बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय राजनीतिज्ञको शरणमा आलमका भाइ

मोहताब आलमकै ट्रयाक्टरमा इँटाभट्टासम्म लगिएको थियो घाइतेहरुलाई
मङ्गलबार, १० मङ्सिर २०७६, १४ : ०७
मङ्गलबार, १० मङ्सिर २०७६

करिब १२ वर्षअघि रौतहट जिल्लाको राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी मानिएका नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ हालसम्म फरार छन् । सो घटनामा संलग्नता रहेको भन्दै प्रहरीले खोजी सूचीमा राखेपछि आलमका भाइ मोहम्मद मोहताब आलम फरार भएका हुन् । फरार मोहताब आलमको प्रहरीले खोजीकार्य जारी राखिरहेको छ ।

खोजी सूचीमा रहेका मोहताब आलम भने यतिबेला भारतका एक राजनीतिज्ञको घरमा शरण लिएर बसेको खुलासा भएको छ ।

मोहताब यतिबेला भारतको बिहार राज्यमा पर्ने ढाका भन्ने स्थानमा एक राजनीतिज्ञको घरमा शरण लिएर बसिरहेको प्रहरी स्रोतले रातोपाटीलाई बताएको छ । दाइलाई प्रहरीले पक्राउ गरेलगत्तै मोहताब आलम ती भारतीय राजनीतिज्ञको शरणमा पुगेको प्रहरीको दाबी छ । 

आलम पुर्पक्षका लागि थुनामा जाने निश्चित जस्तै भएपछि केही दिनअघि रौतहटमा कार्यरत कम्तिमा एक जना बर्दीवाला प्रहरीलाई मार्नका लागि त्यही भारतीय राजनीतिज्ञले मान्छे समेत खटाएका थिए ।


आलमसँग नजिक रहेका भारतीय राजनीतिज्ञ रौतहटस्थित आलमको घरमा आउने गरेको स्रोत बताउँछ । घर आएको बेला भारतीय राजनीतिज्ञलाई भाइ मोहताब आलमले पनि चिनेको र त्यसैअनुरुप मोहताब आलम भारत पुगेको हुनसक्ने स्रोतको बुझाइ छ ।

तिनै भारतीय राजनीतिज्ञको आदेशमा कात्तिक २६ गते रौतहटको इशनाथ नगरपालिका–४ स्थित प्रहरी चौकी मठियामा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरेर बम प्रहार भयो । बीआर ०५ एच ६५०९ नम्बरको भारतीय मोटरसाइकलमा आएका २ जनाले डियुटीमा रहेका प्रहरीलाई लक्षित गरी सुतली बम प्रहार गरी भागे ।

बम प्रहार गरेर भाग्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ ग¥यो । उनीहरुलाई पिच्छा गर्ने क्रममा चौकीदेखि करिब एक किलोमिटर दक्षिण नेपाल–भारत सीमा दशगजा नजिकबाट उक्त मोटरसाइकलका चालक भारत बिहार राज्यको ढाका घर भएका २५ वर्षीय चन्दन कुमार पक्राउ परे ।

पक्राउ परेका चन्दन अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् भने फरार अर्का व्यक्तिको खोजी भइरहेको छ । स्रोत भन्छ, ‘आलमको समर्थनका लागि बर्दीवाला प्रहरी मार्न उनीहरुलाई परिचलान गरिएको हो । प्रहरी मारेर त्रास फैलाउने र साक्षीहरु तर्साउने उनीहरुको षड्यन्त्र थियो ।’

चन्दन कुमारले आफूलाई भारतीय नेताले बर्दीवाला प्रहरी मार्न पठाएको प्रहरी समक्षको बयानमा बताएका थिए । यद्यपि प्रहरीले भने सो घटनालाई तस्कर समूहका सदस्य वा अन्य त्यस्तै सामान्य घटना भन्दै थप अगाडि नबढ्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप