शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहका ४८ पदमा २७३ उम्मेदवार, धरानमा सबैभन्दा धेरै

आइतबार, ०१ मङ्सिर २०७६, ११ : २९
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत स्थानीय तहका रिक्त ४८ पदमा २७३ जना उम्मेदवारले प्रतिश्पर्धा गर्दैछन् ।

कुल २८२ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका भए पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएका कारण २७३ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको पूर्वघोषित कार्यतालिका अनुसार स्थानीय तहको उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै आइतबारबाट उम्मेदवारहरु चुनाव प्रचार अभियानमा केन्द्रित भएका छन् ।

धरान उपमहानगरमा सबैभन्दा बढी उम्मेदवार

उपनिर्वाचन हुने स्थानीय तहमध्ये धरान उपमहानगरपालिकाको प्रमुख पद सबैभन्दा बढी चर्चामा छ । सोही अनुरुप उपनिर्वाचनका लागि पनि धरान उपमहानगर प्रमुख पदमा सबैभन्दा धेरै उम्मेदवारी परेको छ । धरान उपमहानगर प्रमुख पदमा २३ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन आयोगले जनाएको छ । मंसिर १४ मा हुने उपनिर्वाचन अन्तर्गत सबैभन्दा धेरै उम्मेदवार रहेका स्थानीय तहमा धरान पहिलो नम्बरमा रहेको छ ।

यस्तै महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदमा २० जनाको उम्मेदवारी कायम भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा ८ जना र संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा ७ जना उम्मेदवार प्रतिश्पर्धामा छन् ।

वडा तहमा भने सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १२ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा सबैभन्दा धेरै प्रत्याशी छन् । उक्त वडाको वडाध्यक्षमा १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिकाको १० नम्बर वडाको वडाध्यक्ष र महोत्तरीको बलवा नगरपालिकाको वडा नम्बर ८ को वडाध्यक्षका लागि १२–१२ जनाको उम्मेदवारी कायम भएको छ ।

यी हुन् उम्मेदवारी फिर्ता लिने ९ जना

उम्मेदवार मनोनयनपत्र दर्ता गराएर अन्तिम समयमा नाम फिर्ता लिने ९ जनामा मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा उम्मेदवारी दिएका चन्द्रनन्द मण्डल, सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षमा उम्मेदवारी दिएका सकलदेव साह छन् ।

यस्तै, रौतहटको गढीमाई नगरपालिका–२ को वडाध्यक्ष पदका उम्मेदवार बुधिया नेसा, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षमा उम्मेदवारी दिएका प्रकाश श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी, प्युठानको ऐरावती गाउँपालिका–१ को वडाध्यक्षमा उम्मेदवारी दिएका अर्जुन थापा, रोल्पाको थवाङ गाउँपालिका–१ मा वडाध्यक्षको उम्मेदवारी दिएकी भद्रकुमारी झाँक्री, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष पदका उम्मेदवार धनबहादुर तामाङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्षमा उम्मेदवारी दिएका दलविर बस्नेत र चित्रप्रकाश गिरीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप