शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

होटल पौवा : आतिथ्यमा उत्कृष्ट

बुधबार, ११ मङ्सिर २०७६, ११ : ०५
बुधबार, ११ मङ्सिर २०७६

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । देशमा पर्यटक कसरी भित्र्याउन सकिन्छ भनेर सरकार र स्थानीय तह जोडतोडले लागिपरेको छ यतिबेला ।

भ्रमण वर्ष सफल पार्न भन्दै सरकारी मात्र होइन ठूलादेखि साना व्यवसायी पनि सरकारको यस योजनामा हातेमालो गर्न तम्तयार छन् ।

हुन त हरेक समयका लागि नेपाल पर्यटनको उत्कृष्ट गन्तव्य हो । तर पनि सरकारले नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्नकै लागि र विश्वसामु नेपालको छविलाई उचाइमा पुर्याउनका लागि पनि सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागेको हो ।

नेपालको प्राकृतिक सुन्दरता, विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल, नेपाली कला संस्कृति, भेषभूषा, जातजाति अनि रहनसहन पर्यटकलाई आकर्षित गर्ने मुख्य आधार हुन् ।

नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यमा पहिलो नम्बरमा पर्ने नाम हो लुम्बिनी । लुम्बिनीमा सबैभन्दा धेरै  पर्यटकले भ्रमण गर्ने गरेका छन् । विश्व सम्पदा सूचीमा रहेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै उत्कृष्ट भ्रमण गन्तव्यमध्येको एक हो । लुम्बिनी भ्रमण गर्नेमा बाह्य पर्यटक सँगसँगै आन्तरिक पर्यटक पनि उत्तिकै बढी छन् ।

बुद्ध जन्मस्थलको महत्त्व अनि आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बढ्दै जाँदा यो क्षेत्र व्यावसायिक हिसाबले पनि अगाडि छ । योसँगै लुम्बिनी र यस आसपासको क्षेत्रमा होटल व्यवसाय मौलाउँदै गएको छ ।

यो क्षेत्र स्थानीय उद्यमी व्यवसायीको मात्रै होइन अन्य क्षेत्रका उद्यमी व्यवसायीको पनि व्यवसाय विस्तार गर्ने मुख्य गन्तव्य बनेको छ ।

लुम्बिनीलाई केन्द्र बनाएर ५ नं. प्रदेश सरकारले थप पर्यटकीय क्षेत्रको समेत विकास गर्दैछ । धार्मिक एवं आध्यात्मिक पर्यटनका लागि पाल्पाको भैरवस्थान, रानीमहल, गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली भारतीय पर्यटका लागि समेत गन्तव्य हुन् ।

बाह्य पर्यटकका लागि कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र बर्दिया एवं बाँके राष्ट्रिय निकुञ्ज यसअघि नै चर्चित गन्तव्य बनिसकेका छन् ।

रोल्पाको जलजला रुकुमको सिस्ने नयाँ गन्तव्य बन्न सक्छन् । त्यसैले ५ नं. प्रदेशलाई आधार बनाएर यस क्षेत्रमा सुविधा सम्पन्न होटल, रिसोर्ट तथा लजहरुको विकास तीव्र देखिन्छ । व्यापारिक स्थल प्रदेश नम्बर ५ स्थित रूपन्देहीको बुटवल, भैरहवा लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुको विश्रामस्थल बन्दै गएको छ । 

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउनासाथ बाह्य पर्यटकको समेत आवागमन बढ्ने निश्चित छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैदेशिक यात्राका लागि नेपाली युवाकै समेत गन्तव्य बन्ने पक्का छ ।

त्यसैले यस क्षेत्रमा होटल व्यवसायको भविष्य राम्रो देखिएको छ । अहिले नै लुम्बिनी, भैरहवा, बुटवल केन्द्रित होटल व्यवसाय निकै फस्टाइसकेको छ । होटल उद्योगमा लगानी गर्नेहरु पनि दिन दिनै बढिरहेका छन् । यस्तैमा एक हो– ‘पौवा ग्रुप’ अन्तर्गतको ‘होटल पौवा प्राइभेट लिमिटेड’ । 

हस्पिटालिटीमा उत्कृष्ट पौवा

हस्पिटालिटीको क्षेत्रमा भिन्न पहिचान बनाउन सफल पौवा ग्रुपअन्तर्गतको होटल पौवाले प्रदेश नम्बर ५ का पर्यटकीय स्थलहरुलाई मध्यनजर गरी होटल सञ्चालनमा ल्याएको छ ।

रूपन्देहीको भैरहवाबाट होटल तथा रेस्टुरेन्ट व्यवसाय सुरु गरेको पौवा ग्रुपले प्रदेश ५ का प्रमुख स्थलहरुमा पुग्दा पौवाकै हस्पिटालिटी प्रदान गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ । पौवा ग्रुपले ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारालाई कम्पनीको पहिचानसँग जोडेको छ ।

तीन वर्षअघि सञ्चालनमा आएको पौवाले आठ वटा शाखा विस्तार गरिसेकेको छ । पौवाले लुम्बिनी क्षेत्रमा मात्रै तीनवटा होटल सञ्चालनमा ल्याएको छ । लुम्बिनी क्षेत्रको भैरहवा, बुटवल, कपिलवस्तुको गोरुसिंगे र दाङको लमहीमा होटल पौवा सञ्चालनमा आइसकेको छ ।

पाल्पाको तानसेनमा होटल निर्माणको अन्तिम चरणमा पुगेको छ भने स्वर्गद्वारी पर्यटनलाई लक्षित गरी दाङको भालुवाङमा स्विमिङ पुल र फिट्नेस सेन्टरसहितको होटल निर्माणाधीन छ । यसैगरी कर्णाली प्रदेशको गृष्मकालीन राजधानी जुम्लामा पनि यसअघि नै होटल पौवा सञ्चालनमा रहेको छ ।

प्रदेश ५ र कर्णाली प्रदेशको सम्बन्ध जोड्ने गरी गत वर्षदेखि कर्णाली प्रदेशको जुम्लामा सेवा विस्तार गरिसकेको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवाली बताउँछन् । उनका अनुसार निकट भविष्यमा मुगुको रारामा समेत होटल सञ्चालनका लागि तयारी भइरहेको छ ।

पौवा ग्रुपले गुल्मीस्थित मुख्य पयर्टकीय स्थल रेसुङ्गामा करिब १० करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट निर्माण सुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० भित्रै सञ्चालनमा ल्याउने गरी रेसुङ्गा नगरपालिकासँग पौवाले हालसालै सम्झौता गरेको छ । ढिलोमा २०७७ असोजबाट रिसोर्ट सञ्चालन गर्ने गरी काम अघि बढाएको छ ।

रेसुङ्गा धार्मिक र सांस्कृतिक रूपले पनि निकै महत्त्वपूर्ण मानिन्छ । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु रेसुङ्गाको संरक्षित वन क्षेत्रभित्र पर्छन् ।

पौवाले अतिथि सत्कारलाई मूल मन्त्रका रूपमा लिएको छ । हरेक आगन्तुकको सत्कार गर्नु अनि स्थानीय परिकार र संस्कृतिको उजागर गर्नु पौवाको लक्ष्य रहेको ग्रुपका अध्यक्ष दुर्गाप्रसाद भण्डारी बताउँछन् । ‘पौवाले आफ्ना सबै शाखाहरुबाट ग्राहकहरुलाई अर्गानिक खानाको स्वाद पस्किँदै आएको छ’, अध्यक्ष भण्डारी भन्छन्, ‘नेपाली रैथाने खानालाई व्यावसायिक रूपमा स्थापित गर्नु हामीहरुको लक्ष्य रहेको छ ।’

पौवा गु्रपले भैरहवामा स्विमिङ पुल, बोटिङ, हेल्थ क्लब, बाल उद्यानसहितको सेवा दिइरहेको छ भने बुटवल, भालुवाङ र रेसुङ्गा लगायतका क्षेत्रमा पनि सोही स्तरको सेवा दिने जनाएको छ । यस्तै, रेस्टुरेन्ट, पार्टी प्यालेस, सभा कक्ष, मिटिङ कक्ष, भीआईपी लन्च कक्ष लगायतको सेवा भने पौवाका सबै शाखामा उपलब्ध भएको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवाली बताउँछन् । 

त्यसैगरी, होटल पौवा ग्रुपले तराई मधेसको स्वादलाई प्रतिनिधित्व गर्ने भन्दै भैरहवामा पौवा चौतारीको पनि सुरुवात गरिसकेको छ । पौवा चौतारीले मौलिक नेपालीपन सहितका साकाहारी व्यञ्जन, मिठाई तथा तराई मधेसका परिकारहरु उपलब्ध गराउँदै आएको छ ।

पर्यटकीय क्षेत्रमा पौवा प्याकेज

पौवा ग्रुपका अनुसार पाल्पाको सुन्दर दृश्यावलोकनसहित रानीमहल घुमेर पौवा इन तानसेनको बसाइसँगै गुल्मीको रेसुङ्गामा पौवाकै सेवा उपभोक्ताले पाउनेछन् । अर्थात लुम्बिनीदेखि लुम्बिनीसम्मको पर्यटन प्रवद्र्धनको नारामा पौवाले आफ्नोसमेत भूमिका जोड्न खोजेको देखिन्छ ।

लुम्बिनीबाट भैरहवा–बुटवल हुँदै पाल्पाका पर्यटकीय क्षेत्रको भ्रमण गर्दै तानसेनमा बसेर गुल्मीको रेसुङ्गा समेत भ्रमण गर्न चाहनेका लागि पौवाले प्याकेज निर्माण सुरु गरेको छ । यो प्याकेजमा रेसुङ्गाबाट अर्घाखाँचीको सुपादेउरालीको दर्शन गर्दै गोरुसिङ्गे पुगेर त्यहाँबाट तिलौराकोट लुम्बिनी हुँदै पुनः भैरहवास्थित पौवामा बास बस्ने सुविधा मिल्नेछ ।

यस्तै, गोरुसिङ्गेबाट दाङको भालुवाङ हुँदै प्युठानको स्वर्गद्वारी भ्रमण पूरा गरी पुनः भालुवाङ बस्न चाहनेहरुका लागि समेत व्यवस्था मिलाउन लागेको प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिए । पौवाले ५ नं. प्रदेशका अधिकांश पर्यटकीय स्थलहरुलाई समेट्ने गरी प्याकेज बनाएको छ ।

‘नेपाल सरकारको भ्रमण वर्ष र प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुद्ध सर्किट अन्तर्गत रूपन्देही र कपिलवस्तुमा मात्र ३ वटा, पाल्पामा १, गुल्मीमा १ र दाङमा २ वटा शाखाबाट नेपालीपनको सेवा प्रदान गर्छौं, पौवाका अध्यक्ष भण्डारी बताउँछन् ।

‘नेपाल भ्रमण वर्ष २०२०’ विशेष योजना

पौवा ग्रुपले ‘नेपाल भ्रमण वर्ष २०२०’ र प्रदेश ५ सरकारको ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ लाई दृष्टिगत गर्दै सेवा विस्तारलाई तीव्रता दिएको छ । भ्रमण वर्षलाई सफल बनाउन पौवाले मौलिक नेपालीपन सहितको सेवा दिने दाबी गरेको छ ।

नेपालमा सञ्चालित अधिकांश होटलमा पश्चिमा, इन्डियन र चाइनिज हस्पिटालिटीको करिब करिब वर्चश्व रहेको छ । तर पौवामा पुग्ने ग्राहकले आतिथ्यतादेखि खानपान बसाइ र वातावरणमा समेत नेपालीपनको झल्को पाउने पौवाका अध्यक्ष भण्डारीको दाबी छ ।

अध्यक्ष भण्डारी भन्छन्, ‘लुम्बिनी आउने पर्यटकहरुको बसाइ लम्ब्याउन भैरहवा र बुटवलमा नेपाली हस्पिटालिटीसहित विदेशी पर्यटक लक्षित होटल सञ्चालनमा ल्याइएको छ’, उनी थप्छन्, ‘सालझण्डी, गोरुसिंगे, लमहीमा मध्यम वर्गीय आन्तरिक पर्यटकको समेत पहुँच हुने गरी सुविधा सम्पन्न होटल सञ्चालन गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप