बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट कारागारमा राख्दा आलममाथि थियो सुरक्षा खतरा ?

सोमबार, ०२ मङ्सिर २०७६, १८ : ४९
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौँ । कात्तिक २९ गते शुक्रबार करिब ९ दिन लामो थुनछेक बहसपछि रौतहट जिल्ला अदालतले बमकाण्डका आरोपी मोहम्मद आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । 

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा परी घाइते भएकाहरुलाई इटाभट्टामा हाली जिउँदै जलाएको आरोप आलममाथि छ । आलमलाई तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइन भन्न सकिएन भन्दै जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको हो ।  

तर कसुर गरिएको भनिएको जिल्लामा नराखी आलमलाई किन कारागार कार्यालय नख्खुमा पठाइयो भनी यतिबेला विभिन्न टिकाटिप्पणी हुने गरेको छ । 

प्रहरी स्रोतका अनुसार आलमलाई जिल्ला कारागार रौतहटमा राख्दा त्यहाँ आलममाथि नै आक्रमण हुनसक्ने खतरा रहेको कारण उनलाई काठमाडौं पठाइएको हो । यस्तै आलमलाई रौतहटमै राख्दा उनले समर्थकलाई भड्काएर असहज अवस्था सिर्जना गर्नसक्ने डर पनि स्थानीय प्रशासनलाई थियो ।  

कसरी थियो आलममाथि कारगारभित्रै आक्रमणको खतरा ?
आलम नेपाली काँग्रेसका निर्वाचित संघीय सांसद हुन् । राजनीतिमा राम्रो प्रभाव भएका र आलमकै निकट रहेका साविकको जिंगडवा बेलबिथवा ५ तथा हालको परोहा नगरापालिका २ का वडाध्यक्षका उम्मेदवार थिए शेख सेराजुद्दिन । स्थानीय तहको निर्वाचनमा उनी नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार थिए । 

त्यहाँ हालको नेकपा तथा तत्कालीन समयमा माओवादी केन्द्रको राम्रो पकड क्षेत्र थियो । स्थानीय तह निर्वाचनकै क्रममा विभिन्न समयमा यी दुई पार्टीबीच झडपसमेत भएको थियो । स्थानीय तहमा तत्कालीन माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष रहेका मोहमद एजाजुर रहमान विजयी भए । 

निर्वाचन सकिएपछि त्यसको केही दिनपछि २०७४ असोज ९ गते नेपाली काँग्रेसबाट वडाध्यक्षका प्रत्यासी रहेका सेराजुद्दिनका ३२ वर्षीय छोरा अकबर अलीको गोली हानी हत्या भयो । 

यो हत्यामा वडाध्यक्ष एजाजुर रहमानको संलग्नता रहेको भन्दै आलमकै निर्देशनमा पराजित वडाध्यक्षका उम्मेदवार शेख सेराजुद्दिनले ६ जनाविरुद्ध किटानी जाहेरी दिए ।

जाहेरीपछि घटनामा संलग्न भनिएका वडाध्यक्ष मोहमद एजाजुर रहमान, शेख सलिम, मोहमद तारिख, शेख मोहमद चौकत अली पक्राउ परे । 

पछि जिल्ला अदालत रौतहटमा भएको थुनछेक बहसमा तत्काल प्राप्त प्रमाणबाट दोषी नदेखिएको भन्दै जनही १ लाख ५० हजार धरौटीमा उनीहरुलाई रिहा गरियो । 

तर जिल्लाको थुनछेक आदेशप्रति चित्त नबुझाएका शेख सेराजुद्दिनले उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा निवेदन दिए । उच्च अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामै राख्नु भन्ने आदेश दिएपछि अहिले उनीहरु ४ जना नै पुर्पक्षका लागि जिल्ला कारागार रौतहटको थुनामा रहेका छन् । 

तर राजनीतिक प्रतिशोधका लागि विपक्षीहरुलाई सक्काउने नीति लिएको र निराधार आरोप लगाएको भन्दै त्यसक्षेत्रमा आलमविरोधी गतिविधि बढिरहेको थियो । आरोप लगाउन आलमले निर्देशन दिएको र नियतबस फसाइएको भन्दै आलमको चर्को बिरोधसमेत भइरहेको थियो । 

विपक्षी दलका वडाध्यक्ष तथा अन्य ३ जना कार्यकर्तालाई जेल पठाएको स्थानमा नै आलमलाई लैजाँदा आलममाथि कारागारभित्रै आक्रमण गर्ने तयारी ती थुनुवाहरुले गरिरहेको सूचना प्रहरीकहाँ आएको थियो । प्रहरीले सो सूचना कारागार कार्यालयलाई दिएपछि कारागार कार्यालय रौतहटले सुरक्षा खतरा भन्दै आलमलाई काठमाडौं सरुवा गरेको थियो ।

रौतहटमा आन्दोलन गराउने आलमको योजना थियो
आलमलाई कारागार कार्यालय रौतहटमै राख्दा उनीमाथि आक्रमणको खतरा मात्रै थिएन, उनलाई त्यहीँ राख्दा आन्दोलन चर्काउने खतरा पनि थियो । प्रहरीलाई प्राप्त गोप्य सूचना अनुसार यदि आलमलाई पुर्पक्षका लागि जेल चलान गरिएमा उनका समर्थकहरु उचालेर आन्दोलन गराउने आलमपक्षको योजना थियो । 

त्यसो त अदालतमा आलमविरुद्ध मुद्दा चलिरहेकै बेला र थुनछेक बहस भइरहेकै बेला पनि आलमपक्षले रौतहटमा आन्दोलन नगरेको होइन । यो मुद्दालाई नै प्रभावित पार्ने गरी आलम पक्षले आन्दोलन गरिरहेको थियो । आलम जेल गएमा उनी निर्दोष छन् भन्ने देखाउन र उनका पक्षमा माहोल देखाउन पनि रौतहटमा आन्दोलन गर्ने उनीहरुको योजना थियो । 

त्यसका लागि आलमपक्षले भारतबाट समेत मान्छे ल्याउने तयारी गरेका थिए । जेलभित्रै र बाहिरै पनि आन्दोलन हुनसक्ने र मुद्दालाई नै प्रभावित तुल्याउने कोशिस सुरु भएपछि आलमलाई रौतहटमै राख्नु सुरक्षाको दृष्टिकोणले पनि खतरा भएपछि उनलाई काठमाडौं पठाउनु प्रहरी र कारागार कार्यालयको लागि बाध्यात्मक अवस्था थियो । 

क्षमताभन्दा दोब्बर बढी कैदी
कारागार कार्यालय रौतहटमा कैदीबन्दीको सङ्ख्या पनि क्षमताभन्दा धेरै बढी छ । १ सय २० जना कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले नै २ सय ७९ जना कैदीबन्दी रहेका छन् । त्यसकारण ‘भीआइपी’ कैदीलाई सामान्य कैदीसरह राख्न पनि कारागार कार्यालयलाई अफ्ठेरो परेको थियो ।

आलमले आफू बिरामी रहेको र मेडिकल रिपोर्ट पनि जिल्ला अदालतमा बुझाएका थिए । बिरामी भएको कारण कारागार बाहिरबाटै मुद्दाको पुर्पक्ष गरिपाउँ भनी पेश गरेको निवेदनमाथि आदेश दिँदै जिल्ला अदालतले उनको उपचारको व्यवस्था मिलाउनु भनी आदेश दिएको देखिन्छ । 

आदेशमा आलम मधुमेह र उच्च रक्तचापको बिरामी रहेको भन्दै यी रोगको उपचार हुने अस्पतालमा उपचार गराउनु भनी जिल्ला कारागार रौतहटलाई लेखी पठाउनु भनी आदेश भएको छ । 

आदेशकै बुँदा नम्बर २६ मा आलमलाई ‘सुरक्षाको दृष्टिकोणबाट प्रतिवादीलाई जिल्ला कारागार रौतहटमा राखिराख्नु अनुपयुक्त देखिएको अवस्थामा साक्षी वकपत्र र मुद्दाको पुर्पक्षका समयमा यस अदालतमा अनिवार्य उपस्थित गराउने गरी कारागार व्यवस्थापन विभागसँग समन्वय गरी अन्य उपयुक्त कारागारमा स्थान्तरण गर्न सक्ने गरी अनुमति समेत प्रदान गरिदिएको छ’ भनिएको छ । त्यसै आधारमा कारागार कार्यालय रौतहटले आलमलाई सुरक्षाको कारण देखाउँदै कारागार कार्यालय नख्खुमा स्थान्तरण गरिएको हो ।

यसरी रौतहट बमकाण्डका आरोपित मोहम्मद अफताब आलमलाई रौतहट कारागारमै राख्दा सुरक्षा खतरा बढेपछि उनलाई रौतहटबाट काठमाडौंमा सरुवा गरिएको थियो । 

–रौतहटबाट सञ्जय मिश्राको सहयोगमा 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप