बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नियात्रा : शिवपुरीमा बाबाहरूको दर्शन

बुधबार, ०४ मङ्सिर २०७६, १५ : ३९
बुधबार, ०४ मङ्सिर २०७६

 

हाम्रो घरमा बिहान पानी, चिया गेडागुडी सबै परिवारसँगै बसेर खान्छौँ । विभिन्न विषयमा कुरा हुन्छन् । मलाई राम्रो र रमाइलो लाग्छ । यस्तैमा कार्तिक मसान्तको दिन बिहान हामी डाइनिङमा बसेपछि बाबा रामचन्द्र घिमिरेले भन्नुभयो– ‘आज हामी शिवपुरी जाऊँ, टोड्के बाबा लगायतको दर्शन गरौँ । मम्मी गङ्गादेवी घिमिरेले भने लाजिम्पाट जाने कार्यक्रम पहिले नै तय गरिसक्नु भएको रहेछ । घरबाट निस्कँदा मम्मी पहिला निस्कनु भयो । त्यसपछि हामी निस्कियौँ ।

हामी घर धापासीबाट बिहान ७ः३० बजे बाबा, भाइ– शाश्वत र म शिवपुरी यात्राका लागि तयार भयौँ । हाम्रो यात्राको मुख्य उद्देश्य शिवपुरीमा तपस्यागरी सिद्धि प्राप्त गर्नुभएको शिवपुरी बाबाको तपोभूमि, त्यसैगरी सिद्ध टोड्के बाबाको दर्शनका साथै अन्य बाबाहरुको दर्शन गर्नु थियो । टोड्के बाबाले शिवपुरी बाबाको मूर्ति स्थापना गर्नुभएको ५ वर्ष पुगेको उपलक्ष्यमा राख्नुभएको भण्डारामा सहभागी हुनु थियो ।

त्यसैले हामी भगवती मन्दिर, गोल्फुटार, स्पेसल, खड्का भद्रकाली हुँदै बूढानीलकण्ठ मन्दिरलाई दाहिने पारेर मास्तिर शिवपुरीतर्फ उक्लियौँ । हामीलाई शिवपुरी जलाधारको गेटभन्दा केही तल बाबाको साथी अरुण ठकुरीहरु कुरिरहनु भएको रहेछ । त्यहाँ श्रीकृष्ण हमाल, सुजन गिरी, रामहरि हमाल र श्यामकृष्ण पण्डितहरु पनि माथि शिवपुरी जान तयार हुनु भएको रहेछ ।

बाबा, भाइ, अरुण अङ्कल र म हाम्रो गाडीमा बस्यौँ । अन्य अङ्कलहरु स्थानीय बासी भएको हुँदा आफ्नो साधनमा हाम्रो पछिपछि आउनुभयो । करिब १५ मिनेटको यात्रापछि हामी शिवपुरी नार्गाजुन नेसनल पार्कको मूलगेटबाट प्रवेश गर्यौँ । अरुण अङ्कल समितिको मानिस भएको हुँदा हाम्रो गाडीलाई शिवपुरी क्षेत्रमा जानका लागि अनुमति मिल्यो । त्यसपछि आधा घण्टाको मोटर यात्रापछि हामी बुद्ध गुम्बा नजिक मोटर रोक्यौँ । सिँडी चडेर उक्लेपछि हामी आनी गुम्बा (नाइ गुम्बा)मा पुग्यौँ । गुम्बामा बसेर केही तस्बिर लियौँ, त्यहाँ रहेका भवनहरुको अवलोकन गर्यौँ । बाटोमा खानका लागि चाउचाउ, लेज, चकलेट, स्प्राइट र पानीका केही बोतल किनेका थियौँ । गुम्बाको वरिपरि हामीले धेरै सङ्ख्यामा रहेका बाँदरहरु देख्यौँ । बाँदरहरु सबै आआफ्नो काममा व्यस्त थिए, एउटा बाँदरले आफ्नो बच्चालाई काखमा लपक्क लगाएर हाम्रो अगाडिबाट हिँड्यो । भाइले सन्तानको बात्सल्यता देखाएको त्यो बादरको तस्बिर लिए हामीले एकछिन हेरिरह्यौँ ।

हाम्रो टोली सिँडी चढेर शिवपुरीको उकालो लाग्यौँ । हामी हिँड्ने बाटोमा ठिक्कका सिँडी बनाइएको रहेछ । बाटोमा चकलेट खाँदै, ठाउँ ठाउँमा बस्दै, तस्बिर खिच्दै शिवपुरीको सुन्दरतालाई अवलोकन गर्दै त्यहाँ पाइने जीवजन्तु, चराचुरुङ्गी, बोटबिरुवाहरुको बारेमा अरुण अङ्कलबाट जानकारी दिँदै यात्रा गरिरह्यौँ ।

बाटोमा बाबा, आमा र छोरी भएर आएका यात्रुहरु भेट भए । छोरीलाई उकालो उक्लँदा गाह्रो भएछ । त्यसपछि उहाँहरु फर्कंदै हुनुहुँदो रहेछ । हामीलाई देखेर फेरि जाने कि भन्दै हुनुहुन्थ्यो । त्यहाँ अरुण अङ्कल एकछिन बस्नुभयो । उहाँहरु तल नै फर्कनु भएछ । अरुण अङ्कल पनि हामीलाई भेट्टाउन आइहाल्नुभयो ।

हामी हिँड्दै गर्दा मूलाबारी आइपुग्यो । यहाँ पहिला ठूलै बस्ती थियो रे ! अहिले निकुञ्ज बनेको छ । यहाँ पनि हामीले फोटो खिच्यौँ । त्यसपछि केही माथि उक्लियौँ, पहिला बस्ती रहेको ठाउँ नेपाल सरकारले जग्गा धनीलाई क्षतिपूर्ति दिएर अहिले खालि चौर मात्र बनेको छ । हामीले तलबाट किनेर ल्याएको खाने कुरा यही चौरमा बसेर खायौँ ।  सबैले बाँडेर खाँदा खाने कुरा पनि मीठो भयो । अलिअलि लागेको थकाइ पनि मेटियो । फेरि हामी उकालो लाग्यौँ ।

केही पाइला अगाडि बडेपछि शिवपुरी निकुञ्जका प्रमुखसहित सेनाका मान्छेहरु पनि टोड्के बाबाले आयोजना गर्नुभएको भण्डारामा सहभागी हुने र निकुञ्जको हेरचाह पनि गर्ने भनेर आउनुभएको रहेछ । बाबा र उहाँहरुले परिचय गर्नुभयो । उहाँहरुसँग हामीले वागद्वारमा सामूहिक तस्बिर पनि खिच्यौँ ।

शिवपुरी जान केही ठाउँमा भर्याङ चढेको जस्तो ठाडै उकालो पनि रहेछ । उकालो, तेर्सो हुँदै हामी मूलाबारी, भञ्ज्याङ, देउराली, वागद्वार पुग्यौँ । एकदमै रमाइलोका साथ शिवपुरी बाबाको मूर्ति स्थापनाको ५ वर्ष पुगेको अवसरमा टोड्के बाबाले आयोजना गर्नुभएको भण्डारामा सहभागी हुन पुग्यौँ । सयौँ मानिसहरुको उपस्थिति तिनका लागि खाना बनाउन मानिसहरु आफै सरिक भइरहनु भएको थियो । एकअर्कालाई सहयोग गरिरहेको देखेर मन आनन्दित र हर्षित भयो । खाना बनाउनेमध्ये मेरो बीएस्सी पढ्दाका साथी सन्तोष पनि रहेछन् । मैले उनलाई सोधेँ, तिमी साधु बन्न आएको हो कि आजको कार्यक्रमका लागि ? उनले भने आजको कार्यक्रमका लागि हिजो आएको हुँ, आज फर्कने हो । लामो समयपछि साथी भेट्दा रमाइलो भयो । साच्चिनै यो वातावरण एकदमै रमणीय देखिन्थ्यो ।

हामीले आश्रममा पुगेर बाबाको दर्शन गर्यौँ । टोड्के बाबाको आश्रममा बसेर मातासँग कुरा गर्यौँ । उहाँले जडीबुटी हालेको तातो पानी खान्छौँ भनेर सोध्नुभयो । बाबा रामचन्द्रले हामीले खान मिल्ने भए खान्छौँ भन्नुभयो । उहाँले पानी थपेर पकाउँदै हुनुहुन्थ्यो । पाकेर दिने बेलामा टोड्के बाबा आइपुग्नु भयो । उहाँले गिलासमा कित्लीबाट राखिदिनुभयो । माताले हामीलाई दिनुभयो । हामीले मीठो चिया खायौँ । एकछिनपछि प्रसाद ग्रहण गर्ने कुरा भयो । प्रसादमा पुरी, मालपुवा, तरकारी, अचार गरेर लियौँ । प्रसाद लिइसकेपछि केहीबेर टोड्के बाबासँग कुरा गरियो । बाबा प्रसन्न देखिनु हुन्थ्यो ।

टोड्के बाबाले कुराकानीको क्रममा सबैको सहयोगबाट भण्डारा चलेको हो भन्नुभयो । सबै शिवपुरी बाबाको तपस्याको फल हो भण्डारा । भगवानले तिमी चिताऊ म पुर्याउँछु भन्नु हुन्छ, त्यसैले मैले चिताएको भण्डारा उहाँले पूर्ण बनाइदिनुभयो । संसार विचित्र छ । मानिससँग मासु खाने दातको सृष्टि भएको छैन तर पनि ऊ खान्छ । जीवनमा हामीले तालिका बनाउनुपर्छ । त्यसले हाम्रो उन्नति गर्छ । बाबाको दैनिकीको तालिका छैन । समय र परिस्थिति अनुसार चल्नु पर्छ भन्नु हुन्छ । आश्रमको वातावरण सुन्दर, शान्त र रमणीय छ । चराचुरुङ्गी र जनावर मात्र रहने शान्त ठाउँमा हामी जस्ता सयौँ, मानिस आजका लागि उपस्थित भएका छौँ । सबैलाई खाना खुवाउन बाबा आफै लाग्नुभएको छ । अवलोकन गरिरहनु भएको छ, हामी उहाँलाई हेरेर दङ्ग छौँ ।

शिवपुरी नागार्जुन नेसनल पार्क सन् २००२ मा स्थापना भएको हो । शिवपुरी डाँडाको उचाइ २७३२ मिटर छ । यहाँ विभिन्न प्रजातिका जनावरहरु पाइन्छन् । बाघ, बँदेल, बाँदर, काठे भालु, चितुवा, खरायो, आदि छन् । कालिज, माहुरी, मुनाल, कोइली, बनकुखुरा जस्ता चराचुरुङ्गीले बनको शोभा बढाएका छन् । यहाँ थुप्रै किसिमका बनस्पतीहरु पाइन्छन् । चुत्रो, बाँझ, खस्रु, अल्लो, निगालो, कटुस, विभिन्न रङका गुराँस आदि पाइन्छन् । ठाउँ ठाउँमा रहेका ससाना झरनाहरुले त्यहाँको वातावरण अझ रमणीय बनाएको छ ।

शिव भगवान आएर यस भूमिमा तपस्या गर्नु भएको बाबाहरु भन्नु हुन्छ । शिवले तपस्या गरेकाले नै यो ठाउँको नाम शिवपुरी रहेको हो । आश्रम नजिकै शिवलिङ्ग छ । शिवपुरी बाबा यहाँ आउनुभन्दा पनि अघि शिवलिङ्ग भएको अनुमान छ । यसको विषयमा अरुण अङ्कलले हाम्रो बाबासँग केही कुरा गर्नुभयो । वास्तवमा शिवपुरी प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हामी जस्ता सबै मानिसहरुको आकर्षण केन्द्र विन्दु बनेको छ ।

वागद्वार बागमती नदीको मुहान हो । वागद्वारमा शिवलिङ्ग पनि छ । हरेक वर्ष चैत मसान्तको दिनबाट वैशाख १ गतेसम्म मेला लाग्ने गर्छ । यहाँ भक्तजनहरुको ठूलो घुइँचो हुन्छ । चैत मसान्तको दिन भक्तजनहरु वागद्वार गएर रातभर जाग्राम गर्छन् उठेर नुहाउँछन्, पूजा गर्छन् । त्यसपछि शिवपुरी टुप्पोमा पुगेर पूजा गर्छन् । अनि विष्णुपादुका पुगेर पूजा गर्छन् र सपन तीर्थमा १ गते दर्शन गरेर मेला भर्छन् अनि विस्केट जात्रामा सहभागी हुन्छन् । यो प्रचलन लामो समयदेखि चलि आएको छ ।

वागद्वारभन्दा माथि टोड्के बाबाको आश्रम रहेको छ । ६ वर्षसम्म रुखको टोड्कामा बसेर तपस्या गरेको हुनाले उहाँलाई टोड्के बाबा भनिएको हो । शिवपुरी बाबा, चन्द्रेश बाबा र प्रजापति बाबाले पनि त्यही टोड्कामा बसेर तपस्या गर्नुभएको र सिद्धि प्राप्त भएको बाबाहरु बताउनु हुन्छ । यहाँ अहिले टोड्के बाबा र थापा बाबा हुनुहुन्छ । टोड्के बाबा यस भूमिमा आएर तपस्या गर्नु भएको पनि २७ वर्ष भएछ ।

अन्त्यमा बाबासँग बिदा मागेर १२ः१५ मा हामी तल झर्नका लागि अघि सर्यौँ । बाटोमा धेरै मानिसको आवतजावत देखिन्थ्यो । त्यसमध्ये अधिकांश युवा युवती थिए । कोही साथीसँग कुरा गर्दै फोटो खिच्दै उक्लँदै थिएँ । अधिकांश युवाहरुको हातमा लठ्ठी देखिन्थ्यो । झर्दै गर्दा बाबाले मलाई भन्नुभयो, तिमीले लठ्ठी पनि टेकिनौँ । तिमी सगरमाथाको बेसक्याम्पसम्म सजिलै पुग्न सक्छ्यौ । बाबाको कुरा सुनेर मेरो मन प्रसन्न भयो ।

शनिबार बिदाको दिन भएकाले पनि मानिसहरु धेरै नै आएको देखियो । अर्को कुरा बाबाको भण्डारा भएको हुँदा आज निकुञ्जमा प्रवेश शुल्क नलिइने गरेको रहेछ । अघिल्लो दिन शुक्रबार राति बास बस्ने गरी आउने र शनिबार आउनेका लागि प्रवेश शुल्क निःशुल्क गरिएको रहेछ । अन्य समयमा प्रवेश शुल्क तिरेर मात्र जान पाइने रहेछ । यो कुरा हामीलाई अरुण अंकलले भन्नुभयो । साच्चिनै अरुण अङ्कलसँगको यो यात्राले शिवपुरी बारे हामीले धेरै जानकारी लिने अवसर मिल्यो ।

समग्रमा हाम्रो शिवपुरीको यात्रा टे«किङको रूपमा रह्यो । विदेशी पर्यटकहरु, विद्यार्थीहरु र युवाहरुको लागि ट्रेकिङ स्पट पनि हो शिवपुरी । मेरा लागि यो नौलो अनुभव हो । सबैजनासँग नयाँ ठाउँ जान पाउँदा, बाबाहरुको दर्शन गर्न पाउँदा र शिवपुरीको प्राकृतिक सुन्दरतालाई नजिकबाट अगाल्न पाउँदा एकदमै रमाइलो अनुभूति गरिरहेकी छु ।

एमएससी केमेस्ट्री, त्रिचन्द्र कलेज, काठमाडौँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पूर्णिमा घिमिरे
पूर्णिमा घिमिरे
लेखकबाट थप