शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी खनालको 'अर्थपूर्ण' सुदूरपश्चिम भ्रमण : समातिएलान् निर्मलाको हत्यारा ?

शनिबार, ०७ मङ्सिर २०७६, १३ : ४९
शनिबार, ०७ मङ्सिर २०७६

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको दोषी पत्ता लगाउन नसकेर करिब १६ महिनादेखि दबाब झेल्दै आएको नेपाल प्रहरीले उक्त घटनालाई अझै पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेको छ ।

अपराधी पत्ता लगाउन नसकेर आलोचना खेपिरहेको प्रहरीले यतिबेला सुक्ष्म र गोप्य ढङ्गले अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ ।

यही समय प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल करिब २४ घण्टा सुदूरपश्चिम प्रदेशमा रहेर उक्त घटनाको अनुसन्धानमा भइरहेको प्रगति र अन्य विवरणबारे जानकारी लिएका छन् ।

स्रोतका अनुसार अछाममा प्रहरी कार्यालय भवन उद्घाटनका लागि पुगेका आईजीपी खनाल बिहीबार राति कैलालीको धनगढीस्थित एक होटलमा बास बसेका थिए ।

उनले आफू बसेको होटलमै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दीपककुमार आचार्यलाई बोलाएर छलफल गरेका छन् ।

सामान्यतया, अछामको तुलनामा धनगढी सुविधासम्पन्न भएकाले पनि आईजीपी खनाल अछामको कार्यक्रमका सिलसिलामा धनगढीलाई ‘सेल्टर’ बनाएको मान्न सकिन्छ ।

तर, एउटा कार्यालय भवन उद्घाटनको औपचारिक कार्यक्रम लिएर सुदूरपश्चिम प्रदेश पुगेका उनले आफूसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रमुख एवं डीआईजी निरज शाही र सचिवालयका डीएसपी गौतम केसीलाई समेत लिएर जानु भने स्वाभाविक होइन ।

प्रहरीले डिएनए परीक्षणअनुसार दिलिपसिंह विष्टलाई पक्राउ गर्ने भएको छ । स्रोतकाअनुसार विष्ट नै मुख्य दोषी देखिएकाले पक्राउ गरेर थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

उक्त प्रकरणमा निर्मलाको आमा दुर्गादेवीको जाहेरीपश्चात बिष्टलाई पक्राउ गर्न आदेश दिन आईजीपीले कञ्चनपुरका एसपी आचार्यलाई भेटेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार आईजीपी खनालसँगै निलम्बित डीएसपी अङ्गुर जिसी पनि सँगै थिए । सुरुमा निर्मला हत्या प्रकरणको अनुसन्धान डीएसपी केसीले नै गरेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख शाही नेतृत्वको जम्बो टोलीले निर्मला पन्त बलात्कार–हत्याबारे लामो समयदेखि अनुसन्धान गरिहरेको भएपनि नतिजा आउन सकेको छैन् ।

त्यसैले पनि आईजीपी खनालले सीआइबी प्रमुखलाई समेत साथमा लिएर सुदूरपश्चिममै कैलाली र कञ्चनपुरका जिल्ला प्रहरी प्रमुखहरुसँग छलफल गरेको स्रोत बताउँछ ।

आईजीपी खनाल शुक्रबार नेपालगन्जको अन्तिम उडानबाट काठमाडौँ फर्किसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप