शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरी गाएर ‘भाइरल’ कमलाको बालसंवेदनामा खेलबाड : रुवाउने प्रतिस्पर्धा !

सोमबार, ०९ मङ्सिर २०७६, १६ : ४६
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौँ । सानो उमेरमै आफ्नो पहिचान बनाउन सफल बालगायिका कमला घिमिरेका लागि प्रसिद्धि र सफलता यतिबेला चुनौती बनेको छ । ११ वर्षमै लोकदोहोरी मार्फत उनी अहिले ‘सेलिब्रेटी’ जस्तै बनेकी छिन् । त्यही भएर मिडिया, अझ खासगरी युट्युव च्यानलहरुको रोजाइमा उनी पर्ने गरेकी छन् । तर, अन्तरवार्ताका नाममा घुमाउरो प्रश्न गर्ने र आफूलाई चाहिएको भाषाशैलीमा बोल्न बाध्य परिस्थिति खडा गरेर सामाजिक मर्यादा र परिवारका सदस्यहरुको आत्मसम्मानमा चोट पुग्न थालेको स्वयम् कमला बताउँछिन् । 

आफ्नो कलामार्फत छोटो समयमा ख्याति आर्जन गरेकी कमला दैनिकजसो दुई–चारवटा युट्युव च्यानललाई अन्तरवार्ता दिन बाध्य हुन्छिन् । पछिल्लो समय उनको अन्तर्वार्ता लिन युट्युबरहरुको धुइरो लाग्न थालेपछि बुबाले जथाभावी अन्तरवार्ता नदिन सुझाव दिए । हुन पनि उनलाई युट्युबरहरुले दिनरात, बिहान–बेलुका नभनी पछ्याउँछन् । जसका कारण उनले न राम्रोसँग पढ्न पाएकी छन्, न त खान नै । यसकारण घरमा युट्युबरहरुलाई रोक लगाउनु परेको उनका बाबु कल्याणप्रसाद घिमिरेको भनाइ छ ।

धादिङ साङकाेशकी कमलाको घरमा जान नपाएपछि युट्युबरहरु उनी अध्ययनरत विद्यालयमै पुगेर अन्तरवार्ता लिन थालेका छन् । जति छोटो समयमा उनी भाइरल भइन्, त्यति नै छोटो समयमा उनी आफ्नो अन्तरवार्तालाई रोचक तथा विवादास्पद खालका शीर्षक राखेर युट्युब च्यानलमार्फत सार्वजनिक गरेर बढीभन्दा बढी रकम आर्जन गर्ने ‘युट्युबे’ प्रवृत्तिबाट हैरान भएकी छन्। अहिले युट्युबरहरुमा स्कुलमै पुगेर उनको कक्षा छुटाएर ‘कर गरेरै’ अन्तरवार्ता लिने होड चलेको छ ।

कमलाका बुबा कल्याण युट्युबरको यो प्रवृत्ति देखेर दिक्दार भएका छन् । त्यसैले पनि उनले युट्युबरविरुद्ध उजुरी दिने चेतावनी नै दिएका छन् ।  उनले आफ्नो छोरी कमलालाई अन्तरवार्ताका लागि दुःख दिने तथा आफू र आफ्नो परिवारका बारेमा नकारात्मक सामग्री प्रसारण गरेर भ्रम फैलाउने सबैका विरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी दिने मनस्थिति बनाएको बताए ।

‘जबर्जस्ती अन्तरवार्ता लिने र असान्दर्भिक प्रश्न सोध्नेविरुद्ध उजुरी हाल्दैछु’, कल्याणले रातोपाटीसँग कुरा गर्दै भने ‘मिडिया हुँ भन्दैमा अरूको इच्छा विपरीत जथाभावी गर्न पाइन्छ र ?’ आफ्नो र छोरीको समाचार बङ्ग्याएर युट्युबहरु पैसा कमाउने धन्दामा लागेको उनको आरोप छ । 

यता मनोविद् गोपाल ढकाल सामाजिक सञ्जाल मार्फत बालबालिका भाइरल हुँदा मानसिक र शारीरिक दुबै कुरामा समस्या हुने बताउँछन् । ‘संसारका सबै बालबालिका क्षमतावान हुन्छन् तर कसैको छिट्टै प्रतिभा प्रष्फुटन हुन्छ त कसैको ढिलोगरी हुन्छ’, उनले भने, ‘तर बालबालिकाको खेल्ने, अध्ययन गर्नेजस्ता प्राकृतिक रुपमा सामान्य जीवन जिउँनु पर्ने समयमा चर्चामा आउँदा तनाव धेरै हुने र पछि मानसिक समस्या पनि हुनसक्छ।’ 
बालबालिकालाई चर्चामा ल्याउँनको लागि परिवारलनै जवरजस्ती सामाजिक संजालमा राखिनेदिने काम पनि हुने गरेको उल्लेख गर्दै उनले यसबाट व्यक्तिको बाल अधिकार पनि हनन् हुने बताए ।  

‘चर्चामा आउँदा आफ्नो सामान्य दैनिक जीवन छोड्नु पर्छ । धेरै मान्छेको भीडमा जानु पर्छ, जसले गर्दा अध्ययनमा समस्या हुन्छ । चर्चा केही समयसम्म होला तर अध्ययन जीवनको महत्वपूर्ण पाटो हो । कमला घिमिरे जस्ता चर्चामा आएका बालबालिकाले अध्ययनकै बेला गीत गाउँन हिँड्नु भन्दा पनि अहिले अध्ययनलाई महत्त्व दिनुपर्छ’ ढकालले भने । यद्यपि प्रतिभालाई कुनै पनि हालतमा मार्न नहुने तर त्यो स्वाभाविक रुपमा प्रस्फुटिन हुनुपर्ने उनको भनाइ छ । 

मनोविद् ढकालले भनेजस्तै अहिले कमलामा प्रतिभा त छ त्यसलाई सही रुपमा प्रयोग भएको पाइँदैन । उनलाई अहिले लहड र अनावश्यक रुपमा भाइरल पात्रको रुपमा परिचित गराइएको छ ।

कमलाका बाबु कल्याण पनि छोरीलाई अनावश्यक डिस्टर्ब गर्ने काम भएको बताउँछन् । ‘मेरो अनुमतिबिना स्कुलमा गएर छोरीको अन्तरवार्ता लिएर उसलाई रुवाउने, अध्ययनमा समेत डिस्टर्ब गर्ने धेरै छन्’, उनले ज‌ंगिँदै भने, ‘ती सबैको रेकर्ड एकएक उतारेको छु । तह लगाएर छोड्छु ।’

कल्याणले युट्युबमा कमला र आफ्नो बारेमा बङ्ग्याएर हालिएको अन्तरवार्ता, समाचार हटाएर त्यस्तो समाचार र भिडियो बनाउनेलाई कारबाही गरिनुपर्नेमा जोड दिए । 

स्कुलमै आएर दुःख दिन थाले : कमला 
भाइरल गायिका कमलाले पनि युट्युब मिडियाले आफूलाई धेरै दुःख दिएको बताइन् । घरमा अन्तरवार्ता लिन बुबाले रोक लगाएपछि उनीहरु स्कुलमा आउन थालेको कमलाले बताइन् ।

‘स्कुलमा म यो टीभी, यो मिडियाको भन्दै विभिन्न व्यक्तिले मन नहुँदा नहुँदै पनि अन्तरवार्ताका लागि घेर्नुहुन्छ’, उनले भनिन्, ‘विभिन्न प्रश्न सोधेर मलाई रुवाउनुहुन्छ ।’ 

आफ्नो पढाइमा समेत व्यवधान भएको उनको भनाइ छ । ‘मेरो पढाइमा समेत डिस्टर्ब भइसक्यो । म हैरान भइसकेँ’ उनले थपिन् ।

कमलालाई स्कुल जान बन्देज गरेर उनका बुबा कल्याणले कमाउ धन्दा चलाए भनेर पनि केही मिडियाले समाचार बनाएका छन् । यस्ता समाचारप्रति आपत्ति जनाउँदै कल्याणले भ्रामक समाचारका कारण आफूलाई दुःख लागेको बताए । 

‘कमला नियमित स्कुल जाने गरेकी छन्’, कल्याणले भने ‘मेरो कुरामा विश्वास नलागे स्कुलमा गएर सोध्दा पनि हुन्छ ।’ शनिबारबाहेक अन्य समय कार्यक्रमका सिलसिलामा बाहिर जाँदा स्कुल छुट्ने भएकाले त्यस्ता कार्यक्रमका लागि आफैँले बन्देज गरेको कल्याणको भनाइ छ । कमलाले पनि आफूले स्कुल नछोडेको बताइन् । 

‘शनिबारको दिन पर्ने कार्यक्रममा मात्र जाने गरेका छौँ’, कमलाले भनिन् ‘पहिले केही दिन छुट्यो होला । अहिले भने स्कुल नियमित जाँदैछु ।’

विभिन्न स्थानमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा अचेल कमलाको माग धेरै हुने गरेको छ । त्यसैले पनि केही आयोजकलाई कल्याणले टार्न सक्दैनन् ।

‘जुन आयोजकले शनिबार कार्यक्रम राखेर आइतबार स्कुल जान मिल्ने वातावरण मिलाउँछन् । त्यो कार्यक्रममा मात्र कमला सहभागी हुने गरेकी छन्,’ कल्याणले थपे ।

पारिश्रमिक कति ?
बालगायिका कमलाको क्षमताले गर्दा चौतर्फी कार्यक्रममा उनको माग हुनु स्वाभाविक हो । भ्याएसम्म उनी केही कार्यक्रममा पुग्ने गरेकी छन् । पुराना चलेका गायक गायिकासमेत यस्ता कार्यक्रमबाट ठगिएको समाचार बेला बेलामा सार्वजनिक हुने गरेका छन् । उनी यो प्रवृत्तिबाट बचेकी होलिन् त ? 

कमलाले अहिलेसम्म ठगिनु नपरेको उनका बुबा कल्याणले बताए । ‘एक त कमलाको समय मिलाउन गाह्रो छ । त्यसमा पनि पारिश्रमिक नदिए त्यो कार्यक्रममा किन जाने ?’ कल्याणले थपे । 
पारिश्रमिकको मामलामा अहिलेसम्म ठगिनु नपरे जनाउँदै उनले ठाउँअनुसार पारिश्रमिक घटबढ हुने गरेको बताए ।

कल्याणको कुरामा कमलाले पनि सहमति जनाइन् । भनिन्, ‘केहीले १५ हजार दिन्छन् । केहीले त्योभन्दा अलि थोरै । तर कार्यक्रमबाट खाली हात फर्किनु परेको छैन ।’ 
कस्ताकस्ता मिडिया ! 

दिनरात, बिहान बेलुका, स्कुल घर नभनेर कमलाको अन्तरवार्ताका लागि घरमा धाउने केही युट्युबर सामु उनका बाबु कल्याण केही अगाडि खरो रुपमा प्रस्तुत भए । अन्तरवार्ता त परै जाओस्, उनीहरुलाई आफ्नो घरमा टेक्नसमेत बन्देज लगाए । 

‘अन्तरवार्तामा बन्देज लगाएपछि केही युट्युबेले जथाभावी समाचार बनाए, मैले कमलालाई प्रयोग गरेर पैसा कमाउने र त्यो पैसा मदिरामा उडाउने गरेको समाचारसमेत बनाए,’ कल्याणले भने, ‘खानलाई मैले कमलाको प्रयोग गर्नुपर्दैन । मेरो टन्न सम्पत्ति छ । त्यसले पुगेको छ ।’ 

गत २०७२ को भूकम्पमा धेरै नेपाली घरबारविहीन भए । तीमध्येका एक कल्याण पनि हुन् । तर अहिले उनले ठूलाठूला दुई कोठाको एउटा पक्की घर बनाइसकेका छन् । 

‘मेरो अझै छाप्रोमा बास छ भनेर समेत समाचार बनेका छन्’, कल्याणले आश्चर्य प्रकट गर्दै भने, ‘७ लाख खर्च गरेर बनाएको दुई कोठे पक्की घरलाई के भन्छन् ? ‘अन्तरवार्ता दिन दिएन भने यहाँजस्तो पनि समाचार बन्दो रहेछ, कस्ता कस्ता पनि मिडिया रहेछन् ।’ 

को हुन् कमला ?
११ वर्षको उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएर भाइरल भएकी बाल गायिका हुन् कमला । चर्चित गायक गायिकालाई समेत दोहोरीबाट टक्कर दिँदै हायलकायल बनाउन सक्ने कमलाको मीठो र सुरिलो स्वर छ । धादिङको पशुपति माध्यामिक विद्यालयमा ६ कक्षामा अध्ययनरत उनी धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १२, साङ्कोशकी स्थायी बासिन्दा हुन् । 

कमला गीत सङ्गीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थिन् । उनी गाउँ र विद्यालयमा हुने कार्यक्रममा गीत गाएर पुरस्कारसमेत जित्ने गर्थिन् । 

कसरी भइन् भाइरल ?
गत भदौ ७ गते नीलकण्ठ नगरपालिका वडा नं १२ रिजालडाँडामा तीज विशेष कार्यक्रम तथा प्रतियोगिता आयोजना भएको थियो । तीज गीत प्रतियोगिता हेर्न गाउँभरिका मानिस भेला भए । 
प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका रेडियो धादिङका सञ्चारकर्मी तथा गायक अमृत सापकोटा समक्ष कसैले दोहोरी गीत गाउने प्रस्ताव राखे । सापकोटाले स्वीकारेपछि सानी बहिनी स्टेजमा देखिइन् र माइक समातेर गीत गाउन थालिन् ।

‘आकाशमा चिल घुम्यो फनन, कान्छा तिम्रो नाम के हो भनन, गलबन्दी च्यातियो तिम्ले तानेर...’ ११ वर्षीय कमलाको उक्त प्रस्तुतिले कार्यक्रममा सबैको ध्यान तानेको थियो । कार्यक्रममा करिब १६ मिनेट जति कमला र अमृतको दोहोरी पनि चल्यो । 

उक्त दोहोरीको भिडियो मोबाइलबाट खिचेका अमृतले आफ्नै युटयुब च्यानलमा अपलोड गरिदिए र सामाजिक सञ्जालमा सेयरसमेत गरे । 

केही दिनमै उक्त दोहोरी युट्युबको ट्रेन्डिङमा पर्यो । त्यति बेलासम्म उनी सामाजिक सञ्जालमा बाल दोहोरी गायिकाका रूपमा भाइरल भइसकेकी थिइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप