शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवको मन्त्रालय सुनसान, कार्यकक्ष अगाडि कागजको ‘नेमप्लेट’

शुक्रबार, ०६ मङ्सिर २०७६, ११ : ५६
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौँ । नवनियुक्त मन्त्रीहरु शुक्रबार आ–आफ्नो मन्त्रालय पुगेर शुभचिन्तक तथा कार्यकर्ताको बधाइ बटुलिरहँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय भने सुनसान देखिएको छ ।

मन्त्रिपरिषद पुनर्गठनका क्रममा उपप्रधानमन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी हेरफेर हुँदा विदेश भ्रमणमा रहेका उपप्रधानमन्त्री यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पद बहाली गर्न बाँकी छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार मन्त्रालयमा धुमधामका साथ स्वागत हुँदा कानुन, न्याय तथा संसदीय मामला मन्त्रालय भने शुक्रबार पनि सुनसान देखिन्छ ।

उपप्रधानमन्त्री तथा विभागीय मन्त्री उपेन्द्र यादवको कायकक्ष अगाडि उनको ‘नेमप्लेट’ समेत बनाइएको छैन भने कागजको पाना टाँसेर अस्थायी ‘नेमप्लेट’ बनाइएको छ ।

मन्त्रीको सचिवालय कक्षसमेत सुनसान छ । मन्त्रीको स्वागतका लागि एक जना कार्यालय सहयोगीले यसअघि नै प्रयोग भइसकेका खादा मिलाएर राखेका छन् । कर्मचारीहरुको उपस्थितिसमेत पातलो छ ।

मन्त्रीको सचिवालयमा पूर्ववर्ती मन्त्री भानुभक्त ढकालकै सचिवालयका कर्मचारीको नेमप्लेट राखिएको छ । मन्त्री यादवले कहिले पदबहाली गर्ने हुन् भन्ने जानकारी नआएको मन्त्रालयका सूचना अधिकारी कमलराज गौतमले रातोपाटीलाई बताए । ‘हामीलाई पदबहालीसम्बन्धी कुनै जानकारी आएको छैन,’ उनले भने, ‘उहाँ देशबाहिर रहेको बुझेका छौँ ।’

यादव स्वस्थ्यमन्त्री कै हैसियतमा एक कार्यक्रममा सहभागी हुन भारतमा रहेका छन् । यादव भारतमै रहेका बेला यता मन्त्रीमण्डलमा हेरफेर भएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप