ।

बरामद दुवै गाडी २१ ‘लट’ को थियो । बा२१च ४७१६ र बा २१ च ५५६२ नम्बरको गाडी विभागले बरामद हो । उनीहरुले पनि हतार–हतारमा सेटिङमा कागजपत्रहरु मिलाएर २ वटै गाडी ९० लाखमा बेच्न लागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप