शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली भूमिमा भारतीय अतिक्रमणको विरोधमा सबै नेपाली एकजुट हुन नेता नेम्वाङको आग्रह

शनिबार, ३० कात्तिक २०७६, १२ : ५५
शनिबार, ३० कात्तिक २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गरेका छन् ।

इलामको माङसेबुङमा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहलसमेत अघि बढाएको बताए ।

“कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो”, उनले भने, “यस सम्बन्धमा सङ्घीय सरकारले कूटनीतिक पहल थालिसकेको छ, भारतीय कदमको विरोधमा समग्र नेपाल एकजुट छ ।”

मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै नेता नेम्वाङले समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए । तीनै तहका सरकारले जनताका पक्षमा महत्वपूर्ण काम गर्दै अघि बढिरहेकाले उनले त्यसका लागि जनताले प्रत्यक्ष चुनेका प्रतिनिधिले बनाएको नेपालको संविधानले सम्पूर्ण नेपालीको हक, अधिकारको ग्यारेण्टी गरेको र सरकार त्यसैको कार्यान्वयनमा लागिपरेको बताए ।
 
नेकपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद धीरेन्द्र शर्मा (रमण) ले नेकपा नेतृत्वको सरकार जनताको जीवनस्तरमा व्यापक परिवर्तन ल्याउँदै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा अघि बढेको बताए । 

नेकपा इलाम जिल्ला कमिटी अध्यक्ष एवं प्रदेशसभा सांसद रामबहादुर मगरले कम्युनिष्ट पार्टी मात्रै जनताको पार्टी र सुख, दुःखको साथी भएको बताए । 

यसैगरी जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले कृषि र पर्यटनलाई माध्यम बनाएर इलाम जिल्लाको समृद्धिको यात्रामा निरन्तर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । 

नेकपा माङ्सेबुङ गाउँ कमिटी अध्यक्ष हेमन्त राईको अध्यक्षता र नेम्वाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी, राप्रपा, जनमोर्चा, लिम्बुवान र जनमुक्ति पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप