केन्द्रीय संस्करण
मेराे जीवन

स्वरकिन्नरी गायिका ज्ञानु राणाको जीवन : भगवानबाहेक मेरो कोही छैन

person explore access_timeमंसिर ७, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

चौतारीमा मै बसेँ होला कि
बरको डाली नुहेर छोला कि 
सल्लै हो जोवन कल्लाई हो
होस् वा 
सिरीमा सिरी बतास चल्यो 
बाबरी फूलको बासना सुन मेरो निरमाया

गायिका ज्ञानु राणाले नेपाली गीतसङ्गीतको क्षेत्रमा थुप्रै कालजयी गीत दिएकी छन् । त्यसैले त उनलाई यो क्षेत्रमा स्वर किन्नरीको रूपमा समेत चिन्ने गरिन्छ । बुबा धर्मराज थापाले गीत सङ्गीत बनाएको लुकेर हेरेको भरमा गायन सिकेकी ज्ञानुले विस २०२५ सालबाट गायन थालेकी हुन् । 

उनको पहिलो गीत ‘जानी कहाँ हो राजै’ हो । जुन २०२५ मा रेडियो नेपालमा रेकर्ड भएको थियो । सो समयदेखि अहिलेसम्म उनका २५ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । लोक, आधुनिक, भजन, अपेरा, फिल्म, गजल सबै प्रकारको गीतमा उनको स्वर रहेको छ ।

पछिल्लो समय साङ्गीतिक क्षेत्रमा भित्रिएका नयाँ पुस्ताले आफूजस्ता अग्रज बिर्सिएको, सम्मान गर्न नजानेको र नेगेटिभ रूपमा हेरेको आरोप लगाउने उनी यस्तो व्यवहारले र राज्यको ध्यान आफूहरु अगाडिको पुस्तामा नपुगेको देख्दा दुःख लाग्ने उनी बताउँछिन् ।

यिनै गायिका ज्ञानु राणासँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना
पूर्ण भेजिटेरियन हुँ म । गाउँले प्रकारको दालभात तरकारी नै मनपर्छ । मेरो बालपन पोखरको बाटुली चौरमा बितेको हुनले मकैको आँटा बढी मनपर्छ । पिँडालु, गुन्द्रुक, मस्यौरा लगायत तरकारी मनपर्छ । मासु आइटम खान्न । मन नपर्ने यही हो ।

पहिले पहिले आमाले तँलाई केही गर्न आउँदैन । खान र गीत गाउन मात्र आउँछ भनेर सधैँ गाली गर्नु हुन्थ्यो । पकाउन त म पनि पकाउँछु तर एक्स्पोर्ट मानिसले पकाएको जस्तो हुँदैन । रेस्टुरेन्ट जाने बानी छैन । कसैले लग्यो भने कहिले काहीँ गइन्छ पनि । 

मेरो पोसाक
नेपाली राष्ट्रिय पोसाक सारीचोलो नै मनपर्छ । कुर्थासुवाल पनि लगाउँछु । मेरो मनपर्ने कलर पहेँलो हो । खरानी रङको पहिरन कहिल्यै मनपरेन । आफ्ना लागि पहिरन आफैले किन्ने गरेकी छु । अहिलेसम्म कसैलाई ल्याइदे भनेर भनेकी छैन । 

दसैँ, तिहार, तीज, विवाह लगायत महत्त्वपूर्ण समयमा मात्र सपिङ गर्ने बानी भएकाले पोसाकमा धेरै खर्च हुँदैन । त्यस्तै वर्षको १५, २० हजार भए पोसाक खर्च पुग्छ ।

मेरो फिट्नेस 
अहिले ७० लाग्दैछु । उमेरभन्दा कसैले पत्याउँदैनन् । धेरैले फिट्नेसले होला भन्ने गरेका छन् । तर म केही गर्दिनँ । म भेजिटेरियर भएर पनि होला फिट छु । फिट हुनुको अर्काे कारण सन्तुष्टि हो भन्ने लाग्छ ।

कुनै कुराले पनि मलाई टेन्सन दिँदैन । किनभने यो संसार नै अनित्य छ । भोलि छोडेर जानुपर्ने हो भनेर बुझेकी छु । मैले कसैलाई पनि धेरै माया गर्नुहुँदैन भन्ने लाग्छ । भगवानबाहेक मेरो कोही छैन भन्ने महसुस हुन्छ । पहिले प्रज्ञा प्रतिष्ठानमा काम गर्दा हिँडेर जान्थेँ । त्यसले पनि फिट्नेसको काम गरेको थियो । त्यसबाट रिटायर भएपछि घरमा थन्किएर बसेकी छु । 

मेरो अध्ययन
अध्ययन धेरै गर्छु । तर उपन्यास होइन । गीतसङ्गीत र धार्मिक किताब मात्रै । सधैँ बिहान दुई तीन घन्टा अध्ययन गर्छु । गीतापाठ नियमित गर्छु । महाभारत, रामायण, गीता लगायतका धार्मिक पुस्तक नियमित पढ्न मनपर्छ । यसको अलवा गीतसङ्गीतका विषयमा लेखिएका किताब पनि किनेर पढ्ने गरेकी छु । 

मेरो घुमघाम
पहिले प्रज्ञा प्रतिष्ठानमा जागिरे हुँदा धेरै घुम्थेँ । सांस्कृतिक कार्यक्रमको सिलसिलामा धेरै ठाउँ पुगेकी छु । पछिल्लो समय घुमघाम कम भएको छ । नयाँ नयाँ ठाउँको यात्रा गर्न एकदमै मनपर्छ ।
म पोखरमा जन्मिएको मानिस हुँ । हिमाल र डाँडाकाँडा हेरेर हुर्किएँ । मकै, कोदो, फपर र तोरी बारी र सुन्तलाको बगैँचामा खेलेर हुर्किएकी हुँ । अहिले पनि घुमघामका लागि यस्तै प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ मनपर्छ । 

मेरो फुर्सद 
अहिले फुर्सदै फुर्सद छ । यो फुर्सद गीतसङ्गीत रियाज गरेर बिताउँछु । अध्ययन गर्छु । घरको सकेको काम गर्छु । घुम्ने, आफन्त भेट्ने यस्तै यस्तै हो । 

मेरो खेलकुद 
पहिले ब्याडमिन्टनको खेलाडी नै थिएँ । स्कुल पढ्दा यो खेलबाट धेरै पुरस्कार पनि जित्थँे । प्रज्ञा प्रतिष्ठानमा हुँदा पनि खेल्थेँ । अहिले नखेलेको धेरै भयो । 

अहिले भने खेल्न होइन, हेर्न मनपर्छ । ब्याडमिन्टन, भलिबल मैले हेर्ने खेल हुन् । यी खेल सजिलै बुझ्छु । अरूले खेलेको हेरेर पनि इन्जोय गर्नसक्छु ।   

मेरो मोबाइल 
अहिले मसँग एउटा मोबाइल छ । त्यो पनि नोकियाको सानो खालको । जहाँ जाँदा पनि बोकेर हिँड्छु । फोन गर्न, अनलाइन समाचार पढ्न, फेसबुक र म्यासेन्जर चलाउन प्रयोग हुन्छ ।

आफ्ना पुराना नयाँ गीत म्यासेन्जरमार्फत् सेयर गरेर अरूलाई जानकारी दिन्छु । युट्युब पनि हेर्छु । अलि अगाडि ७ वटा भजन बनाएको थिए । त्यो पनि युट्युबमा हालेकी छु ।

छिटो छिटो मोबाइल फेर्ने बानी मेरो छैन । हराएन र बिग्रिएन भने एउटै मोबाइलले काम गर्छ ।

मेरो टीभी
टीभी प्रायः साँझमा हेर्ने गरेकी छु । टीभीमा सिरियल हेर्दिनँ । समाचार, गीत सङ्गीत हेर्छु । देशविदेशका समाचार, कमेडी सिरियल पनि हेर्छु । 

मेरो चलचित्र 
चलचित्रप्रति मेरो इन्ट्रेस्ट छैन । पहिले मन लागेको फिल्म हलमा गएर हेर्थें । अहिले २, ३ वर्ष भयो होला, फिल्म हेरेको छैन । पछिल्लो समय हेरेको फिल्म दालभात तरकारी हो । त्यो मन परेको थियो । 

मेरो रोग
पहिले त्यस्तो केही रोग थिएन । अहिले सुगर लागेको छ । यो रोगले सताएको एक वर्ष मात्रै भयो । यसका लागि नियमित औषधि खाइरहेकी छु । यो रोग आमालाई पनि थियो । अहिले मलाई भयो । ग्यास्टिक पनि होला । कहिलेकाहीँ रुघाखोकी लाग्नु सामान्य भइगोनी । 

मेरो भषाशैली 
भाषा सरल, सीधा र ठेट नेपाली नै मनपर्छ । कतिपयको घुमाउरो कुरा गर्ने बानी हँुदोरहेछ । त्यो मन पर्दैन । जे छ सीधा गरेको राम्रो  । म मनमा कुनै कुरा राख्न सक्दिनँ । अरूबाट पनि त्यस्तै अपेक्षा हुन्छ । 

मेरो मापसे 
ओ हो मापसे । अहिलेसम्म छोएकी पनि छैन । लतको नाममा सुपारी पनि खाएकी छैन । मापसे र चुरोटको गन्ध आए पनि मलाई घिन लाग्छ । आफूले नखाए पनि मापसे घरमा सजाएर राख्ने कतिको बानी हुन्छ । मेरो त्यस्तो बानी छैन । 

मेरो गीतसङ्गीत
मेरो जीवन नै गीत सङ्गीत हो । विस २०२५ सालदेखि म यसमै छु । बुबा धर्मराज थापाको रगत ममा पनि भएकाले गीत सङ्गीतको नसा बस्यो । 

मेरो पहिले नाम ज्ञानु थापा थियो । विवाहपछि मात्र राणा भएकी । अहिले पनि गीतसङ्गीत पाए मलाई अन्य केही चाहिँदैन । लतामङ्गेस्कर, ममत रफी लगायतका पुराना गायक गायिकाको गीत सुरेर म सारा दिन बिताउन सक्छु । नारायण गोपाल दाइसँग त आफैले धेरै सङ्गत पनि गरँे । उहाँको गीत पनि सुन्छु । 

‘जानी कहाँ हो राजै’ बोलको गीत २०२५ मा रेकर्ड भएको थियो । यो मेरो पहिलो गीत हो । त्यो समयदेखि अहिलेसम्म २५ सयभन्दा बढी गीत गाएकी छु । लोक, आधुनिक, भजन, अपेरा, फिल्म, गजल सबै प्रकारका छन् ।

गीतसङ्गीतमा लागेर दर्शकको माया पाएँ । धेरैले सम्मान र माया दिन्छन् । त्यही हो । धनगढीको एक महिला मेरो फ्यान छिन् । जो पहिलेदेखि अहिलेसम्म पनि महिनामा एक पटक फोन गरेर मेरो बोली सुन्छिन् । उनी मेरो गीत सुनेपछि कसैको गीत सुन्न मन नलाग्ने बताउँदै आएकी छन् । देश विदेशबाट फ्यानका फोन आउने गरेका छन् । त्यो नै ठूलो सन्तुष्टि हो । अन्य केही पाएकी छैन यो क्षेत्रबाट ।

मेरो दुःख
गीतसङ्गीतमा यति लामो समय बिताएकी छु । देशका लागि २५ सयभन्दा बढी गीत दिएकी छु । मेरो गीतसङ्गीतले धेरथोर साङ्गीतिक क्षेत्रको श्रीवृद्धिमा योगदान पुर्याएको होला । तर देशले हामीजस्तो स्रष्टालाई चिन्न नसकेको जस्तो लाग्छ । 

पछिल्लो समय साङ्गीतिक क्षेत्रमा भित्रिएका भाइबहिनीले आफूभन्दा अग्रजलाई बिर्सिएको, सम्मान गर्न नजानेको र नेगेटिभ रूपमा हेरेको जस्तो लाग्छ । राज्यसत्तामा बसेका मानिसहरुले पनि हामी जस्ता स्रष्टातिर ध्यान पुर्याउन सकेको छैनन् । यस्तो माहोलले दुःख लाग्छ, चित्त दुख्छ ।

मेरो प्रेम
मेरो मागी विवाह भएको हो । जोसँग विवाह भयो । उसैसँग प्रेम बस्यो । अहिलेसम्म पनि त्यो प्रेम छ । खुसी पनि छु ।

मेरो भुल
भुल नगर्ने मानिस सायदै होलान् । मैले पनि धेरै भुल गरेकी छु । धेरै पहिले मुम्बईबाट भारतीय सङ्गीतकार रवीन्द्र जैन कार्यक्रमका लागि नेपाल आउनुभएको थियो । उहाँले हेमलता भन्ने गायिका पनि सँगै ल्याउनु भएको थियो । सो क्रममा उहाँसँग चिनजान भयो । उहाँले मेरो गीत पनि सुन्नुभयो ।

सो समय उहाँले मलाई भन्नुभयो, ‘ज्ञानु तुमारा सङ बहुत अच्छा लागा हमको । तुम्हारा आवाज बहुत अच्छा है ।’ उहाँले मेरो धेरै तारिफ पनि गर्नुभयो । मुम्बई जाऊँ भनेर मलाई धेरै फोस गर्नुभयो । त्यतिबेला त उदितनारायण झासमेत मुम्बई गएका थिएनन् । 

सो समय जैन सरले मेरा लागि यात्रा गर्ने टिकटसमेत लिनुभएको थियो । तर उक्त समय घरपरिवारले मलाई जान दिएन । मैले पनि जाने आँट देखाउन सकिनँ । त्यो मेरो जिन्दगीको सबैभन्दा ठूलो भुल भयो । यो भुल अन्तरवार्ताको क्रममा मैले धेरै ठाउँमा भनेकी छु । सम्झँदा अहिले पनि पछुतो लाग्छ । 

अहिले लाग्छ, त्यो समय म मुम्बई गएकी भए विश्वमा चिनिन सक्थेँ । अहिले देशमा चिनिएँ पनि देशले भने चिनेको छैन ।

मेरो सपना 
सपना ठूलो छैन । एउटै छ । मर्दा पनि गीत गाएरै मरौँ । भगवानसँग पनि यही कामना गरिरहेकी छु । मेरो पूरै जीवन गीतसङ्गीतमा समर्पित छ । मर्ने बेलामा पनि गीत गाएरै मर्न पाऔँ । भगवाले मलाई गीत गाउन नै जन्मदिएको हो । 

मेरो राशि 
मेरो राशि धनु हो । ग्रहदशा हेराउने गरेको छु । विश्वास लाग्छ । पूजापाठ धेरै गर्छु । यो त मेरो जिन्दगीको अभिन्न अङ्ग हो । मन्दिर पनि जान्छु । धार्मिक पुस्तक पढ्छु ।    

मेरो मृत्यु
मृत्यु ध्रुव सत्य, कटु सत्य हो । जन्मलिने मानिस मात्र होइन । हरेक प्राणीले मर्नुपर्छ । त्यसैले यसलाई मैले सहज रूपमा लिएकी छु । यो टार्न कसैले पनि सक्दैन । जीवनमा जति दुःख आए पनि सहेर मृत्युलाई हाँसी हाँसी स्वागत गर्नुपर्छ । दुःख पाएर बस्नु नपरोस् । सजिलै जान पाइयोस् ।

फोटो : सुवास श्रेष्ठ

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...