शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१४ वर्षीय बालकको शव यात्रामा २१०० स्पोर्टस कार

दुई घण्टाभन्दा बढी समय सहर नै बन्द
बुधबार, ०४ मङ्सिर २०७६, ११ : ५४
बुधबार, ०४ मङ्सिर २०७६

वासिङ्टन । अमेरिकामा एक १४ वर्षीय बालकको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस कार र ७० मोटरसाइकल सामेल भएका छन् । मिसौरी निवासी एलेक इनग्रामकी नाम गरेका ती बालकको क्यान्सरका कारण मृत्यु भएको थियो ।

समाचार एजेन्सीहरुका अनुसार ती बालक स्पोर्टस कारका सौखिन थिए । उनले आफ्नो शव यात्रामा स्पोर्टस कार सामेल भइदिउन् भन्ने अन्तिम इच्छा प्रकट गरेका थिए ।

उनले सामाजिक सञ्जालमा पनि आफ्ना भनाइ राख्दै आएका थिए । उनको अन्तिम इच्छा पूरा गर्नका लागि ‘सिडनिज सोल्जर्स अलवेज’ नाम गरेको एक संगठनले सहयोग गरेको हो । सोही अनुसार उनको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस् कार सामेल भएका हुन् । त्यसैगरी ७० भन्दा बढी स्पोर्टस् बाइक पनि सामेल भएको बताइएको छ ।

शव यात्रामा दुई घण्टा सहर बन्द

क्यालिफोर्निया, इन्डियाना, मिशिगन, फ्लोरिडा, न्यूयोर्कसहित अमेरिकाका विभिन्न सहरबाट स्पोर्टस् कार मालिक आफ्नो कारसहित शव यात्रामा सहभागी हुन मिसौरी आएका थिए । धेरैजसोले आफ्नो सवारी साधन आफैँ चलाएर आएका थिए । केहीले भने आफ्नो सवारीसाधनसहित चालकलाई शवयात्रामा पठाएका थिए ।

शवयात्रामा सहभागी अधिकांशले मृत्यु भएका बालक एलेकलाई चिन्दैनथे । शवयात्रामा सवारी साधनको लस्कर लामो भएपछि मिसौरी सहर दुई घण्टाभन्दा बढी समय बन्द गरिएको थियो ।

एलेकको अन्तिम इच्छा पुरा गर्नका लागि ‘सिडनिज सोल्जर्स अलवेज’ नामक संगठनका प्रमुख दाना क्रिश्चियन मेनलीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको आफ्नै पीडा थियो । उनकी ८ वर्षीय छोरी सिडनीको पनि क्यान्सरका कारण मृत्यु भएको थियो । त्यसैले क्यान्सरकै कारण मृत्यु भएका एलेकको अन्तिम इच्छा पूरा गर्नका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

सीएनएनमा प्रकाशित विवरण अनुसार एलेककी आमा जेनी इनग्रामले फेसबुकमा लेखेकी छन्, ‘हाम्रो प्यारो छोरा केवल १४ वर्ष हामीसँग रह्यो । ईश्वरले हामीलाई थोरै समयका लागि भए पनि एलेकको मातापिता बन्नका लागि रोज्नु भएको रहेछ, उसको विना जीवन कति अधुरो छ भन्ने कुरा ऊ नहुँदा महसुस भइरहेको छ ।’

जेनीका अनुसार सन् २०१५ मा एलेकलाई गम्भीर रोग लागेको थाहा भएको हो । उनलाई हड्डीको क्यान्सरकै एक दुर्लभ रुप मानिने ‘ओस्टियोसारकोमा’ भएको थियो । चार वर्षसम्म रोगसँग लडेका उनको अन्ततः निधन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप