शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप छनोट खेल्ने फुटबलर रातिराति क्लबमा : जिम्मेवार को ?

शनिबार, ३० कात्तिक २०७६, २१ : ५८
शनिबार, ३० कात्तिक २०७६

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका प्रतिभावान खेलाडी हुन्, विमल घर्तीमगर र अन्जन बिष्ट । यी दुई खेलाडीविना राष्ट्रिय टोलीको स्ट्राइकिङ लाइन कमजोर नै हुन्छ । तर, मैदानमा यी दुई खेलाडीको भूमिका र चर्चा जति छ मैदान बाहिर उनीहरुको व्यवहार उदेकलाग्दो छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रशिक्षकको  आँखा छलेर रातिराति डान्सबार र डिस्को जाने, अधिकतम मदिरा सेवन गर्ने र झगडा गर्ने कतिपय खेलाडीको बानी नै परेको छ ।  शुक्रबार राति विमल, अन्जन, सन्तोष तामाङ र दिनेश राजवंशी राजधानीको ठमेलस्थित क्लबमा गएर त्यस्तै हर्कत गरेको खुलासा भएको छ । 

भुटानको थिम्पुमा मंसिर ३ गते कुवेतसँग खेल्ने विश्वकप छनोटका लागि नेपाली टोली शनिबार दिउँसो भुटान जाने कार्यक्रम थियो । विदाइ अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक योहान कालिनको सल्लाहमा यी चारजना खेलाडीलाई टोलीबाट बर्खास्त गर्ने निर्णय गर्यो । त्यसपछि एकाएक यी खेलाडीको हर्कत बाहिर भाइरल भयो । डिस्को र नाइट क्लबमा गएर झगडा गरेका ती खेलाडीको अनुहारमा चोटपटक समेत लागेको छ ।

एन्फाले चारैजना खेलाडीलाई कारबाही स्वरुप तत्कालका लागि राष्ट्रिय टोलीबाट हटाएको छ । एन्फाका प्रवक्ता किरन राईले खेलाडीको गल्तीलाई आधार मानेर तत्काल कारबाही स्वरुप टोलीबाट हटाएको बताए । ‘टोलीमा अरु खेलाडी राख्ने जिम्मा प्रशिक्षक कालिनलाईनै दिएका छौँ ।

यस घटनामा एन्फाले अनुशासन समिति मार्फत छानविन गरी थप कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ,’ राईले भने । राईले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा देशबाहिर भएकाले स्वदेश फर्किएपछि कारबाहीको विषयले प्राथमिकता पाउने पनि बताए । यसअघि पनि विमल घर्तीमगर लगायत केही खेलाडीलाई यस्तै घटनामा एन्फाले सचेत गराएको थियो ।

विश्वकप छनोट जस्तो ठूलो प्रतियोगिता खेल्न जानुअघि टोलीका व्यवस्थापक र प्रशिक्षकले खेलाडीको निगरानी नराख्नु अर्को गम्भीर त्रुटि भएको एन्फाका एक पदाधिकारीले बताए । ‘विश्वकप खेल्न जाने खेलाडी सबैलाई एकै ठाउँमा राख्नु पर्ने थियो । एन्फामै दर्जनौं खेलाडी अट्ने होस्टल पनि छ । त्यसमाथि अन्यत्रै राखिएको भएपनि हुन्थ्यो । खेलाडीलाई आआफ्नै घरमा बस्न छुट दिएर व्यवस्थापक र प्रशिक्षकले गम्भीर गल्ती गरेका छन् । खेलाडी स्वयम्को गल्ती त छँदैछ,’ ती पदाधिकारीले भने ।

‘आफ्नो खेलाडी राति २ बजेसम्म ठमेलको डिक्कोमा जान्छ भने त्यो व्यवस्थापकले के हेरेर बस्छ ?’ ती पदाधिकारीले प्रश्न गरे । अहिले राष्ट्रिय टोलीको ब्यवस्थापकमा एन्फाका सदस्य मधुसुदन उपाध्याय छन् भने प्रशिक्षकमा योहान कालिन छन् ।

बर्षभर चल्ने विश्वकप छनोट अन्तर्गत आठ खेलका लागि व्यवस्थापक बन्न यसअघि एन्फा पदाधिकारीबीच ठूलो लडाईँ भएको थियो । जसमा मधुसुदनले बाजी मारेका थिए ।

 यस घटनामा व्यवस्थापकको पनि ठूलो गल्ती भएको एन्फा श्रोतले बताएको छ । राष्ट्रिय टोलीका खेलाडीको पछिल्लो समय नाजायज काममा खर्च गर्ने क्रमपनि ह्वात्तै बढेको छ । हालै विमल घर्तीमगरले आफ्नो बर्ड डे पार्टी एक नाइट क्लबमा गरेको र त्यहाँ ‘ब्ल्याक लेबल ह्वीस्की’ मात्र ४४ वटा फोडेको पनि एन्फा स्रोतले बतायो ।

यस्ता विषयमा व्यवस्थापक र प्रशिक्षकले नियन्त्रण नगर्दा राष्ट्रिय टोलीको प्रदर्शन दिन प्रतिदिन खस्किएको छ । एन्फा व्यवस्थापनको लापरवाहीका कारण यसअघि पनि नेपालका कप्तान सागर थापासहित पाँच फुटबल खेलाडी खेल मिलेमतोको कारबाहीमा परेका थिए ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप अन्तर्गत एसियाली राष्ट्रको छनोट खेलमा नेपाल समूह ‘बी’ रहेको छ । त्यसैका लागि नेपालले मंसिर ३ गते भुटानको थिम्पुमा कुवेतसँग दोस्रो खेल खेल्न लागेको हो । 
यसअघि कुवेतमै भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो । यसअघि दशरथ रंगशालामा खेलिने तय भएको उक्त खेल रंगशालाको मर्मत नसकिएका कारण न्युटल भेन्यु भुटानमा खेलिन लागिएको हो । कुवेतसँग खेल्न नेपाली फुटबल टोली शनिबार दिउँसो नै भुटान प्रस्थान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप