बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा प्रधानमन्त्री, जिम्मेवारी हस्तान्तरणको तयारी

रौतहटमा बस्न चाहन्थे आलम
आइतबार, ०१ मङ्सिर २०७६, ०७ : १२
आइतबार, ०१ मङ्सिर २०७६

आज मंसिर १ गते  देशका दैनिक पत्रिकाहरुले  प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक गरिएको मिर्गौलाको डायलाइसिसको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यस्तै, रौतहट बमकाण्ड र हत्याकाण्डका मुख्य आरोप मोहम्मद आफताब आलमको नख्खु जेलसम्मको यात्रालाई पनि प्राथमिकता दिएका छन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्ष

कान्तिपुर दैनिकका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा शनिबार हेमोडायलसिस गरिएको छ । क्रियाटिनिनको स्तर नियन्त्रित गर्न गरिएको हो । ६७ वर्षीय प्रधानमन्त्रीको मूत्र नली (युरेटर) अर्थात मुत्राशय र मृगौला बिचमा राखिएको स्टेन्ट समेत शनिबार नै निकालिएको छ । अस्पतालको युरोलोजी विभागका अध्यक्ष प्रा।डा।प्रेमराज ज्ञवालीको नेतृत्वमा करिव १० मिनेट लगाएर उक्त स्टेन्ट झिकिएको हो । स्टेन्ट झिक्दा प्रधानमन्त्रीलाइ नदुखोस् भनेर ‘एनेस्थेसिया’ को समेत उपयोग गरिएको थियो । अस्पतालमा प्रधानमन्त्रीको क्रिाटिनिनको स्तर, इलेक्ट्रोलाइटको स्तर, रेनल फंग्सन टेस्ट (मिर्गौलाको कार्य प्रणाली सम्वन्धी परिक्षण) लगायतका परिक्षण गरिएको थियो ।

नयाँ पत्रिका दैनिकका अनुसार प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए । प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन् । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ । प्रधानमन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि नियमित डायलाइसिस होइन, प्रत्यारोपणमा जाने निष्कर्षमा पुगेका छन् । प्रत्यारोपण कहिले गर्ने र स्वदेशमा गर्ने कि विदेशमा भनेर छलफल भइरहेको छ । शनिबार अस्पतालमा पनि यो विषयमा छलफल भएको थियो । प्रधानमन्त्री र उनका परिवारले नेपालमै प्रत्यारोपण गर्दा सफल हुने सम्भावना कति छ भनेर चिकित्सकहरूसँग पटकपटक जिज्ञासा राखेका छन् । चिकित्सकहरूले शतप्रतिशत भन्न नसकिने, तर विदेश र नेपालमा भिन्नता नहुने स्पष्ट पारेका छन् । प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई मिर्गौला दान गर्न चाहनेहरू भने धेरै छन् । तर, कानुनले परिवारजनबाट मात्रै मिर्गौला लिन मिल्ने निश्चित गरेको छ । परिवारभित्रैबाट मिर्गौला लिन पनि ओलीलाई असजिलो छैन । किनकि, ऐनले मिर्गौला दिन सक्ने आफन्तको फराकिलो दायरा बनाएको छ ।

रौतहटमा बस्न चाहन्थे आलम

आलम : म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ ।

प्रहरी : तपाईंलाई अरु नै कारागारमा राख्ने आदेश छ ।

आलम : म अन्त जान्नँ ।

प्रहरी : तपाईंलाई काठमाडौँको कारागार लैजाने निर्णय भइसकेको छ ।

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएपछि पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताब आलम र प्रहरीबीच शुक्रबार राति भएको संवाद हो । कान्तिपुर दैनिकका अनुसार त्यसक्रममा प्रहरी र आलमबीच भनाभन पनि हुन्छ । पुर्पक्षको आदेशलगत्तै आलमले प्रहरीलाई गाली पनि गर्छन् । चर्को स्वरमा आफूलाई रौतहटबाट अन्त्य न लैजान आग्रह गर्छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने अफ्ताब आलमलाई ललितपुरको नख्खु जेलमा राखिएको छ । शनिबार बिहान नख्खु ल्याइएका आलमलाई सिआरसी ९कम्युनिटी रिह्याबिटेसन सेन्टर० ब्लकमा राखिएको छ । यो ब्लकमा लागुऔषध दुर्व्यसनी र हत्या अभियोगका थुनुवा राखिन्छ । पुर्पक्षका लागि जेल पठाउन रौतहट जिल्ला अदालतले आदेश दिएपछि शुक्रबार राति गौरबाट हिँडाइएका आलमलाई शनिबार बिहान ४ बजे नख्खु पुर्याइएको थियो । शनिबार उनले सिआरसी ब्लकमै आराम गरेका थिए । उनी दिउँसो एकछिन कारागारभित्रै टहलिएका थिए । केहीबेर आफन्तसँग पनि भेटघाट गरेको कारागार स्रोतले बतायो । मधुमेहका रोगी आलमलाई परिवारले कारागारमै औषधि लगिदिएका थिए ।

आजको नागरिक दैनिकमा समाजवादीमा उपेन्द्र यादव हाबी बनेको समाचार प्रकाशित छ । केपी ओली नेतृत्वको सरकारमा सहभागी समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको समाचारमा बताइएको छ । तीन दिनदेखि जारी पार्टी केन्द्रीय समितिको बैठकले तत्काल सरकारबाट नबाहिरिने पक्षमा रहेका उपेन्द्र यादवको निर्णय नै बैठकले पास गरेको छ । पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईको अडान तत्काल सरकारबाट बाहिरिनुपर्ने भए पनि उनी आफ्नो अडानमा टिक्न सकेनन् ।

पत्रिकामा सर्वोच्च अदालतले सरकालाई भारतले सीमाना मिच्दा आफ्नो जमिनको रक्षा गर्न नसक्नुको कारण माग गरेको समाचार पनि प्रकाशित छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले शुक्रबार रिट निवेदनलाई ‘अग्राधिकार’ दिँदै सरकारसँग कारण देखाउ, आदेश जारी गरेको हो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा युवालाई सुध्रिन नेकपाले निर्देशन दिएको समाचार प्रकाशित छ । सत्तारुढ दल नेकपाका शीर्ष नेताले पार्टीका युवा संगठनका नेता–कार्यकर्तालाई आचरण सुधार्न निर्देशन दिएका छन् । पछिल्लो समय युवाहरु सामाजिक बन्दै गएको, श्रममा विश्वास नगर्ने र कुलतमा फस्दै जान थालेकोमा चिन्ता व्यक्ति गर्दै नेताहरुले सदाचार अवलम्बन गर्न निर्देशन दिएका हुन् । नेकपाको युवा संगठन राष्ट्रिय युवा संघको सपथग्रहण तथा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले सो कुरा बताएका हुन् ।

त्यस्तै, काठमाडौँ महानगरपाकिाभित्र जग्गा भाडा लिएर व्यावसायिक प्रयोजनका लागि ठूला भवन बनाउने र व्यवसाय गर्ने व्यक्तिले नै लिजमा लिएको घरजग्गाा कर तिर्नुपर्ने भएको समाचार पनि प्रकाशित छ । सर्वोच्च अदालतले युनाइटेड बिल्डर्स र सुनिता श्रेष्ठले काठमाडौँ महानगरपालिकाविरुद्ध दिएको रिट खारेज गरेसँगै अब लिगमा लिने व्यक्तिले नै घर जग्गा कर तिर्नुपर्ने भएको हो ।

प्रचण्डलाई कार्यकारी अध्यक्ष, पोखरेललाई कार्यवाहक प्रधानमन्त्री

नयाँ पत्रिका दैनिकका अनुसार प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका हुन् ।  प्रधानमन्त्री ओलीले पार्टीभित्रका आन्तरिक समस्या पनि सम्बोधन गर्ने गरी एकता र समझदारीको सन्देश दिने प्रयास गरिरहेका छन् । वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेका उनले वरिष्ठ नेता माधवकुमार नेपालसँगको दूरी पनि घटाएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ । ओली स्वास्थ्य उपचार र विदेश भ्रमणमा रहेका वेला पोखरेलले नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाल्ने गरेका छन् ।

यता कान्तिपुर दैनिकले भने नेकपाका अध्यक्षद्वयबीच वार्ता धेरै भए पनि विश्वास भने थोरै रहेको समाचार प्रकाशित गरेको छ । दुई अध्यक्षबीच पटक–पटक घन्टौँ वार्ता हुँदा पनि धेरै विषयमा कुरा मिल्न सकेको छैन । पछिल्लो पटक मन्त्रिपरिषद् हेरफेर, सभामुख चयन, स्थायी कमिटी बैठक आह्वान, संवैधानिक र द्वन्द्वकालीन न्यायसम्बन्धी आयोगहरुमा पदाधिकारी नियुक्तिका विषयमा उनीहरुबीच सहमति नजुटेको समचार प्रकाशित गरेको छ । यति धेरै वार्ता भइरहँदा पनि उनीहरुबीच बेला–बेला सार्वजनिकरुपमै विवाद र असन्तुष्टि देखिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप