शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य : नेकपाका शीर्ष नेता आन्तरिक छलफलमा व्यस्त

खुमलटारमा प्रचण्ड–माधव र बालुवाटारमा ओली–प्रचण्ड वार्ता
सोमबार, ०२ मङ्सिर २०७६, १४ : २०
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौँ– मन्त्रिमण्डल पुनर्गठन अघि नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । 

त्यसका लागि नेकपाका नेताहरुको बिहानैबाट दौडधूप चलेको छ । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा झण्डै २ घण्टा भेटवार्ता भएको छ ।

 त्यस्तै सोमबारै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने ओली–प्रचण्ड भेटमा बहिर्गमनमा पर्न लागेका र थपिने मन्त्रीका बारेमा टुंगो लगाउने बुझिएको छ । त्यसअघि प्रधानमन्त्री केपी ओलीले सोमबार बिहान मन्त्रिमण्डल हेरफेरबारे आफू निकटस्थहरुसँग छलफल गरेका छन् । 

आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल हेरफेर गर्न सैद्धान्तिक अनुमति दिएको थियो । त्यसपछि नेताहरुबीच सम्बाद र भेटवार्ता बाक्लिएको हो । 
खुमलटारमा प्रचण्डसँग नेता नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत भेटवार्ता गरेका थिए । 

दुई नेतावीचको भेटवार्तामा समसामयिक राजनीतिक घट्नाक्रम र मन्त्रिमण्डलमा थपिने सदस्यहरुबारे छलफल भएको खुमलटार स्रोतले जनाएको छ  । तर प्रचण्डको सचिवालयले भने टनेल र सुरुङमार्गबारे प्राविधिकहरुसँगको छलफलका लागि नेता नेपाल खुमलटार आएको दावी गरेको छ । 

सोमबारै मन्त्रीहरु वर्षमान पुन र रघुवीर महासेठ पनि प्रचण्ड निवास खुमलटार पुगेका थिए । 

प्रधानमन्त्री ओलीले चौमासिक कार्यसम्पादन मूल्यांकनमा सन्तोषजनक परफमेन्स नदेखाएका मन्त्रीहरूलाई र्फेने अध्यक्ष प्रचण्डसँग यसअघि नै छलफल गरिसकेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगर, कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालको पछिल्लो कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नपाएको ओलीको मूल्याङकन छ ।

केही मन्त्री बाहिरिने चर्चासँगै नयाँ मन्त्रीका रुपमा  थपिनेहरुको चर्चा चुलिएको छ । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार, गणेश ठगुन्नाको नाम चर्चामा आएको छ । त्यसैगरी जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, हरिराज अधिकारी, प्रभु शाहलगायतको नाम पनि नयाँ मन्त्री बन्नेको सूचीमा चर्चामा आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप