शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जर्मनीको कम्युनिष्ट पार्टीसँगको  सम्बन्ध घनिष्ट बनाइन्छ: प्रवक्ता श्रेष्ठ

बुधबार, ०४ मङ्सिर २०७६, २२ : ५०
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल र जर्मनीको कम्युनिष्ट पार्टीबीच लामो र घनिष्ट सम्बन्ध रहेको बताएका छन् । नेकपाको विदेश विभागको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के) का प्रतिनिधिबीच आज काठमाडौँमा भएको अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा उनले अहिलेको सम्बन्धलाई अझै राजनीतिक र वैचारिकरुपमा प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रवक्ता श्रेष्ठले मुलुक समाजवादको नयाँ मोडलका साथ अघि बढेको उल्लेख गर्दै यसले विश्वमा नै नमूना दिने प्रयास थालेको बताए । डेमोक्रेटिकको नाममा देखाउने प्रजातान्त्रिक पार्टी रहेको बताउँदै उनले नेपालमा नयाँ संविधान जारी भएर तीनै तहको सरकार गठन भई सङ्घीयता कार्यान्वयनको चरणमा गएको उल्लेख गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ मुलुक आर्थिक विकासको चरणमा अघि बढेकोसमेत उनले बताए । 

नेकपा र जर्मनीको कम्युनिष्ट पार्टीबीच छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले कार्यक्रमको उद्देश्यबारे प्रष्ट्याएका थिए । जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के) ले त्यहाँको संसद्मा रहेका ७०९ सदस्यमध्ये ६९ सिट जितेको छ । जर्मनीको छ वटा पार्टीमध्ये यसको स्थान पाँचौँ रहेको रिजालले जानकारी दिए । उसले चुनावमा नौ प्रतिशत मत हासिल गरेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप