मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘अन्य दलको कमजोरी नै भक्तपुरमा मैले चुनाव जित्ने आधार हो’

नेमकिपाका उम्मेदवार निरज लवजु
सोमबार, ०२ मङ्सिर २०७६, १० : ०१
सोमबार, ०२ मङ्सिर २०७६

२०७४ सालमा भएको निर्वाचनमा भक्तपुर प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा क्षेत्र नम्बर (क) मा नेमकिपाको तर्फबाट निरज लवजु चुनावी प्रतिष्पर्धामा थिए । त्यो बेला तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भएका उनले ७ हजार १९ मत ल्याएका थिए । विजयी उम्मेदवार भन्दा झन्डै ५ हजार मतले पछि परेका उनी यसपालीको निर्वाचनमा भने विजयी हुने दावी गरिरहेका छन् । सत्तामा रहेको दल नेकपाको कार्यशैलीबाट जनता निराश बनेको र नेपाली काँग्रेसलाई पनि जनताले चिनिसकेकोले मत आफ्नो पोल्टामा आउने उनको विश्वास छ । गत निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर १ मा नेमकिपा सांसद प्रेम सुवाल विजयी भएका थिए । तर सो क्षेत्रको एउटा प्रदेशसभामा भने तत्कालीन एमालेबाट हरिशरण लामीछाने विजयी भएका थिए । उनको निधनपछि हुन लागेको निर्वाचनमा लवजुले पुनः एकपटक आफूलाई परीक्षण गर्न खोजेका छन् ।

चुनावमा भोजभतेर नगर्ने र स्वच्छ चुनावी प्रचार गर्ने योजना बनाएका लवजुले मंगलबारबाट चुनावी सभा गर्ने कार्यक्रम रहेको बताएका छन् । निर्वाचन क्षेत्रमा चुनाव प्रचारका लागि नेमकिपाले फ्लेक्स बोर्ड, झन्डा, ब्यानर तथा अन्य कागजी प्रचार सामग्री तयार पारिसकेको छ । प्रस्तुत छ, भक्तपुरको प्रदेश सभा निर्वाचनमा होमिएका उम्मेदवार निरज लवजुसँग रातोपाटी संवाददाता शम्भु दङ्गाल र हेमराज ढकालले गरेको कुराकानी : 

मतदान हुन २ हप्ता बाँकी छ, कस्तो छ तयारी ?

अहिले विशेषतः हामीले जनताको घरदैलोमा जाने कार्यक्रमलाई नै अगाडि बढाइरहेका छौँ । प्रत्येक दिनजसो हामी जनताको घरदैलो, चोक–चोकमा, टोल–टोलमा गएर अहिलेको राजनीतिक परिस्थितिको विरोधमा र नेपाल मजदुर किसान पार्टीको सिद्धान्त, विचारको विषयमा नै जनतालाई सुसूचित बनाउने काम अगाडि बढाइरहेका छौँ । 

कस्ता एजेन्डा अघि सार्नुभएको छ तपाईंले ?

यो प्रदेशसभाको निर्वाचन हो । त्यसकारण हामीले मूलतः हाम्रै प्रदेश नम्बर ३ कै एजेण्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौँ । अहिले यो प्रदेशमा नेकपाको दुई तिहाईभन्दा बढी मतको शक्तिशाली सरकार छ । दुई वर्ष भइसकेको छ तर अझै पनि प्रदेश नम्बर ३ को न नामको ठेगान छ, न स्थायी राजधानीको ठेगान छ ।

जनताको पक्षमा जुन ढङ्गको, जुन परिणामको नियम कानून बन्नुपर्ने थियो, त्यो ढंगको काम भइरहेको छैन । त्यसकारण हामीले जनतालाई यही कुरा प्राथमिकताका साथ सेचत बनाउने काम गरिरहेका छौँ ।

दोस्रो कुरा, भौतिक पूर्वाधार निर्माणका चाहनाहरुलाई जनतासँगै के–कसो गर्दा उपयुक्त हुन्छ भनेर सरसल्लाह गरिरहेका छौँ ।

तपाईं अघिल्लो पटक पनि यो प्रदेश सभामा उम्मेदवार हुनुहुन्थ्यो, त्यतिबेला तपाईंलाई जनताले विश्वास गरेनन् । अहिले फेरि विश्वास गर्लान् भन्ने के आधार छ ?

विश्वास नगरेको हैन, अंकगणितमा पछाडि परेको हो । विश्वास नगरेको भन्ने हैन । अहिले परिस्थिति परिवर्तन भइसकेको छ । नेपाली जनताले अघिल्लो चुनावमा जसलाई जिताएका थिए, दुई वर्षमा तिनीहरुको परीक्षण पनि भइसकेको छ । तिनले के गर्छन् ? तिनले के गर्न सकेनन् ? के गर्ने अपेक्षा थियो र के भएन भन्ने कुरा पनि नेपाली जनताले बुझिसकेका छन् । त्यस आधारमा नेपाली जनतामा हिजो रहेका केही भ्रमहरु अहिले समाप्त भइसकेको छ, भ्रम चिरिएको अवस्था छ । अब कम्तिमा मेरो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी नै विकल्प हो भन्ने कुरामा जनताले बुझिसके भन्ने मलाई विश्वास छ ।

आफ्ना प्रतिष्पर्धी दलबाट तपाईंले कत्तिको चुनौती महसुस गर्नुभएको छ ? 

प्रतिष्पर्धा हो, हामीले यसलाई मूलतः वैचारिक संघर्षको रुपमा लिएका छौँ । मलाई दुःख के कुरामा लाग्छ भने केही राजनीतिक दलका प्रतिष्पर्धी साथीहरुले यसलाई स्थानीय गाउँपालिकाको, नगरपालिकाको चुनावजस्तै भौतिक पूर्वाधारसँग जोडेर हेरेका छन् । मूलतः यो प्रदेश सभाको निर्वाचन भएको हुनाले राजनीतिक रुपमा नै यसलाई अगाडि बढाउनुपर्ने जस्तो मलाई लाग्छ । हामीले त्यसरी नै अगाडि बढाइरहेका छौँ ।

जनताले तपाईंलाई किन जिताउने ? अरु उम्मेदवारको भन्दा तपाईंको फरक एजेण्डा के छ ?

पहिलो कुरा त दुई वर्ष भयो, स्थानीय पालिकादेखि केन्द्रसम्म नेकपाको बलियो उपस्थिति छ । तर दुई वर्षको अन्तरालमा अघिल्लो चुनावमा उहाँहरुले दिनुभएको विकास र समृद्धिको नारा चुनावी नारामा मात्रै सीमित भएको देखियो । व्यवहारमा न समृद्धि देखियो न विकास देखियो । बरु मेरो क्षेत्रकै लाइफलाइनको रुपमा रहेको मेरो क्षेत्रको बाटो ६ वर्षदेखि लथालिङ्गको अवस्थामा छ । अझै पनि त्यो बनिरहेको अवस्था छैन । त्यसकारण जनताले हिजो जससलाई मत दिएका थिए, नेकपालाई जसरी बलियो बनाएका थिए, नेकपाप्रति रहेको भ्रम चाहीँ जनताले प्रष्ट बुझिसके । विकास र समृद्धिको नारा त यिनीहरुले फगत नाराका रुपमा मात्र उठाएका रहेछन् भन्ने कुरा बुझिसकेका छन् ।


अर्को प्रतिष्पर्धी शक्ति भनेको नेपाली काँग्रेस हो । काँग्रेस के हो भनेर नेपाली जनतालाई राम्ररी थाहा छ । एक त उनीहरु आफ्नै आन्तरिक किचलोबाट माथि उठ्न सकेका छैनन् । त्यसैकारण संसदमा, प्रदेश सभामा नेपाली कांग्रेसले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिरहेको छैन । त्यसो हो भने अब विकल्प के त भन्दा नेपाल मजदुर किसान पार्टी नै हुनसक्छ । नेपाल मजदुर किसान पार्टीले अहिलेको प्रदेश सभामा पनि खेलिरहेको प्रखर प्रतिपक्षको भूमिकाबाट नै अहिलेको शक्तिशाली सरकारलाई चुनौती दिन सक्छ अथवा सच्याउन सक्छ भन्ने कुरामा नेपाली जनता कन्भिन्स छन् जस्तो मलाई लाग्छ ।

चुनावी रणनीति कस्तो बनाउनुभएको छ तपाईंले ?

हाम्रो रणनीति भनेको भोजभतेर, पैसा, पद, सस्तो आश्वासन, सस्तो लोकप्रियताको रणनीति हामी बनाउँदैनौँ । हामी जनताको बिचमा गएका छौँ । जनतालाई हाम्रो पार्टीको दृष्टिकोण हामीले प्रष्ट पारेका छौँ । शासक राजनीतिक दलका कमी कमजोरीका विषयमा, उसले भनेर पनि नगरेका कामहरुका विषयमा हामीले जनतालाई बुझाएका छौँ । मलाई लाग्छ जनतालाई शिक्षित बनाउनेभन्दा अरु चुनावको रणनीति के हुन्छ होला र ?

तपाईंअघिल्लो चुनावमा पनि उम्मेदवार भएकोले जनतामा पहिला जसरी नै जानुहुन्छ कि केही फरक गर्नुहुन्छ ? 

हामी जनतासँग अन्तक्र्रिया गरिरहेका छौँ । जनताले हाम्रोप्रतिका आलोचनात्मक दृष्टिकोणहरु हाम्रै अगाडि व्यक्त गर्ने परिस्थति बनेको छ । जस्तै, जनताले जुन अनुपातमा, जुन संख्यामा हाम्रो उपस्थिति गाउँघरमा हुनुपर्ने हो, भएन कि भन्ने सल्लाह सुझाव पनि दिनुभएको छ । हामी जनतासँग विकास निर्माणका कामदेखि लिएर राष्ट्रिय राजनीतिसम्मका कुराहरुलाई उहाँहरुसँग प्रत्यक्ष छलफल गर्ने, अन्तक्र्रिया गर्ने काम गरिरहेका छौँ । जनतामा एक प्रकारको आक्रोस छ अहिलेको सत्तारुढ दलप्रति । जस्तै, यो कालापानी र लिम्पियाधुरा–लिपुलेकको सन्दर्भमा पनि । यो शासक राजनीतिक दलले जुन ढंगको अडान लिनुपर्ने थियो, त्यो अडान लिन सकेन ।

त्यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने भन्ने जनताको आवाज थियो । त्यो पनि पूरा गर्न सकेको देखिएन । त्यसकारण समृद्धि र विकास पनि हुन सकेन । राष्ट्रियताको सवालमा पनि, राष्ट्रिय स्वाधीनताको सवालमा पनि सत्तासिन दलले सहि अडान लिन नसकेको कारणले एक प्रकारको आक्रोसचाहीँ हामीले महसुस गरिरहेका छौँ । ज्वालामुखी फुट्नुअघि जसरी लाभाको हलचल हुन्छ, त्यस्तै खालको हलचलचाहीँ हामी जनताको बिचमा जाँदा महसुस गरेका छौँ ।

तपाईं जनतासँग के कुराको प्रतिबद्धता गर्नुहुन्छ ? अन्य प्रतिष्पर्धी उम्मेदवारले विकासको प्रतिबद्धता गर्छन् तर प्रदेशसभा सदस्यले विकासको कुरामात्र गर्ने हैन भन्नुभयो, तपाईं के कुराले जनतालाई आफूतिर आकर्षित गर्नुहुन्छ ?

प्रदेशसभाले विकास गर्ने हैन भनिएन, मैले त्यसो भनेको हैन । प्रदेश सभा सदस्यले त्यस्तोखाले ऐन कानून बनाउने हो जसले जनताको घर दैलोमा विकास पु¥याउँछ । प्रदेश सभा सदस्यको जिम्मेवारी विकास हैन भन्या हैन । त्यसकारण हामी जुन क्षेत्रबाट निर्वाचित भयौँ वा हुन्छौँ त्यो क्षेत्रका जनताप्रति हाम्रो दायित्व छ, त्यहाँको विकास निर्माणप्रति हामी जवाफदेही छौँ । त्यहाँका जनतासँग विकास निर्माणमा हातेमालोका लागि अग्रसर छौँ, आतुर छौँ । तर साथसाथै विकास निर्माणका काम सँगसँगै हामी प्रदेश सभामा निर्वाचित भइसकेपछि प्रदेशसभामा सरकारले प्रस्तुत गर्ने विधेयकहरुको रौं–चिरा पारेर त्यसबाट राम्रा कुराहरुको समर्थन गर्ने, नराम्रा कुराहरुको प्रखर प्रतिपक्षको ढंगले हामी प्रस्तुत हुनेछौँ । त्यो एउटा प्रतिबद्धता हो । हामी सत्ताको राजनीति गर्दैनौँ । हामी पद र पैसाको राजनीति गर्दैनौँ । प्रदेश सभामा गएर पनि हामी प्रखर प्रतिपक्षको भूमिका खेल्ने छौँ । जनताको पक्षमा हाम्रो त्यो भूमिका निर्वाह हुनेछ । लोकतन्त्र भनेको त्यतिबेला मात्र शक्तिशाली हुन्छ जतिबेला त्यहाँ प्रतिपक्षी शक्तिशाली हुन्छ । लोकतन्त्रको सबैभन्दा शक्तिशाली पक्ष भनेकै शक्तिशाली प्रतिपक्ष हुनु हो । एउटा भनाइ पनि छ, सरकार सत्तापक्षको अनि सदनचाहीँ प्रतिपक्षको भनेजस्तै हामी प्रतिपक्षमा बसेर संसदमा एउटा सशक्त, प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँ । त्यो जनताका लागि हितकर हुनेछ ।

अन्य दलहरुले घरदैलो अभियान सुरु गरिसके, तपाईंले कसरी गर्दै हुनुुहुन्छ ?

मैले अघि पनि भनेँ, हाम्रो सार्वजनिक कार्यक्रमहरु अहिले पनि भइरहेका छन् । चोकसभाहरु, घरदैलो कार्यक्रमहरु, भेटघाट कार्यक्रमहरुलाई अलि बढी प्राथमिकता दिइरहेका छौँ । हाम्रो जनसभाहरु मंसिर ३ गतेबाट सुरु हुँदैछ ।

अन्त्यमा, तपाईं निर्वाचित हुने आधारहरु के के हुन् ?  

मुख्य आधारहरु भनेको अहिले हामीलाई के सजिलो भएको छ भने अहिले सत्तारुढ दलहरुले गरेको कमी कमजोरी नै हामी निर्वाचित हुने मुख्य आधार हो । विगत लामो समयदेखि काँग्रेसले आफू सत्तामा हुँदाखेरी गरेका गल्ती, कमजोरी हाम्रो जित्ने मुख्य आधार हो । तेश्रो र बलियो आधार भनेको जनताले नेमकिपालाई चिनेका छन्, बुझेका छन्, जनताले नेमकिपालाई विश्वास गरिरहेका छन् । आजसम्म पनि र कालान्तरसम्म पनि त्यो विश्वास कायम रहनेछ भन्नेमा हामी विश्वस्त छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप