शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बोलिभियामा विरोध प्रदर्शन, ८ जनाको मृत्यु

आइतबार, ०१ मङ्सिर २०७६, १३ : २७
आइतबार, ०१ मङ्सिर २०७६

एजेन्सी– दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र प्रदर्शनकारीबीच भएको झडपका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।  यस  प्रदर्शनको क्रममा आठ जना मारिनुको साथै अन्य १ सय ३२ जना घाइते भएका सरकारी स्रोतले पुष्टि गरेको छ । घाइतेहरुमध्ये अधिकांशलाई गोली लागेको बताइएको छ । 

प्रदर्शनकारीहरु राष्ट्रपति इभो मोरालेसका समर्थकहरु रहेका जनाइएकोे छ । उनले भने राजीनामा गरिसकेका छन् । बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौथो पटक राष्ट्रपतिमा चयन हुनुभएको इभो  मोरालेसका विरुद्धमा तीन हप्तादेखि शृंखलाबद्ध विरोध प्रदर्शन भइरहेको थियो । 

विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गरेका थिए । सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गरेका हुन्। त्यसपछि मेक्सिकोतर्फ लाग्नुभएको र मेक्सिकोले उनलाई राजनीतिक शरण दिने प्रस्ताव गरेको बताइएको छ ।

राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । मोरालेसका समर्थकहरूले मंगलबारदेखि बोलिभियाका विभिन्न क्षेत्रहरुमा भेला भएका थिए ।  विपक्षीले समर्थन गरेको अन्तरिम सरकारका नेता जेनिन अनेजको राजीनामा, मोरालेसको फिर्तीको माग गर्दै समर्थकहरु विरोध प्रदर्शन जारी राखेका थिए । 

बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।  लामो समयदेखि सत्तामा रहेका मोरालेसका मन्त्री एवं वरिष्ठ अधिकारीहरुले पनि एकाएक राजिनामा दिएपछि उनी थप सङ्कटमा परेका थिए ।

त्यही चुनावमा पराजित भएका पूर्वराष्ट्रपति एवं मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको बताए ।  उनले बोलिभियालाई नयाँ र समृद्ध देशमा रुपान्तरण गर्न पछिल्लो कदमले मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

राष्ट्रपतिबाट राजिनामा गरेको अवस्थामा मुलुकको राष्ट्रपति को हुने भन्ने अन्यौलकै बीच कम्तीमा २० जना सांसद र वरिष्ठ सरकारी अधिकारीहरुले बोलिभियास्थित मेक्सिकोको राजदूतावासमा शरण लिएका थिए । मेक्सिकोले राष्ट्रपति मोरालेसलाई पनि शरण दिन तयार रहेको घोषणा गरेको छ ।

यहीबीच मोरालेसले ट्वीट गर्दै आफूलाई गिरफ्तार गर्न सुरक्षाकर्मी पक्राउपूर्जी सहित आएको बताएका छन् तर प्रहरी प्रमुख भ्लादिमिर युरी काल्डेरोनले भने मोरालेसको भनाईमा सत्यता नरहेको दाबी गरे ।  मोरालेसले आफ्नो घरमा पनि आक्रमणकारी समूहले ढुंगामुडा गरेको बताएका छन् । प्रहरीले आइतबार राति निर्वाचन अदालतका प्रमुख मारिया युजेनिया चोकलाई गिरफ्तार गरेको जनाएको छ । विपक्षीहरुले यही अदालतको आडमा मोरालेसले चुनाव जितेको आरोप लगाउँदै आएका थिए ।

आयमारा आदिवासी समुदायको प्रतिनिधित्व गर्ने मोरालेस विगतमा कृषक रहेका थिए । उनी सन् २००६ मा आदिवासी समुदायबाट बोलिभियाको पहिलो राष्ट्रपति बनेका थिए । राजीनामा गर्नेक्रममा मोरालेसले आफ्नो राष्ट्रपतीयकालमा भोकमरी र गरिबी कम गर्न ठूलो सफलता प्राप्त गरेको दाबी गरेका थिए ।

मोरालेसले बोलिभियाको राष्ट्रपतिका रुपमा करिब १४ वर्ष शासन सञ्चालन गरेका थिए । तर यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उनी झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी भएका थिए, जसलाई मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै विपक्षीहरुले चुनावी परिणाम अस्वीकार गरेका थिए ।

मोरालेसको विजयलाई अस्वीकार गर्दै भएको तीन सातादेखिको प्रदर्शनमा तीन जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।विरोध प्रदर्शन जारी रहेकै अवस्थामा ६० वर्षीय मोरालेसले नयाँ चुनावका लागि पनि प्रस्ताव गरेका थिए तर सडक राष्ट्रपतिको यस्तो आग्रह सुन्ने अवस्थामा थिएन । बरु मुलुकका सशस्त्र फौज र प्रहरी दुबैले राष्ट्रपतिलाई राजिनामा गर्न सुझाएका थिए ।

सशस्त्र फौजका प्रमुख एवं सेनापति विलियम्स कलिम्यानले संवाददाताहरुसँग कुरा गर्दै मुलुकको स्थायित्व, विकास र सडक प्रदर्शन मत्थर पार्न मोरालेसलाई राजीनामा गर्न आफूले सुझाव दिएको बताएका थिए । –सिन्हवा/Photo:AP
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप