शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपप्रधानमन्त्री यादव भारत भ्रमणमा

सोमबार, ०२ मङ्सिर २०७६, १३ : २०
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार नयाँ दिल्ली जाँदैछन् । 

पार्टीको संघीय परिषद् एवम् केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै उनी साताव्यापी भ्रमणका लागि भारत जान लागेका हुन् ।

मन्त्री यादवका सल्लाहकार के.के. राईले स्वास्थ्य मन्त्रालयअन्तर्गत औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत जान लागेको बताए । यद्यपि उक्त कार्यक्रमको अवधि तीन दिनमात्र रहने भए पनि यादव एक सातासम्म भारतमै रहने भएकाले उनको भ्रमणलाई राजनीतिक रुपबाट हेर्न थालिएको हो ।

यादव यतिबेला राजनीतिक रुपमा चुनौतीको चाङमा छन् । पार्टीको हालै सम्पन्न संघीय परिषद र केन्द्रीय समिति बैठकले सरकारमा रहिरहने वा फिर्ता हुने भन्ने सवालमा निर्णय गर्ने जिम्मेवारी पदाधिकारीहरुलाई नै दिएको छ । पदाधिकारी बैठकमा यसबारे छलफल हुनुअघि यादव दिल्ली जान लागेका हुन् ।

यस अतिरिक्त राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको एकता प्रक्रियाबारे पनि पार्टीभित्र अन्योल कायम छ । पार्टीका केही नेता तत्काल राजपा नेपालसँग एकता प्रक्रिया अघि बढाउनु पर्ने पक्षमा छन् भने केही नेता एकताका लागि हतारिन नहुने तर्क गरिरहेका छन् ।

राजपा नेपालले भने सरकारबाट फिर्ता भएर आएमा मात्र समाजवादी पार्टीसँग एकता प्रक्रियाका लागि छलफल गर्ने प्राथमिक सर्त अघि सारेको छ ।
समाजवादी पार्टीको संघीय परिषद र केन्द्रीय समिति बैठकले संविधान संशोधनको एजेण्डालाई सार्थक रुपमा अघि सार्ने निर्णय गरिसकेको छ ।

संविधानसभाबाट संविधान जारी भएलगत्तै भारतले असन्तुष्टि जाहेर गरेको थियो । मधेसवादी दलहरुले समेत संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरेका थिए भने उनीहरुकै आन्दोलनको आधारमा भारतले अघोषित नाकाबन्दीसमेत गरेको थियो ।

यतिबेला सीमा विवादका कारण प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग भारतको सम्बन्ध चिसिन थालेको बताइन्छ । सोही समयमा सीमा समस्या समाधानका लागिसमेत संविधान संशोधन आवश्यक रहेको तर्क गर्ने सत्ता साझेदार दलका नेतासमेत रहेका यादवको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप