बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्लङमा चुनावी रौनक : प्रचण्ड र देउवा पनि जाने

शुक्रबार, २९ कात्तिक २०७६, २१ : ११
शुक्रबार, २९ कात्तिक २०७६

 बागलुङ ।  बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचन नजिकिएसँगै दल प्रचारमा जुटेका छन् । घरदैलो र चुनावी सभामा केन्द्रित दल मतदाता फकाउन व्यस्त छन् । उपनिर्वाचनको माहोल झन्झन् तात्दैछ । 

सीमित ठाउँमा उपनिर्वाचन हुन लागेकाले जिल्लादेखि केन्द्रसम्मका नेताको दौडधुप शुरु भएको छ । सत्तारुढ नेकपा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनले दुई हजार एक सदस्यीय प्रचार समिति बनाएको छ । गठबन्धनका तर्फबाट राजमोका खिम विक्रम शाही चुनावी मैदानमा छन् ।

निर्वाचन परिचालन समितिका अध्यक्ष अमर थापाले वडा तहसम्म समिति बनाएर प्रचारको काम अघि बढाइएको बताए ।

गठबन्धनले निर्वाचन क्षेत्रभित्र पर्ने तीन स्थानीय तह र २२ वडामासमेत निर्वाचलन परिचालन समिति बनाएको छ । “मुख्य क्षेत्रमा सभा र अन्यत्र घरदैलो अभियान चलिरहेको छ”, राजमोका जिल्ला अध्यक्षसमेत रहेका थापाले भने । 

नेपाली काङ्ग्रेसले पनि चुनाव प्रचारलाई तीव्र पारेको छ । काङ्ग्रेसको निर्वाचन परिचालन समितिका अध्यक्ष नरजङ्ग घर्तीले घरदैलो अभियानमा बढी जोड दिइएको उल्लेख गरे ।

काङ्ग्रेस पनि वडा र टोलसम्मै निर्वाचन परिचालन समिति बनाएर प्रचार अभियानमा जुटेको छ । 

बिहीबार अधिकारीचौर, बोबाङ र बोङ्गादोभावनमा कोणसभा गरिएको उहाँको भनाइ छ । “उम्मेदवारसहितको घरदैलो कार्यक्रममा हामी बढी केन्द्रित छौँ”, उनले भने, “जनताका माग र गुनासा सुन्दैछौँ ।” काङ्ग्रेसबाट जीतबहादुर शेरचन उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।

मुख्य प्रतिस्पर्धी मानिएका वाम गठबन्धन र नेपाली काङ्ग्रेसपछि तेस्रो शक्तिका रुपमा देखिएको समाजवार्दी पार्टी पनि चुनावी दौडमा छ । 

मतदाताले उपनिर्वाचनमा वैकल्पिक शक्तिका रुपमा आफ्नो पार्टीलाई छान्ने जिकिर गरिरहेका समाजवादीका नेताहरु पनि उम्मेदवारसहित घरदैलोमा व्यस्त छन् ।

समाजवादीले प्रदेश सह–इञ्चार्ज यामबहादुर घर्तीमगरको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन निर्देशन समिति बनाएको छ ।

जिल्ला अध्यक्ष चित्र सापकोटाको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति छ । 

“अहिले घरदैलो चलिरहेको छ, मङ्सिर २ पछि अझ व्यवस्थित रुपमा चुनावी अभियान अघि बढ्छ”, उनले भने ।

घरदैलोका क्रममा मतदाताले उम्मेदवारसँग विकास निर्माणदेखि, सेवा, सुविधासम्बन्धी माग राख्ने गरेका छन् । विगतमा चुनावमा गरेका वाचा पूरा नगरेकामा दलप्रति मतदाताको गुनासो पनि उत्तिकै छ ।

 विभिन्न आश्वासन र प्रतिबद्धतासहित मतदाता फकाउन लागेका दलका चुनाव जित्ने आआफ्नै जिकिर छन् ।

मतदाताको अन्तिम फैसला आउन भने अझै १५ दिन बाँकी छ । मङ्सिर १४ मा हुने मतदानमा बागलुङ–२ (ख) मा पर्ने ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिकाका मतदाता सहभागी हुँदैछन् । तीनै स्थानीय तहमा गरी मतदाताको कूल सङ्ख्या ३५ हजार १८४ छ ।

ठूला सभामा केन्द्रीय नेता आउँदै

उपनिर्वाचनलाई लक्षित गरी दलले गर्ने ठूला चुनावी सभामा केन्द्रीयस्तरका नेता आउने भएका छन् । वाम गठबन्धनले मङ्सिर ६ गते बुर्तिबाङ बजारमा गर्ने सभालाई सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राजमोका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । 

नेपाली काङ्ग्रेसले पनि आफ्नो चुनावी सभालाई सम्बोधन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेतालाई ल्याउने तयारीमा लागेको छ । समाजवादी पार्टीलगायत अन्य साना दलले पनि माथिल्लो तहका नेताहरुलाई चुनावी अभियानमा सहभागी गराउँदैछन् । 

दश उम्मेदवार चुनावी मैदानमा

प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जिल्लाबाट दश उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेकपा र राजमोबाट साझा उम्मेदवारका रुपमा खिम विक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी रहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ती पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा छन् ।

स्वतन्त्र उम्मेदवार घर्तीले समय अभावका कारण उम्मेदवारी फिर्ता लिन नपाएपनि वाम गठन्धनका उम्मेदवार शाहीलाई सघाउने सार्वजनिक घोषणा गरेका छन् । उनीले अहिले गठबन्धनै चुनावी अभियानमा सक्रिय छन् । 

नेकपाका स्थानीय नेतासमेत रहनुभएका शेरचनले वाम गठबन्धनप्रति असन्तुष्ट रहँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । बागलुङ–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप