शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा चलचित्र महोत्सव हुने

मङ्गलबार, ०३ मङ्सिर २०७६, १८ : २३
मङ्गलबार, ०३ मङ्सिर २०७६

बुटवल । आगामी माघमा रुपन्देहीमा चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्र बोर्डको आयोजनामा पहिलोपटक आगामी माघ २४ देखि पाँचदिनसम्म रुपन्देहीमा चलचित्र महोत्सव हुन लागेको हो । नेपाली चलचित्रलाई बौद्धिक स्तरमा लगेर छलफल गर्नका लागि आयोजना गर्न लागिएको चलचित्र महोत्सवमा पहिलो नेपाली चलचित्र‘आमा’ देखि हालसम्म आएका मौलिक चलचित्रहरुका बारेमा छलफल अन्तरक्रिया गरि नयाँ आयाम खोजिने नेपाल चलचित्र बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी गराए ।

मुलुकको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेको तराईमा नेपाली चलचित्र हेर्ने संख्या न्यून छ । तराईमा नेपाली चलचित्रको पहुँच बृद्धि गर्नका लागि पनि यो कार्यक्रम गर्न लागिएको उनले बताए । चलचित्र महोत्सवमा रुपन्देही जिल्लालाई चलचित्रमय बनाइनेछ । जसका लागि जिल्लाभरका हरेक चलचित्र घरहरुमा मौलिकतामा आधारित चलचित्र प्रदर्शन गरिनेछ भने टिकट निःशुल्क हुने नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदयले जानकारी गराए । चलचित्र घरहरुलाई भने बोर्डले त्यसको शुल्क उपलब्ध गराउने छ ।

जिल्लाका एफएम रेडियो तथा टेलिभिजनहरुलाई पनि आफ्ना कार्यक्रमसँगै बजाउने गीतहरु नेपाली चलचित्रका गीत बजाएर सहयोग गर्न आयोजक नेपाल चलचित्र बोर्डले आग्रह गरेको छ । चलचित्र महोत्सवमै जिल्लामा चलचित्र छायाँकनका लागि सम्भावित क्षेत्रहरुको पहिचानका लागि स्थलगत अवलोकन गराइने संघका अध्यक्ष उदयले जानकारी गराए ।

माघको २८ गतेसम्म सञ्चालन हुने चलचित्र महोत्सवकै बीचमा शिक्षासँग सम्बन्धित पेशागत विभिन्न संघ–संस्थासँगको सहकार्यमा चलचित्र सम्बन्धि विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिनेछ । रुपन्देही जिल्लाका ५ संघीय निर्वाचन क्षेत्रमा छनौट चरणमा पहिलो तीन टिमलाई पुरस्कृत गरिनेछ भने प्रथम हुने टिमलाई जिल्ला स्तरमा फाइनल चरणमा उतारिनेछ ।

नेपालमा पछिल्लो १० वर्षमा प्रत्येक वर्ष सरदर सयका दरले चलचित्र निर्माण भइरहेका छन् । भैरहवालाई आधार क्षेत्र बनाएर गरिने महोत्सवका इभेन्टहरु फरक–फरक स्थानमा गरिनेछ । यस कार्यक्रममा करिव २ सय चलचित्रकर्मी रुपन्देहीमा जम्मा हुनेछन् ।

करिब २ करोड रुपैंया खर्चानुमान गरिएको चलचित्र महोत्सवका लागि बोर्डले एक करोड रुपैयाँ छुट्टयाएको छ । बाँकी रकम प्रदेश सरकार, स्थानीय तह र नेपाल पर्यटन बोर्ड लगायतका संस्थाबाट समेत सहयोगको अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप