शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पदभार ग्रहण गरेको भोलिपल्टै मन्त्री गुरुङले भेटे अनाथ बालबालिका

शुक्रबार, ०६ मङ्सिर २०७६, १६ : ११
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनाथ बालबालिकासँग भेट गरेका छन् । मन्त्री गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार दिउँसो आफूलाई बधाई दिन आएका करिव ४८ जना अनाथ बालबालिकासँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।

भेटका अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने बताए । त्यसका लागि उनले बालबालिकासम्बन्धि ऐन, नियमको आवश्यक संशोधन तत्काल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री गुरुङले बालगृहको नाममा ठगी खानेहरुलाई भने सरकारले कार्वाही गर्ने पनि बताए ।

मन्त्री गुरुङले काठमाडांैको गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रको संरक्षणमा रहेका ती अनाथ बालबालिकाहरुलाई यसअघि पनि सांसदहरुको रुपमा खाद्यन्न तथा लत्ताकपडालगायतका वस्तुहरुको सहयोग गर्दै आएका थिए ।

उनले अनाथ टुहुरा बालबालिकाहरुको हितमा आफू केन्द्रित हुने पनि बताए । संस्थाका अध्यक्ष तीलबहादुर कार्कीले मन्त्री गुरुङले सांसदको रुपमा आफ्नो संरक्षणमा रहेका अनाथ बालबालिकाहरुप्रति विगतमा गर्दै आउनुभएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिन पनि थप सहयोगको अपेक्षा गरिएको बताए ।

त्यसअवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुले आफूलाई बधाई दिएर बालबालिकाको हितमा काम गर्न झनै प्रोत्साहित गरेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले बिहीबार पदभार ग्रहण गर्दै बालविवाह अन्त्यका लागि २ महिनाभित्र राष्ट्रिय कार्य योजना तय गरिसक्ने प्रस्ताव स्वीकृत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप