शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्यो एक दिनको सुटिङ, जसले बनायो सन्तोषलाई निर्देशक

बुधबार, ११ मङ्सिर २०७६, १३ : १८
बुधबार, ११ मङ्सिर २०७६

विसं. २०४९ तिर सन्तोष लोहनी शान्ति विद्यागृह लैनचौरमा स्कुले जीवनको अन्तिम चरणमा थिए । त्यही समय चितवनबाट विष्णु लोहनी भन्ने उनका चिनजानका दाइ काठमाडौँ आए । बिदाको दिन पारेर विष्णुले उनलाई सुटिङ हेर्न जान कर गरे ।

निर्देशक नारायण पुरीको ‘सौता’ फिल्मको सुटिङ काठमाडौँ आसपासमा चलिरहेको थियो । विष्णुको पछि लागेर उनी फिल्मको सुटिङतिर हिँडे । त्यस दिन डिल्लीबजारस्थित चारखाल कारागारभित्र फिल्मको सुटिङ हुँदै थियो । विष्णुकै पहलमा निर्देशक नारायण पुरीसँग पनि उनको चिनजान भयो । बिना बुढाथोकी, करिष्मा मानन्धर र भुवन केसी लगायतका कलाकारका उक्त दिन सुटिङमा सहभागी थिए । 

‘सुटिङका लागि कारागारभित्र भिड चाहिएको रहेछ । नारायण दाइले तिमी फिल्म खेल्ने हो ? भनेर मलाई सोध्नुभयो’ सन्तोषले भने, ‘आफूलाई ढुङ्गो खोज्दा देउता मिलेझैँ भयो । अभिनयका लागि तुरुन्त राजी भएँ ।’
उनले अभिनेता भुवनको अगाडि पछाडि रहने कलाकारको रुपमा काम गरे । उनको सुटिङ एकछिनमै सकिएको थियो । तर दिनभरी त्यहीँ रहे । सुटिङका क्रियाकलाप, कलाकारको आनीबानी नियाले । दिनभर कलाकारको सुटिङ हेरेपछि आफूमा पनि अभिनयको भूत सवार भएको लोहनीले बताए ।

फिल्म ‘शुभ लभ’का निर्देशक लोहनी तिनै व्यक्ति हुन् । केही महिना अगाडि प्रदर्शनमा आएको फिल्म ‘शुभ लभ’ लोहनीको निर्देशन रहेको दोस्रो चलचित्र हो । यसअघि उनले ‘नारी’ भन्ने फिल्म निर्देशन गरेका थिए । महिलाको कथामा ‘नारी’ बनाएका लोहनीले ‘शुभ लभ’ प्रेमकथामा बनाएका छन् । 

‘शुभ लभ’ विदेशमा प्रदर्शन गराउने तारतम्यका लागि उनी बुधबार युरोप उड्दैछन् । यो यात्राको क्रममा आफूले यूकेमा ६, जर्मनीमा ३, बेल्जियममा ३, पोर्चुगलमा ५, नर्वे, फिनल्यान्ड र स्पेन लगायतमा फिल्मको सो गर्ने उनले बताए ।

अहिले ‘शुभ लभ’ लिएर उनी विदेश जानुमा दुई कारण छन् । एक, नेपाली चलचित्रको व्यापार प्रवद्र्धन, प्रचारप्रसार र नेपाल भ्रमण वर्ष २०२० को प्रचार पनि हो । अर्काे कारण, नयाँ फिल्मका लागि लोकेसन र कलाकार छान्नु पनि मुख्य उद्देश्य रहेको लोहनीले सुनाए ।

प्रेमकथामा बनेको ‘शुभ लभ’को प्रदर्शनले नेपाल भ्रमण वर्ष २०२० लाई कसरी सहयोग पुग्ला ? ‘हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरा लगायतका स्थानमा फिल्ममा समेटिएको छ । यसले देशको भूभाग चिनाउन मद्दत गर्छ भन्ने मेरो विश्वास छ,’ लोहनीले थपे ।
हिरो हुने अठोट
लोहनी सीधै निर्देशक भएका भने होइनन् । उनी कलाकार, मोडल हुँदै निर्देशनमा होमिएका हुन् । जतिबेला उनी नारायण पुरीको फिल्म सुटिङ हेर्न गएका थिए, सो समय उनको लक्ष्य ‘बिजनेस म्यान’ बन्ने थियो । ‘त्यो दिनको सुटिङले मेरो लक्ष्य नै परिवर्तन भयो,’ लोहनीले भने, ‘बिजनेस म्यान बन्ने लक्ष्य मेरो कलाकारितातिर मोडियो ।’

उनमा कलाकारिताको भूत सवार हुनुको यो मात्र पर्यात कारण भने थिएन ।  २०४२ मा नेपाल टेलिभिजनको सुरुवात भएको थियो । उक्त समय घरमा नभए पनि उनी छिमेकीको घरमा नियमित टिभी हेर्थे ।

त्यतिबेला टिभीमा आउने सिरियलका कलाकारलाई उनी भगवानजस्तो ठान्थे । स्कुल जाँदा र फर्कंदा टिभीमा देखेको कलाकार बाटेमा भेट्दा अजीव लाग्थ्यो । उनी तिनीहरुलाई पछ्याउँदै टाढासम्म पुग्थे । कसैसँग चिनजान गर्ने अवसर भने जुरेको थिएन ।

‘सौता’को सुटिङले उनलाई कलाकारका बारेमा बुझ्ने र चिनजान गर्ने मौका दिलायो । अभिनय गर्ने मानिस पनि आफूजस्तै सामान्य हुँदा रहेछन् । एकै पटकमा नभएर पटक पटक लगाएर आफ्नो भूमिका अन्तर्गत अभिनय गर्न पाइँदो रहेछ । अभिनयको बारेमा यस्ता धेरै कुरा उनले बुझे । 

सुटिङबाट घर फर्किएपछि दिनभरीका कुरा उनले मनन गर्न थाले । ‘अब एक वर्षभित्रमा आफै फिल्म बनाउँछु,’ उनले अठोट लिए ।

‘सौता’को सुटिङमा गएको त्यस्तै ५, ६ महिना बितेको थियो । उनी फिल्म निर्माणको तयारी पनि गर्दै थिए । ‘सौता’ रिलिज भयो । यो फिल्म उनले ३, ४ पटक हेरे । 

‘धेरै पटक ‘सौता’ हेर्नुको कारण पर्दाका आफू कस्तो देखिएको छु भनेर मूल्याङ्कन गर्नु थियो,’ लोहनीले भने, ‘फिल्ममा मेरो सानो भूमिका भए पनि राम्रो देखिएको रहेछु ।’ त्यसैले आफूले हिरो भएर अभिनय गर्ने अठोट गरेको उनले खुलाए ।
विपनाको हिरो म
हिरो त खेल्ने । तर अरूले उनीजस्तो नयाँ कलाकारलाई हिरोमा कसैले मौका दिने कुरै थिएन । उनी ठूलो फिल्म बनाउन पनि सक्दैन थिए । ‘भए पास, नभए अभ्यास’ भन्ने सोचेर सानो लगानीमा भिडियो फिल्म ‘अपमान’ बनाउने तयारी गरे ।

त्यतिबेला भिडियो फिल्म चलाउन पनि सजिलो थियो । फिल्मको निर्देशकमा परशुराम चौधरी लिएर उनी हिरोइनको खोजीमा लागे । उनले पुरानोभन्दा नयाँ हिरोइन लिनुपर्ने भयो । उनले कारण खोले, ‘पुरानाले टेर्दैनन् । समयको समस्या हुन्छ । धेरै नखरा देखाउँछन् भनेर धेरैले भनेका थिए ।’

नयाँ र राम्रो केटीको खोजी गर्ने क्रममा विपना थापाको बारेमा उनले थाहा पाए । कलङ्कीमाथि रहेको विपनाको घर पुगेर उनले अभिनयका लागि अफर गरे । 

‘आफू पनि नयाँ भएकाले नयाँसँग काम गर्न सजिलो हुन्छ भन्ने मेरो बुझाइ थियो,’ उनी ती दिनमा फर्किए, ‘एक साथीले विज्ञापनको केटी पनि फिल्म खेल्न इन्ट्रेस्टेड छ भनेपछि विपनाको खोजीमा लागेका थियौँ ।’

त्यतिबेला विपनाले अभिनय गरेको प्यान्थरको विज्ञापन टिभीमा र हलमा धेरै बज्ने गरेको उनले सुनाए । लोहनीले अगाडि थपे, ‘फिल्मको अफर विपना अस्वीकार गर्लिन् भन्ने डर थियो । तर उनले सजिलै स्वीकारिन् ।’
अनि फिल्म ‘अपमान’मा उनी विपनाको हिरो भए । अभिनेत्री विपना थापाको पनि यो डेब्यु फिल्म थियो ।

कमजोरी केलाए 
भिडियो फिल्मको रूपमा ‘अपमान’ बन्यो । सो समय भिडियो फिल्मको मार्केट राम्रो थियो । चलाउने हाइभिजन हल पनि धेरै थिए । उनको फिल्म पनि राम्रै चल्यो । तर ४ लाख खर्च भएको फिल्मबाट २०, २५ हजार मात्र उनको हातमा पर्यो । 

फिल्मबाट पैसा नआए पनि उनले चर्चा धेरै पाएका थिए । उनलाई बधाईका ओइरो लाग्यो । चर्चाका अगाडि उनले डुबेको लगानी बिर्सिए । अर्काे फिल्ममा अझै राम्रो गर्ने भनेर आफ्नै कमजोरी केलाउन थाले ।

फिल्ममा निरन्तरता दिने सोच हुँदाहुँदै विदेश अध्ययनका लागि एक अवसर उनको हातमा पर्यो । जाने इच्छा नहुँदा नहुँदै परिवारको करकापका अगाडि उनको केही लागेन । त्यसैले उनी ट्राभल एन्ड टुरिजम अध्ययन सिलसिलमा ‘अपमान’ रिलिज लगत्तै सिङ्गापुर उडे । केही समयपछि दुई साताका लागि सिङ्गापुरको कलेज बिदा भयो । बिदा सदुपयोग गर्न स्विजरल्यान्ड पुगे । 

‘स्वीट्जल्यान्ड धेरै महँगो देश रहेछ । मैले एक दुई महिनालाई पुग्छ भनेर लगेको पैसा दुई सातामै सकियो,’ सन्तोषले भने ‘त्यसपछि त्यहाँबाट जर्मन हानिएँ ।’

जर्मनीमा राम्रो छैन भनेर बुझेपछि उनी फेरि बेल्जियम पुगे । बेल्जियममा संयोगले उनले लमजुङका चिनजानका मानिस भेटे । काम पनि राम्रो पाएकाले उनी करिब १८ महिना बेल्जियम बसे ।

बेल्जियममा उनको सबै कुरो ठिकठाक चल्दै थियो । पर्मानेन्ट बसोबासको पेपर पनि आउने तयारीमा थियो । तर अभिनयको भुतले भने उनलाई सताइरहेको थियो । उनले नेपाल फर्किने सोच बनाए । त्यहाँका साथीभाइले ‘नेपालबाट १५, २० लाख तिर्दा पनि आउन सकेका छैनन् । तँ नजा’ भनेका त थिए । तर कलाकारिताका कारण उनी नेपाल फर्किए । उनले फर्किनुको कारण खोले, ‘मलाई घरको न्यास्रो पनि भएको थियो । कलाकारिताको नसाले त्यहाँ जति कमाइ भए पनि बस्न सकिनँ ।’

हिरो छोडेर निर्देशक 
नेपाल फर्किएपछि उनको भेट कलाकार, निर्देशक दिनेस डीसीसँग भयो । सो समय डीसी फिल्म क्षेत्रका चल्तापुर्जा व्यक्ति थिए । उनी पनि मोडल जस्तो देखिन्थे । ‘भेट बाक्लिँदै जाँदा डीसीदाइले भिडियो अभिनय अफर पनि दिनुभयो,’ लोहनी भन्दै थिए ‘एक, दुई गर्दै डीसीका करिब दर्जन भिडियो खेलेँ ।’

त्यही क्रममा नेपाल टेलिभिजनबाट ‘एलजी चौधरी क्विज’ भन्ने कार्यक्रममा सुरु भयो । अभिनेता राजेश हमाल सञ्चालक रहेको कार्यक्रममा उनले सहयोगी निर्देशकको जिम्मेवारीसमेत पाए । साथमा सिरियल र भिडियो अभिनय गर्दै गए ।

‘अभिनयको क्रममा कलाकारभन्दा निर्देशक ठूलो रहेछ भन्ने उनले बुझिसकेका थिए । लोहनीले भने, ‘अनि हिरो छोडेर निर्देशक बन्छु भन्ने अठोट गरेँ ।’

‘नारी’ पहिलो फिल्म 
निर्देशक बन्ने अठोटपछि पनि उनले केही भिडियो, सिरियलमा अभिनय गरे । यी अभिनय उनले कलाकारितामा राम्रो गर्नभन्दा पनि निर्देशकको पाटो बुझ्न गरेका थिए । सोही क्रममा समाजमा घटिरहने विषयमा ‘नारी’ भन्ने फिल्मको कथा उनको हात पर्यो । अहिलेको सफल निर्देशक नवल नेपाललाई सहायक लिएर उनले फिल्म ‘नारी’ निर्देशन गरे ।

रेखा थापा, मिथिला शर्मा, सुभद्रा अधिकारी, लक्ष्मी गिरी, गणेश मुनाल, सुनिल थापा कलाकार राखेर बनाएको ‘नारी’को लगानी विदेशबाटै सुरक्षित भयो । नेपालको आम्दानी ‘नाफा’ भयो । 

‘नारी’ फिल्मपछि उनले नेपाल टेलिभिजनमा समय किनेर विदेशमा बस्ने नेपालीको सुख, दुःखका कथा प्रसार हुने कार्यक्रम ‘हेलो नेपाल’ करिब एक वर्ष चलाए । यो क्रममा उनको फिल्मी भूत केही सेलाएको थियो । तर धर्म सुवेदी भन्ने साथीले त्यो भूत फेरि जगाइदिए । उनकै सहकार्यमा बनेको फिल्म हो गत वर्ष प्रदर्शनमा आएको ‘शुभ लभ’ ।

ज्योतिष हरिहर अधिकारी, क्रिस्टिना पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रवीन्द्र झालगायतको अभिनय रहेको फिल्मले स्वदेशमा समीक्षकको प्रतिक्रिया राम्रो पाए पनि व्यवसाय भने सोचेअनुसार गर्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप