शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समायोजनको असर : चिकित्सकविहीन बन्दै जिल्ला अस्पताल

मन्त्रालय भन्छ–समस्या सुल्झन समय लाग्छ
सोमबार, ०९ मङ्सिर २०७६, १३ : १७
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौँ । देश सङ्घीयतामा गएसँगै हरेक कुराको सहजै सेवा सुविधा पाइएला भन्ने आशा गरेका नेपाली नागरिक झनै समस्यामा परेका छन् । स्वास्थ्य सेवा संवेदनशील विषय हो । समयमा उपचार नपाउँदा अहिले देशैभरका नागरिक यो पीडाबाट आक्रान्त छन् ।

 दरबन्दी अनुसारको चिकित्सक नहुनु, भएका कर्मचारीलाई समायोजन भई अन्यत्र जाँदा अहिले अधिकांश जिल्ला अस्पताल चिकित्सकविहीन छन् ।

कञ्चनपुरस्थित महाकाली अस्पतालमा चिकित्सकको अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । 

चिकित्सकको अभावमा बिरामीहरु भारतको निजी अस्पतालमा महँगो पैसा तिरेर उपचार गराउन बाध्य छन् । अस्पतालमा डेन्टल नवौँ तहका ७ जना मेडिकल अधिकृत, १०औँ तहका १६ जना र ११औँ तहका ४ जनासहित २८ चिकित्सकको दरबन्दी छ । 

अहिले प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला रोग विशेषज्ञ शम्भु जोशी गरी २ जना मात्र कार्यरत छन् । 

दरबन्दी अनुसारको चिकित्सक नहुँदा र भएको चिकित्सक पनि समायोजनले अन्यत्र सरुवा हुँदा यस अस्पतालमा चिकित्सकको खडेरी लागेको हो । 

 सल्यानको पीडा पनि उस्तै छ । अस्पतालमा चारजना चिकित्सकको दरबन्दी भए पनि एकजना मात्रै चिकित्सक कार्यरत हुँदा बिरामीको उपचारमा समस्या हुन थालेको छ । 

कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी भए पनि अहिले एक मात्र डाक्टर र अन्य १४ जना कर्मचारी मात्रै छन् । यसले कर्मचारी व्यवस्थापन गर्न निकै नै कठिनाइ भएको अस्पतालले जनाएको छ । १५ शय्याको अस्पताल अहिले ३७ शय्यामा सेवा विस्तार गरेको भए पनि दरबन्दीअनुसारका चिकित्सक नभएपछि सेवा नै प्रभावित भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत कर्मचारीको समायोजनसमेत अन्यत्र भएकाले अस्पतालमा अझै सेवा प्रभावित हुने सल्यान जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दामोदर शर्माले बताए । कर्मचारी समायोजन हुँदा धेरै कर्मचारीले प्रदेश नं. ३ र केन्द्रमा फारम भरेका छन् । 

अन्य ठाउँका स्वास्थ्यकर्मीले पनि आफूलाई पायक पर्ने ठाउँमा समायोजन फारम भर्दा अहिले बिस्तारै जिल्ला हुँदै प्रदेशस्तरका अस्पतालहरू स्वास्थ्यकर्मीविहीन भएको हो । 

जसले गर्दा धेरै अस्पताल चिकित्सकविहीन भएका छन् । नागरिक सेवा पाउनबाट पनि वञ्चित भएका छन् । 

यी केही उदाहरण मात्रै हुन् । समायोजनपछि देशको सबै स्वास्थ्य संस्थाले राम्रो सेवा प्रदान गर्लान्, पहिला जस्तै समस्या झेले पनि देश सङ्घीयतामा गएपछि सेवा पाइएला भन्ने नागरिकहरुको आशा अहिले मरेको छ ।

स्वास्थ्यको समायोजनले अझैसम्म गति पाउन सकेको छैन । सेवाभन्दा पनि समस्या बोकेर स्वास्थ्य मन्त्रालय धाउने धेरै स्वास्थ्यकर्मीहरुको दैनिकी बनिरहेका बेलामा भएका चिकित्सक तथा स्वास्थ्यकर्मी पनि समायोजनपछि अन्यत्र सरुवा हुँदा अस्पताल प्रशासनलाई सेवा दिन निकै समस्या परेको छ । 

नेपालका अधिकांश अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक छैनन् भने समायोजनले पनि भएका चिकित्सकलाई अन्यत्र सरुवा गर्दा जिल्ला मात्रै होइन अञ्चलस्तरीय अस्पताल पनि चिकित्सकविहीन बन्दै गएका छन् । 

सेती अञ्चल अस्पतालमा १५ जना चिकित्सक थिए । १३ जना चिकित्सकको सङ्घीय सरकार मातहतमा रहेको अस्पतालमा समायोजन गरिएपछि यो अस्पतालमा पनि चिकित्सकको अभाव खड्केको हो ।

अहिले सार्वजनिक भएको समायोजनले पनि समस्या समाधान नभएको र विभिन्न कमिकमजोरी भेटिएपछि कर्मचारीहरु मन्त्रालय धाउँन छाडेका छैनन् । यसले पनि स्वास्थ्य सेवामा समस्या देखिएको छ ।

 मन्त्रालयले आफ्नै गुनासो सम्बोधन गरेर एकै पटक समायोजन संशोधन सूची प्रकाशन र पत्र वितरणको कार्य गर्ने भन्दै कर्मचारीहरुलाई आफ्नो कर्यस्थलमा खट्न आग्रह गर्दै आएको छ । 

समायोजन घर पायक, प्रदेश पायक भर्ने हुँदा अहिले जिल्ला अस्पताल तथा प्रदेशस्तरको अस्पतालहरु पनि रित्तिँदै गएको देखिन्छ । 
 
देशभरकै समस्या सुल्झन धेरै समय लाग्छ 
यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यो विषयलाई खासै चासोको साथ हेरिएको पाइँदैन । स्वास्थ्य क्षेत्रको समयोजन अझै टुङ्गिन नसक्दा नागरिक उपचार पाउनबाट वञ्चित भएका छन् । समायोजनपछि अस्पताल चिकित्सकविहीन भएको कुरा मन्त्रालयले पनि स्वीकार्दै आएको छ । तर यो समस्याको समाधान कहिले हुन्छ भन्ने प्रश्नको जवाफ भने मन्त्रालय दिन सक्ने अवस्थामा छैन । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले अञ्चलभन्दा पनि जिल्ला अस्पतालहरू चिकित्सकविहीन भएको स्वीकार्दै देशभरकै समस्या समाधानका लागि भने वर्षौ लाग्ने बताए ।

अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुनु र तत्काल समस्या समायोजनमा परेका कर्मचारीको गुनासो सम्बोधन गर्न नसक्दा थप समस्या देखिएको उनको तर्क छ । 

‘धेरै असर जिल्ला अस्पताललाई परेको छ । हामी अहिले समायोजनमा आएको गुनासो सम्बोधन गर्दै कर्मचारीलाई आफ्नो कार्यस्थलमा पठाउने काममा लागिपरेका छौँ । तर देशभरको समस्या र दरबन्दीअनुसारको चिकित्सक पठाउनका लागि भने अझै वर्षाैं लाग्न सक्छ’, उनले भने ।

 देशभर चिकित्सक र नर्स गरेर ४ हजार पद खाली भएसँगै समायोजनले थप समस्या ल्याएको बताए । 

उनले रातोपाटीसँगको कुराकानीमा सबै पदपूर्ति गर्न लामो समय लागे पनि समायोजनको क्रममा कतै धेरै र कतै कम कर्मचारी परेको हुँदा थप समस्या ल्याएको बताए । 

यो विषयमा नयाँ मन्त्रीसँग छलफल हुन बाँकी भएको हुँदा मन्त्रीको रायअनुसार पनि समस्या समाधान गर्ने प्रवक्ता डा. श्रेष्ठको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप