बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मध्य–पूर्व क्षेत्रमा इरानसँग सबैभन्दा धेरै मिसाइल छ: पेन्टागन

बिहीबार, ०५ मङ्सिर २०७६, १८ : ४०
बिहीबार, ०५ मङ्सिर २०७६

एजेन्सी । अमेरिकाको रक्षा मन्त्रालयले जारी गरेको एक रिपोर्टअनुसार मध्य–पूर्वका देशहरुमध्ये इरानसँग सबैभन्दा धेरै मिसाइल छ । विश्वभरका सैन्य सूचना संकलन गर्ने अमेरिकी गुप्तचर संगठन ‘डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए)’ ले मंगलबार सार्वजनिक गरेको ‘इरान सैन्य शक्ति’ नामक रिपोर्टमा उक्त कुरा उल्लेख छ ।  

यो रिपोर्टअनुसार रणनीतिक हिसाबमा अमेरिका, इजरायल र साउदी अरबसँग टक्करमा ल्याउनको लागि इरानले ब्यालेष्टिक मिसाइललाई आफ्नो हतियार संग्रहमा सामेल गरेको छ ।  रिपोर्टअनुसार प्रतिबन्धका कारण इरानले आफ्नो वायु सेनालाई आधुनिकीरण गर्न सकेन तर उसले हतियार वृद्धि गर्नको लागि धेरै लगानी गरेको छ । 

डीआईएका अनुसार ‘इरानले विस्तृत मिसाइल प्रणाली निर्माण कार्यक्रम पछ्याइरहेको छ र यो क्षेत्रमा हतियारको संख्या कम गर्नको लागि अन्तर्राष्ट्रिय कोसिसको बाबजुद आफ्नो हतियार लगातार बढाइरहेको छ ।’

‘इरानसँग २००० किमीसम्म मार हान्न सक्ने मिसाइल’

रिपोर्टमा इरानको मिसाइलबारे भनिएको छ, ‘इरानसँग छोटो दूरीसम्म मार हान्न सकिने, मध्यम–दूरीसम्म मार हान्न सकिने र लामो दूरीसम्म मार हान्न सकिने ब्यालेष्टिक मिसाइल छ । इरानको मिसाइल उसको सिमानाभन्दा २००० किमी दुरीसम्म सटिक मार हान्न सक्षम छ ।’

त्यस्तै रिपोर्टअनुसार इरानले अहिले क्रुज मिसाइल पनि बनाइरहेको छ, जुन कम उचाईबाट उडन् सक्ने र आवश्यक परेमा जुनसुकै दिशामा मार हान्न सक्छ ।  इरानले दक्षिणी तटमा क्रुज मिसाइल तैनाथ गरेको छ जुन ३०० किमीसम्म दूरीमा रहेका पानी जहाज वा अन्य कुनै जहाजमाथि मार हान्न सक्छ । 

इरानले समुन्द्रभित्र कम से कम ५००० बारुदी सुरुङ बनाएको छ, जो दवाव महसुस हुदाँ विस्फोट हुन्छ । त्यस्तै साना डुङ्गा प्रयोग गरेर पनि उसले पर्सियाली खाडि र स्ट्रेट अफ हरमुजको बीच भागमा बारुदी सुरुङ लगाइएको छ ।  

रिपोर्टले सन् १९७९ मा सम्पन्न इस्लामी क्रान्तिपछि इरानको धार्मिक मामिलाका अतिरिक्त रक्षा र राजनीति मुद्दासमेत सर्वोच्च धार्मिक नेताको हातमा रहेको तथ्य उल्लेख गरेको छ ।   इस्लामिक क्रान्तिअघि सत्तामा रहेको पल्ववी राजाहरुको अमेरिकासँग एकदमै सुमधुर सम्बन्ध थियो । सन् १९५३ मा सत्तामा आएका राजा मोहम्मद रेजा शाहले अमेरिकाको सहयोमा इरानको सेनालाई सबल बनाउने कदम उठाएका थिए । 

सन् १९६० देखि सन् १९७० बीचमा इरानले अमेरिकासँग ठूलो परिमाणमा हतियार किन्यो । त्यस अवधिमा इरानले एफ–४, एफ–५, एफ–१४ विमान, एएच–कोबरा अट्याक हेलिकप्टर, एम–६० तोप लगायत कयैन मिसाइल किनेको थियो । 

सोही अवधिमा इरानले ब्रिटेन, फ्रान्स र तत्कालिन सोभियत संघसँग समेत हतियार किनेको थियो । तर पछिल्लो समयमा इरानले हतियार किन्ने देश फेरिएको रिपोर्टले जनाएको छ । रिपोर्टअनुसार इरानले अहिले उत्तर कोरिया र चीनसँग हतियार किनिरहेको छ ।  

अमेरिकाको सुरक्षा गुप्तचर विभागमा इरान–विज्ञ रहेका क्रिश्चियन स्याण्डर्सको विचारमा इरानमाथि लागेको हतियार प्रतिबन्ध हटाइयो भने त्यसले पश्चिमी शक्तिलाई असर गर्न सक्छ ।  स्याण्डर्सले भने, ‘इरानमाथि हतियारको खरिदलाई लिएर लागेको प्रतिबन्ध सन् २०२० अक्टोबरमा अन्त्य हुनेछ । त्यसपछि इरानले ठूलो परिमाणमा हतियार भण्डार गर्न सक्छ ।’

संयुक्त राष्ट्रसंघले सन् २००६ डिसेम्बरमा इरानलाई हतियार किन्न प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध गर्दाका बुँदामा परमाणु सम्झौता लागू भएको पाँच वर्षपछि मात्र त्यस्तो नियन्त्रण अन्त्य हुने बताइएको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रपति भएको समय अमेरिका,चीन,फ्रान्स, जर्मनी र रुसजस्ता विश्वशक्तिसँग इरानले परमाणु सम्झौता गरेको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस सम्झौताबाट पछि हट्ने निर्णय गरे । 

‘अर्थतन्त्र सबल बनाएर प्रतिबन्धलाई प्रतिवाद’

इरानले इरान–इराक युद्धको पश्चिमी देशले इराकलाई सघाएपछि आफूले सैन्य सबलीकरणमा जोड दिएको बताउने गरेको छ ।  इरानले सैनिककरणमा जोड दिनुको अर्को कारण पनि छ । मध्य–पूर्वकै अर्को देश इजरायल र इरान एकअर्काका कट्टर शत्रु हुन् । दुवै एक अर्काको शासनलाई स्वीकार्दैनन् । 

इजरायलले गोप्य रुपमा परमाणु कार्यक्रम संचालन गरेको विश्व सामु ओपन सेक्रेटजस्तै छ । यस्तोमा इरान पनि परमाणु शक्ति हासिल गर्न चाहन्छ ।  इरानका सर्वोच्च नेता आयतोल्लाह अली खोमेनीले पटक–पटक अमेरिकाले भविष्यमा इरानमाथि थप प्रतिबन्ध लगाउन सक्ने सम्भावना रहेको र त्यसको लागि इरान तयार रहनुपर्ने बताउँछन् ।  

नोभेम्बर १९मा राजधानी तेहरानमा व्यवसायीहरुको एक समूहसँग कुराकानी गर्दै खोमेनीले भनेका थिए, ‘इरानमाथि थप केही समय प्रतिबन्ध लागिरहन्छ । प्रतिबन्ध तत्कालै अन्त्य हुन्छ भन्ने आशा गर्न हुँदैन । ’ उनले अगाडि भने, ‘मुख्य हामी आफैं यो देशमाथि लागेको प्रतिबन्धविरुद्ध एक हुनुपर्छ । हामीले देशभित्र उत्पादन बढाए मात्र हामी प्रतिबन्धलाई असफल बनाउन सक्छौं ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप