बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रेस रिभ्यू : नेकपाको सहमतिमा राष्ट्रपति साक्षी

मेडिकल कलेजलाई बढी शुल्क असुल्न केयुकै पत्र
बिहीबार, ०५ मङ्सिर २०७६, ०७ : ०९
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौँ । आज मंसिर ५ गते बिहीबार आजका राष्ट्रिय दैनिक पत्रिकाहरुमा मन्त्रिपरिषद् पुनर्गठन र नेकपामा नयाँ कार्यविभाजनको समाचारले प्राथमिकता पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् प्रधानमन्त्रीले बुधबार राष्ट्रपति कार्यालयमा बुझाएको नयाँ सूची अनुसार ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याएका छन् । घनश्याम भुसाल कृषि मन्त्रालय, बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखराज भट्टलाइ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रामेश्वर राय यादवलाइ श्रम रोजगार तथा सामाजिक र पार्वत गुरुङलाई महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने गरी राष्ट्रपति कार्यालयमा नाम पठाइएको छ । त्यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय खोसिएको छ । यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । त्यस्तै कानुनमन्त्री भानुभक्त ढकालको पनि मन्त्रालय खोसिएको छ । उनलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

राष्ट्रपति ‘साक्षी’

नागरिक दैनिकका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीको रोहबरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल कम्युनिस्ट पार्टीको कार्यकारी अध्यक्ष पद दिइएको छ । पार्टी एकीकरण भएको डेढ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच कार्यविभाजन भएको समाचारमा उल्लेख छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार र पार्टी एक–एक जनाले सञ्चालन गर्ने गरी कार्यविभाजन भएको हो । कार्यविभाजनअनुसार सरकारको नेतृत्व पाँच वर्षसम्म केपी शर्मा ओलीले नै गर्ने भएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

कान्तिपुर दैनिकका अनुसार ओली र दाहालबीच नयाँ सम्झौता हुने वातावरण बनाउनमा राष्ट्रपति विद्यादेवि भण्डारीको भूमिका रहेको समाचार प्रकाशित गरेको छ । ‘ओली र दाहालले बुधबार राष्ट्रपति भण्डारीको उपस्थितिमा आफ्नो कार्यविभाजनसम्बन्धी सहमति गर्नुभएको हो,’ घटनाक्रमका जानकार नेकपाका एक नेताले भने । एक्ला एक्लै गरिएका विगतका समझदारी कार्यान्वयनमा ओलीले उदासिनता देखाएपछि दाहालले भरपर्दो साक्षाी खोजेका थिए । लगत्तै उनीहरुले राष्ट्रपति भण्डारीलाई भेटेर सहमति गरे ।

नागरिक दैनिकका अनुसार यसअघि वामदेव गौतमलाई उपाध्यक्ष बनाउने, ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुख बनाउनेजस्ता विषयमा राष्ट्रपति भण्डारीले दाहाल अतरिक्त महासचिव विष्णु पौडेल, पोखरेल र गौतमलाई एकै ठाउँ राखेर सहजीकरण गरेकी थिइन् ।

नयाँ पत्रिका दैनिकले नख्खु कारागारभित्र चौकीदार र नाइकेको ठगीधन्दाबारे समाचार प्रकाशित गरेको छ । बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ । नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते तामाङ र प्रकाश कार्कीले पछिल्लो पाँच महिनामा कारागारभित्र र बाहिर गरी ७४ लाखभन्दा धेरै ठगी गरेका हुन् ।

त्यस्तै, पत्रिकाले ‘घुमुवाले बदनाम हुँदै नेपाल प्रहरी’ शीर्षकमा समाचार प्रकाशित गर्दै गोप्य रुपमा सूचना संकलन गर्नुपर्ने घुमुवा प्रहरी लुटपाट, हप्ता असुलीजस्ता अपराधमा संलग्न हुने गरेको समाचार पनि प्रकाशित गरेको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन्, ‘इन्ठेलिजेन्समा खटिने प्रहरीको बदमासी गर्दा सम्बन्धित कार्यालयको कमान्डरको गल्ती भएको मानिन्छ । उनीहरुलाई नियमन गर्ने जिम्मेवारी सम्बन्धित कमान्डरकै हुन्छ । सादा पोसाकमा खटिने प्रहरीले बदमासी गर्नु भनेको कमान्डरकै कमजोरी हो ।

नागरिक दैनिकले ‘हराएको मूर्ति अमेरिकी संग्रहालयमा’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन्। उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो। उक्त मूर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो। कमलको फूलमा उभिएको उक्त मूर्तिले दुई भगवान्को प्रतिनिधित्व गर्छ। मूर्तिको दायाँ भागले भगवान् विष्णु (नारायण) को प्रतिनिधित्व गर्छ भने र बायाँ भागमा बैकुण्ठ कमलजा ९विष्णुको श्रीमती० को प्रतिनिधित्व गर्छ। १५औं शताब्दीमा बनेको उक्त मूर्ति १९८४ मा चोरी भएको बाङदेलले उल्लेख गरेका छन्।

पत्रिकामा मेडिकल कलेजलाई बढी शुल्क असुल्न काठमाडौँ विश्वविद्यालयले परिपत्र गरेको समाचार पनि प्रकाशित छ । सरकारले तोकेभन्दा बढी शुल्क उठाउन केयुले आफूसँग सम्बन्धन प्राप्त मेडिकल कलेजलाई परिपत्र गरेको पाइएको हो । तर, काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा उक्त विश्वविद्यालयलाई शुल्क निर्धारण गर्ने अधिकार छैन । कानुनले दिँदै नदिएको अधिकार प्रयोग गरी विश्वद्यिालय पदाधिकारीले आफूसँग सम्बन्धन पाएका मेडिकल कलेजलाई बढी शुल्क लिन परिपत्र गरेका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा सरकारले गैरकानुनी ढङगमा नेपाल बस्दै आएका तीन उत्तर कोरियाली नागरिकलाई निष्कासन गरेको समाचार प्रकाशित गरेको छ । पर्यटक भिसामा आएका तीनै जना कम्प्युटर इन्जिनियर हुन् । साउन ७ गतेस्म्म पर्यटक भिसामा रहेका उनीहरु त्यसपछि गैरकानुनी रुपमा बसेका थिए । उनीहरुलाई अध्यागमन विभागले गत साउन २८ निष्कासन गरेको थियो । नेपालमा अमेरिकीबाहेक अन्य मुलुकका नागरिक पर्यटक भिसामा १ सय ५० दिनभन्दा बढी बस्न पाउँदैनन् । उनीहरु ललितपुर सातदोबाटोमा उत्तर कोरियाली लगानीमा खोलिएको हिमाल चिल्बी नामक आइटी कम्पनीमा काम गर्दै आइरहेका थिए ।

कान्तिपुर दैनिकमा सरकारले टुटल र पठाओलाई फेरि रोक लगाएको समाचार प्रकाशित छ । सरकारले टुटल र पठाओलाई मोटरसाइकलमा यात्रु ओसार्न रोक लगाएको हो । २७ वर्षअघि जारी यातायात व्यवस्था ऐन, २०४९ मा भएको व्यवस्था प्रगोग गरी यात्रु ओसारे कारवाही गर्ने चेतावनी यातायात व्यवस्था विभागले दिएको समाचारमा उल्लेख छ । विभागले मंगलबार टुटल र पठाओको नाम नलिइ सार्वजनिक सूचना जारी गरेर राइड सेयरिङ सेवामाथि रोक लगाएको हो । निजी प्रयोजनका सवारी साधनलाई सार्वजनिक यातायातका रुपमा प्रयोग गरेको पाइएका कारवाही गर्ने सूचनामा उल्लेख छ ।

पत्रिकाले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई आफूअनुकूल बनाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशलाई प्रमुख प्रतिपक्षी काँग्रेस र संविधानविद्हरुले कानुनी शासनविपरीतको कदम भनी टिप्पणी गरेका छन् । परिषद्मा विपक्षीको प्रतिनिधित्वलाई निस्तेज पार्न खोजिएको भन्दै काँग्रेसले आपत्ति जनाएको समाचारमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप