केन्द्रीय संस्करण

कविता : प्रायश्चित

person explore access_timeकात्तिक ३०, २०७६ chat_bubble_outline1

-साकार बाबु सुवेदी
मेरा बिहान अनि साँझहरु खिसि गर्छन्,
तँ तैँ माझ भुल्दैछस्, म बर्बाद हुंदै छु ।
घोप्टिएर चुक बनेका रात बात गर्छन्,
तँ गुमाउँदै छस्, म बेपरवाह चल्दै छु ।

मेरा जाँदा र आँउदाका बाटा भन्ने गर्छन्, 
तँ स्थिर भइस्, म तेरा लगि दौडदै छु ।
समयको सेरोफेरो, न तेरो हो न मेरो,
तँ कर्म बुझ्दैनस्, म मेरो धर्म नास्दै छु ।

मेरा हिउँद अनि बर्षाका बुट्यानहरु भन्छ्न्,
तैंले मौसम बद्लिइस्, म एकैनासले बढ्दै छु ।
अष्टवक्र झैँ बाटो तेरो हो, कुमालेको चक्र मेरो, 
तँ गन्तव्य भुल्दै छस्, म भवितव्य देख्दै छु ।

मेरा झुल्किने अनि अस्ताउने घामहरु भन्छन्,
तैँले हत्केला अघि बढाइस्, म परावर्तित हुँदै छु ।
ग्रीष्मको मध्यान्न तेरो हो, शिशिरको घाम मेरो,
तँ उदाउन छोड्दै छस्, म अस्ताउन डराउँदै छु ।

मेरा औंशी अनि पूर्णिमाका चन्द्रहरु भन्छन्,
तँ अनुहार छोप्दै छस्, म तेरो अकार लिँदै छु ।
आधुनिक मुखुण्डो तेरो हो, कालो कपोल मेरो,
तँ लाखे नाच्दै छस्, म विधाता बास गराउँदै छु ।

मेरा फक्रने अनि ओइलाउने फूलहरु भन्ने गर्छन्,
तँ वर्ग बिर्सिदै छस्, म हरेक मौसम स्वर्ग मै छु ।
उन्मादको सिंडी तेरो हो, सर्वहारा बीचको प्रेम मेरो,
तँ निदाउन छाड्दै छस्, म बिउँझिन डराउँदै छु ।

                      

कमेन्ट

  1. Nov. 16, 2019, 3:12 p.m. चन्द्रमणि गौतम
    गज्जब रोचक छ । काव्यमा अनौठोपन छ । त्यही अनौठोपन नै कविताको मौलिकता र रोचकता हो । मन पर्यो ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...