बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरवासीलाई मकवानपुरको दैनिक १३ करोड लिटर पानी ! मन्त्री बिना मगरले गरिन् आयोजनास्थलको अवलोकन (फोटो/भिडियो)

शुक्रबार, २९ कात्तिक २०७६, १८ : ३२
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले मकवानपुर जिल्लाका दुई खोलाको स्थलगत अवलोकन गरेकी छिन् । शुक्रबार मकवानपुरको सिस्नेरीस्थित कोगते र सिस्नेरी खोलाका साथै बाँध निर्माण स्थलको अवलोकन उनले गरेकी हुन् । 

मकवानपुरको कुलेखानी खोला, सिस्नेरी र कोगते खोलाको गरी दैनिक १३ करोड पानी काठमाडौं ल्याउने उदेश्यले मन्त्री मगर, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारीले सम्भावित आयोजनाको  स्थलगत अवलोकन गरेका छन्  । 

मन्त्री मगरले यो वर्षको अन्त्यसम्म मेलम्चीको पानी काठमाडौं आइसक्ने र ललितपुर क्षेत्रलाई केन्द्रीत गरेर सो आयोजना अघि बढाउन लागेको जानकारी दिइन् । काठमाडौंमा हुने पानी संकटका बेला वैकल्पिक आयोजनाका रुपमा यसलाई बढाउन लागेको उनको भनाई छ ।

मन्त्री मगरले भनिन्– ‘मेलम्चीको पानी सन् २०३० सम्म काठमाडौंवासीलाई पर्याप्त पुग्छ तर त्यसपछिको जनसंख्यालाई पर्याप्त पानी दिनका लागि काठमाडौंको तिर्खा मेट्ने यो बैकल्पिक आयोजनाको रुपमा रहेको छ । यो आयोजनालाई अघि बढाउन अब डिपिआरको कामलाई अगाडी बढाउने योजनामा छौँ ।’ अध्ययनका क्रममा सिस्नेरी खोलाको पानीको गुणस्तर उपयुक्त रहेको उनको भनाई छ । 

सो आयोजनास्थलबाट काठमाडौंसम्मको दुरी १९ किलोमिटर रहेको छ । सिस्नेरीको पानी मेलम्ची जस्तो सुरुङमार्गबाट नभई पाइपलाइनबाट पम्प गरेर ल्याउन सकिने पूर्व सम्भाव्यता अध्ययनले देखाएको छ । यो आयोजनालाई अघि बढाउन अब डिपिआरको कामलाई अघि बढाउने मन्त्री मगरले जानकारी दिइन् । 

यो आयोजना अन्तर्गत सिस्नेरीमा रहेको बाँध निर्माण गरी कोगते खोला र कुलेखानी खोलाको पानीको जलासय बनाउने र पम्प प्रयोग गरी ललितपुर महानगरपालिकामा वितरण गर्ने प्रारम्भिक अध्ययन भएको छ । मकवानपुरको सिस्नेरीबाट पम्प गरी केयूकेएलको भंैसेपाटीमा रहेको जलासयमा ल्याएर ललितपुरका विभिन्न क्षेत्रमा पानी वितरण गर्न खोजिएको छ । 

प्रस्तावित सो आयोजनाको उदेश्य बागमती नदी नजिकको कुलेखानी खोला, सिस्नेरीमा बाँध निर्माण गरी वर्षातको पानी संकलन गरी ललितपुर नगर क्षेत्रभित्र पानी आपूर्ति गर्ने रहेको छ । 

यस्तो छ सिस्नेरी आयोजनाको विशेषता 
प्रारम्भिक अध्ययनअनुसार सो आयोजना अन्तर्गत कुलेखानी खोला र बागमती नदीको दोभानभन्दा १ सय मिटरमाथि बाँध निर्माण गर्न प्रस्ताव गरिएको छ । समुन्द्र सतहबाट ११ सय ४५ मिटर उचाईमा रहेको सो स्थानमा प्रस्तावित बाँधको लम्बाई १ सय ९० मिटर र उचाई ७५ मिटर रहने छ । सिस्नेरी बाँधदेखि सैंबु पानी प्रशोधन केन्द्रसम्मको लम्बाई १९ किलोमिटर रहेको छ । निर्माणाधीन काठमाडौं निजगढ दु्रतमार्ग हुँदै सिस्नेरीदेखि सैंबुसम्म पाइपलाइन निर्माण गर्न मिल्ने काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सञ्जिव विक्रम राणाले जानकारी दिए । 

सो आयोजना सम्पन्न गर्नका लागि २६ अरब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । कोगटे खोला र सिस्नेरी खोला मिसिएको ठाउँमा ड्याम बनाई जलासय बनाइनेछ । जलायसबाट फास्ट ट्रयाकको बाटोमुनी हुँदै भैसेपाटीसम्म ल्याउन सकिने सम्भावना भएकोले यो आयोजनालाई पनि प्राथमिकता दिएर अघि बढ्नु आवश्यक रहेको खानेपानी बोर्डका कार्यकारी निर्देशक डा. सञ्जिवविक्रम राणाले बताए ।

मेलम्ची आयोजना सँगै यी खोलाको पानी काठमाडौं लैजानेबारे २०५० साल आसपासतिरै सम्भाव्यता अध्ययन भएपनि त्यतिबेला बाटोको व्यवस्था नभएकोले यो योजनाले मूर्त रुप लिन सकेको थिएन । अब काठमाडौं तराई जोड्ने दु्रतमार्गको छेउमा पानीको ड्याम हुने भएकोले सडकमार्ग हुँदै पानी लान सकिने भएकोले यो आयोजनालाई अघि बढाउन सहज हुने राणाले बताए । 

खानेपानी मन्त्री बिना मगरले सिस्नेरी, कोगटे खोला र बाँध बाध्ने ठाउँको स्थलगत अवलोकनका क्रममा काठमाडौंमा दीर्घकालीन रुपमा पानीको व्यवस्थापनका लागि अहिलेदेखि नै लागि परेको जानकारी दिइन् । 

मेलम्ची यो वर्षभित्र सम्पन्न गर्ने 
खानेपानी मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काम यो आर्थिक वर्षमा सम्पन्न गर्ने बताएकी छिन् । मेलम्ची आयोजना सँगै उपआयोजनाको रुपमा रहेका याङग्री र लार्के नदीको पानी काठमाडौं ल्याउन आयोजना अघि बढाउने तयारीमा रहेको जानकारी दिइन् । मेलम्ची र अन्य दुई नदीबाट काठमाडौंमा दैनिक ५१ करोड पानी आउने अपेक्षा गरिएको छ । मेलम्चीका यी नदीको पानी सन् २०३० सम्मको जनसंख्यालाई मध्यनजर गरेर बनाइएकोले त्यसको वैकल्पिक आयोजनाको रुपमा मकवानपुरको पानी उपत्यका लैजाने योजना अघि सार्न लागिएको उनले बताइन् । 

उनले भनिन्– ‘अहिले बढ्दै गरेको काठमाडौंको जनसंख्या र आवश्यकतालाई परिपूर्ति गर्ने गरी यो सिस्नेरी खोलाको हामीले संभाव्यता हेरिरहेका छौँ । त्यसपछि हामीले ठोस्ने र कुलेखानी खोलाको पनि संभाब्यता हेरिरहेका छौँ र भक्तपुरको महादेव खोलाको पनि सम्भाव्यता हेरिरहेका छौँ । हामीले यी खोलालाई के गर्न चाहन्छौँ भने मेलम्चीले पानी नपुगेको अवस्थामा दीर्घकालीन रुपमा विकास गर्न खोजिरहेका छौँ ।’

मेलम्ची खानेपानी आयोजनाको टर्मिनलमा कुनै कारणबस समस्या आएको बेलामा वा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा काठमाडौं उपत्यकामा पानीको कुनै संकट नपरोस् भनेर काठमाडौं उपत्यका आसपासका खोलाहरुलाई बैकल्पिक पानीको स्रोतको रुपमा प्रयोग गर्न लागेको जानकारी दिइन् । भक्तपुरको महादेव खोलाको पानी संकलन गरेर कृतिम तलाउन बनाउने र त्यसबाट भक्तपुरवासीलाई दैनिक २ करोड लिटर पानी वितरण गर्न सकिने उनको भनाई छ । 

मन्त्री मगरले यी आयोजना अघि बढाउनका लागि लगानीकर्तासँग पनि कुरा गरिरहेको बताउँदै साना–साना आयोजनाको काम सरकार आफैले गर्न सक्ने उल्लेख गरेकी छिन् ।  उनले मेलम्ची खानेपानी आयोजनाको काम रफ्तारमा अघि बढेको बताउँदै फिनिसिङको काम, पानीको गेट निर्माण लगायतका काम भइरहेको बताइन् ।  

हेर्नुहोस भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप