शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

व्यङ्ग्य : धनवाद जिन्दावाद !

बुधबार, ०४ मङ्सिर २०७६, १५ : २३
बुधबार, ०४ मङ्सिर २०७६

पढैया र धनीमानीकी छोरी बिहे गर्नु पनि घामटै रहेछ बा ! ऊ बेलाआमाले त भन्नु भएको थियो– बाबु, ‘धन भएकीभन्दा मन भएकीलाई दुलही रोज्नू, आफूभन्दा धेरै पढेकीभन्दा कम पढेकी खोज्नू, धनभन्दा कुल हेर्न भुल नगर्नू’ । आमाको दिव्यवाणीमा खोक्रो आदर्श ठम्याउने दीननाथ शुभ नाम भएको म मोरो बोक्रो यतिखेर पुर्पुरो समाएर मुटु नै कमाएर थर्र हुँदै दिनहरू काट्दैछु । 

अर्थशास्त्रमा विद्यावारिधि  गरेकी धनमाया र दर्शन शास्त्रमा वर्षौं लगाई । धनमायाको हारै बेचेर गुरुभेटी चढाई । ठसठस कन्दै बल्ल बल्ल डा. को उपाधि ग्रहण गरेको मेरो जोडीको दाम्पत्य,  हनिमुन मनाउने यामदेखि चलेको विवाद कहिले निशादझैँ रुन्छ । कहिले पिचासझैँ बर्बराउँछ । कहिले लग्गुको खुट्टोसरी  धर्मराउँछ भने कहिले डिभोर्ससम्म पुगेर थर्थराउँछ बा ! 

सानैमा स्कुल छँदा कविशिरोमणिको धनमहिमा पढेको थिएँ– ‘तवर्गका अन्तिम वर्ण खालि । पढेर बन्द्यौ तिमी भाग्यशाली । अनि हितोपदेशमा पनि– यस्यार्थास्तस्य मित्राणि, यस्यार्थाः तस्य बान्धवाः । यस्यार्थाः सः पुमान् लोके यस्यार्थाः स च पण्डितः ।।’ जोसित पैसा छ, त्यैसित साथी, बन्धुबान्धव हुन्छन् । उही पुरुषार्थी र पढैया पनि हुन्छ भन्ने सूक्ति पनि कण्ठै थियो । अनि बूढापाकाले भनेका, ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ पनि नसुनेको भने हैन । त्यसैले पनि धनी र शिक्षित जोडी बनाउने हुटहुटी आउँथ्यो मनमनमा बेला बेला । अहिले आएर अर्थशास्त्रकी निष्णात् पण्डित परिन् मेरी जीवन सङ्गीनी, म परेँ पूर्वीय वेदान्त शास्त्रको परमार्थवादी बुज्रुक ! शास्त्रीय, नव शास्त्रीय र विकासवादी अर्थशास्त्रीहरू माल्थस, एडमस्मिथ, रिकार्डो, रविन्स, इन्स, लेभिजहरूले लेखेका पुरानादेखि अभिनवसम्मका ग्रन्थ पानी पारेकी कहाँकी मेरी धनमाया ?

शङ्कराचार्यको ब्रह्मसूत्रलाई गोमूत्र ठम्याउँने र ब्रह्म सत्यं जगत् मिथ्या भन्ने म मोरो परा विद्याको अनुयायी कता ? अनि सह सम्बन्ध टुट्ने चलेन र व्यथा ? उनी भन्छिन् भक्तपुर, म भन्छु भरतपुर, म ताक्छु हिमाल, उनी भन्छिन् तराई पहाड ! हे हरि ! सधैँ खापाड्यौढा ! गुरुले सानैमा भन्नुभाथ्यो– बाबु, दीननाथे ! संसारमा तीन प्रकारका हठलाई टार्न सकिन्न– राजहठ, बालहठ र स्त्रीहठ । बरु हठयोगमा (राजयोगको विपरीत योग– आसन, मुद्रा आदिका माध्यमबाट शरीरलाई धेरै कष्ट दिएर चित्तवृत्तिलाई बाह्य प्रपञ्चबाट हटाई अन्तरमुखी पार्ने योगको एक विधि) बसेर ईश्वर पाइएला तर स्री हठ त त्योभन्दा पनि कष्टसाध्य पो लाग्न थाल्यो गाँठे ? 
वित्त कमाउनै चित्त भएकी, धन आर्जनमै मन दिएकी, द्रव्यमै भव्य महसुस गर्ने, अर्थमै जीवनको अर्थ ठम्याएकी, टकानै सखा र मित्र हो भनेर खुट्याएकी भर्भराउँदी दौलतशास्त्रीसित मेरो केही पितामै चलेन ।

यसो शासक, प्रशासक, डाक्टर, वकिल, प्राध्यापक, शिक्षक, व्यवसायी सबै सबै मीठा विज्ञापनमा ‘मनी इज हनी’ भन्ने अन्तरआसयमा सेवाको ढ्वाङ पिटेर मेवा टिप्नै अभ्यस्त । जता  हेर्यो सबै धनमायाकै अनुगामी ? हे बाबा लौ अब म पनि एनिहाउ दाम कमाउकै मार्गतिर लागेर यतिखेर धनवाद जिन्दावाद ! भन्दै लिपुलेकमा झण्डा गाडेको कोकोहोलो मनस्थितिमा हिजोको दीननाथ आज हीननाथ भएर उनीतिरै लहसिएको छु । अनि व्यास बूढाले पनि भनेका रहेछन्– वित्तमेव कलौ नृणां, जन्माचार गुणोदयः । धर्मन्याय व्यवस्थायां, कारणं बलमेव हि । यसरी  पैसा र बल (ढुसिउँ ढुसिउँ)नै जीवनाधार भएको यो कलहप्रेमी कलियुगमा सलह भएरै डट्न पर्ने रहेछ भन्ने भ्रम– ज्ञानको जालोमा लिप्त नै हुन थालेँ ।  

पुर्खाहरूका धरोहर बनेका उखानले पनि धनको बखानमा धेरै उपाख्यान पस्किएर धनमायालाई बल पुर्याएको कुरा उखानकोश हेर्दा पुष्टि हुन्छ । ल हेरौँ कोण–कोणबाट धन महिमा– ‘धन कमाइ धाक, साथी कमाइ लाख । धनका धेरै हात, ऋणमा लातै लात । धनका पखेटा हुन्छन् । धन देख्दा महादेवको पनि तीन नेत्र । धन नभएको छोरा र रूप नभएकी छोरी के काम ? धन बढेको राम्रो, मन बढेको नराम्रो ।  धन भए त बर्जु मेरी जोई । धन भए धर्म हुन्छ । धन भए भाँती–भाँती, छोरा भए नाति पनाति । धन भए मानिस, धन नभए पशु । धन राख्ने ठाउँ हुन्छ, मन राख्ने ठाउँ हुँदैन । धनले धन कमाउँछ । धनले धन कमाउँछ, ऋणले ऋण थप्छ । धन हुनेका कुरा ठूला, मन हुनेका आँखा ठूला । धनीका घरमा रुपियाँ थुप्रिए, गरिबका घरमा उपियाँ उफ्रिए । धनीको गाली पनि मीठो । धनीको नोकर साहूसमान । धनीको लुगा धोइधोइ फाट्यो, गरिबको लुगा मयलले काट्यो । धनीको शरण, दुःखको हरण । गङ्गाको मरण, हरिको चरण । धनीलाई स्याहार, गरिबलाई तिरस्कार । धनीले दिनुपर्दैन, बलियाले हान्नु पर्दैन । धनीलाई दसैँ, गरिबलाई काल । हाम्रा नीति वचनहरू पनि धनको बाजा बजाएर यसरी कुर्लिएका छन्– 

धनैर्निष्कुलीनाः कुलीनाः भवन्ति । धनैरापदं मानवाः निस्तरन्ति ।। धनेभ्यः परो बान्धवो नास्ति लोके । धनानि अर्जयध्वं धनानि अर्जयध्वम् ।।  मतलव धन भएपछि अकुलीन पनि कुलीन हुने, आपद्का मानिस पार पाउने, धन  संसारमा बन्धुबान्धवहरू नै हुने, त्यसैले धन आर्जन गर्न जरुरी छ । हुन त धनविरुद्ध पनि उखान र नीतिका बखान नभेट्टाइने त हैन । अस्ति भर्खर मुहारिकामा मित्र सोम निरौलाले लेख्नुभएको पङ्क्ति याद आयो– सम्पत्तिका धनी मान्छे, मित्रतामा गरिब छन् । ऐश्वर्य बर्सिँदा सुक्छ मित्रताको प्रवाह झन् । पैसा खास भएदेखि, मान्छे बन्दछ जोकर । मान्छे खास भएदेखि, धन बन्दछ नोकर । अनि रामकृष्ण परम हंसले पनि भन्नु भो– धनबाट तिमीले सिर्फ रोटी पाउन सक्छौ, यसलाई नै आफ्नो उद्देश्य र साधन नठान । देवकोटा बुढाले पनि ‘हातको मैला सुनका थैला के गर्छ धनले ?’ साग र सिस्नु खाएको बेस आनन्दी मनले । धन  र मन चञ्चल हुन्छ । धन हुनेको मन छैन, मन हुनेको धन छैन । धनी मर्छ धनकै पीरले । धन लुतोभन्दा पनि चिलाउँछ । धनले मात्रै हुने भए सुदामाको कति धन थियो र ? धनको मुख रातो ।’

धन नै सर्वस्व ठान्ने विरुद्ध यस्ता थुप्रै उखान पनि नगर्जेका भने हैनन् । तर संसार चलाउन धनको भूमिका अहं देखियो यो कली कालमा । त्यसैले त अहिले शिक्षा, स्वास्थ्य, चाडवाड, संस्कार, संस्कृति, धर्म, राजनीति, समाजनीति सबैमा धनले खुट्टा घुमाएर पुठ्ठा नचाइरहेको छ । त्यसैले धनलाई क्यै हैन भन्ने मजस्ता मान्छे परिवर्तन भएर धनमायाको पछि पछि दौडिएर काया नै छोड्न तयार हुने मूर्ख वृत्तिमा लागेको लाग्यै छु । विचौलिया, माफिया, भ्रष्टाचारी, आततायी, बलात्कारी सबै प्रणम्य र वन्दनीय धन भएमा हुने भयकारी रोग समाजमा झन् झाङ्गिदै जाँदा दिक्क छु । रै पनि मेरी धनमायाको धनवादमा स्वरमा स्वर मिलाएर भनिरहेको छु, धनवाद जिन्दावाद ! 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बद्रीप्रसाद दाहाल
बद्रीप्रसाद दाहाल
लेखकबाट थप