बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

२८ वाणिज्य बैङ्कमा पुरानाभन्दा नयाँ आक्रामक, तीन बैङ्क अर्बपति क्लबमा

८ वटा बैङ्कको नाफा घट्यो
आइतबार, ०१ मङ्सिर २०७६, १३ : २३
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौँ । चालु आर्थिक वर्ष (२०७६/०७७) को पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) को वित्तीय विवरण अस्तित्वमा रहेका २८ वटै वाणिज्य बैङ्कले सार्वजनिक गरेका छन् । धेरै जसो बैङ्कहरुले यो अवधिमा नाफा बढेको प्रतिवेदन सार्वजनिक गरेका छन् । नाफाको बृद्धि दरमा एनएमबी बैङ्कले सबै बैङ्कलाई उछिनेको छ । एनएमबीले ४८.०५ प्रतिशतले नाफा बढाएर पहिलो त्रैमासमा ८१ करोड ५१ लाख नाफा गरेको छ । यद्यपि योभन्दा बढी नाफा गरेका बैङ्कहरु पनि छन् तर गत वर्षको यहि अबधिको तुलनामा भने एनएमबीले नाफाको बृद्धिदरमा उल्लेख्य सुधार गरेको छ ।

एनआइसी एसिया, नबिल र राष्ट्रिय वाणिज्य बैङ्क अर्बपति क्लबमा

पछिल्लो समय प्रचारप्रसारमा आक्रामक देखिएको एनआइसी एसिया व्यवसाय बृद्धि र नाफा आर्जनमा पनि आक्रामक ढङ्गले अघि बढेको छ । यो त्रैमासमा एनआइसी एसियाले ३४.१३ प्रतिशतले नाफा बढाएको छ । पहिलो त्रैमासमै बैङ्कको नाफा १ अर्ब ९६ लाख रुपैयाँ छ । बैङ्कको गत वर्षको यसै अवधिमा ७५ करोड २६ लाख रुपैयाँ नाफा थियो ।

यता अनिल केशरी शाहले कार्यकारी भूमिका निभाइरहेको नबिल बैङ्कको नाफा पनि अर्बभन्दा माथि रहेको छ । बैङ्कले १ अर्ब १२ करोड ३५ लाख रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ६.७५ प्रतिशतले बढी हो । गत वर्ष १ अर्ब ५ करोड नाफा गरेको थियो ।

यता सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क पनि अर्बपति क्लबमा देखिएको छ । बैङ्कले तीन महिनामा १ अर्ब १२ करोड ७५ लाख नाफा गरेका छन् । उसो त बैङ्कको गत वर्षको यसै अवधिको नाफा पनि अर्बभन्दा माथि नै थियो ।

८ वटा बैङ्कको नाफा घट्यो

नेपाल एसबीआई बैङ्क, सिटिजन्स बैङ्क, सिद्धार्थ बैङ्क, बैङ्क अफ काठमाण्डु,  एनसीसी बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क र सिभिल बैङ्कको नाफा घटेको छ । गत वर्ष अर्वपति क्लबमा रहेको नेपाल इन्भेष्टमेन्ट बैङ्कको नाफा १९.९३ प्रतिशतले घट्दा अर्बपति क्लबबाट तल ओर्लिएको छ । अहिले बैङ्कको नाफा ८४ करोड ४४ लाखमा खुम्चिएको छ । यता सरकारी बैङ्क नेपाल बैङ्कको नाफा पनि ३६.३३ प्रतिशतले खुम्चिएको छ । बैङ्कले ५८ करोड १८ लाख रुपैयाँ मात्र नाफा गरेको छ । गत वर्ष यसै अवधिमा बैङ्कको नाफा ९१ करोड ३८ लाख रुपैयाँ थियो । यता एभरेष्ट बैङ्कको नाफामा भने तलमाथि भएको छैन । स्थिर छ ।

कसको नाफा कति ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप