शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङ उपनिर्वाचन : तीव्र विकासले दलहरुलाई स–गौरव भोट माग्न सहज !

बुधबार, ११ मङ्सिर २०७६, १३ : ३६
बुधबार, ११ मङ्सिर २०७६

बागलुङ । गुल्मीको रिडी बजारबाट अघि बढेपछि रुद्रवेणी हुँदै केही अगाडिसम्म कालोपत्रे सडकको यात्रा गर्न पाइए पनि बागलुङको सिमानामा पर्ने मुसिकोट नगरपालिकाको अन्तिम दरमखोलासम्म धुलाम्मे सडकमा त्यही धुलो खाँदै दरमखोला पुल तर्नुपर्छ । पुल तरेपछि बागलुङ पुगिन्छ । पुल तर्नासाथ हाँडीखोला बजार पुगिन्छ, त्यहाँबाट सुरु हुन्छ फराकिलो र पक्की सडकका साथै उपनिर्वाचनको माहौल ।

मङ्गलबार हाँडीखोला हुँदै खर्बाङ पुग्दा बडिगार्ड वडा नम्बर २ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका डिलबहादुर राना मतदातासँग मत माग्दै थिए ।

उनीसँगै उनका समर्थक तथा काँग्रेस कार्यकर्ताहरु माथिल्लो गाउँबाट खर्बाङ बजार झर्दै गरेका भेटिए । रातोपाटीले वडाध्यक्षका उम्मेदवार रानासँग कुराकानी गर्ने समय माग्यौँ । तर रानाको पूर्वनिर्धारित कार्यक्रम तय भएकाले हामीलाई उनले समय दिन नसक्ने कार्यकर्तामार्फत जानकारी गराए ।

त्यसपछि वाम गठमन्धनबाट वडाध्यक्षका उम्मेदवार बनेका ढालेन्द्र शेरचनलाई भेटेर कुराकानी गर्ने निर्णय गरियो । शेरचन समाज सेवाका क्षेत्रमा पनि परिचत छन् । शेरचनका प्रतिस्पर्धी काँग्रेस उम्मेदवार राना पनि अति सीमान्तकृत कुुमाल समुदायबाट आएकाले शेरचन जस्तै समाजमा भिजेका व्यक्ति भनेर चिनिन्छन् ।

यद्यपि यो वडामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्दा काँग्रेस कमजोर देखिन्छ । विगतको निर्वाचनमा एक्लाएक्लै लड्दा पनि  एमालेका उम्मेदवार विष्णु भुसालले काँग्रेस उमेदवार होसियार सिंह थापालाई झण्डै दोब्बर मतान्तरले पराजित गरेका थिए । एमालेका भुसालले ६ सय १४ मत ल्याउँदा काँग्रेसका थापाले जम्मा ३ सय २३ मत पाएका थिए ।

अहिले नेकपाका उम्मेदवार शेरचनलाई सिङ्गो पार्टीको अलवा राष्ट्रिय जनमोर्चाको समेत साथ सहयोग छ । सायद त्यसैले पनि शेरचन भन्छन्, ‘यसपालि हामीले ४ सयभन्दा बढी मतले  वडाध्यक्षमा विजयी हासिल गर्दैछौँ ।  शेरचनले आफू वडाध्यक्षमा विजयी भए साविकको दगातुमंडाँडा गाविस र हालको वडानम्बर २ लाई देशकै नमुना वडा बनाउने उद्घोष गरे । ‘शिक्षा, स्वास्थ्य र अन्य भौतिक विकास गर्ने मेरो योजना छ’, सटिक योजना सुनाए ।

सङ्घीयताको शुभसङ्केत 

गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र रहेको बामीटक्सार बजारमा स्थानीय तहको निर्वाचनसम्म रुद्र्रवेणी वामीटक्सार सडकको अवस्था बेहाल थियो । ठाउँ ठाउँमा खाडल र  घण्टौँसम्म जाम हुने गर्दथ्यो ।  स्थानीय तहको निर्वाचनपछि सत्यवती गाउँपालिका र मुसिकोट नगरपालिकाले उक्त सडकको ग्राभेलिङ गरेर सहज बनाएको छ । तर नजिकै रहेको बाग्लुङमा विकासको धिमा गतिले गुल्मीका ठूला नेता प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुदर्शन बराल, चन्द्र भण्डारी लगायतलाई गिज्याइरहेको प्रस्टै देख्न सकिन्छ ।

जबकि रिडी, रुद्रवेणी–बामीटक्सार सडक  यस भेगकै पहिला  खनिएको सडक हो । बामीटक्सारमा भन्दा  पहिला बागलुङको खर्बाङमा त्यही मेटरबाटो हुँदै २०४७ सालमा  ट्याक्टर आएको थियो । मोटरबाटो खनेर गाडी चलेकै ३० वर्ष नाघिसक्दा समेत रुद्रवेणी बामीटक्सार सडकको हविगत गएगुज्रेको देख्दा १० वर्षअघि मात्र खन्न सुरु गरिए मध्येको पहाडी लोकमार्ग हेर्दा गुल्मीका ठूला नेताहरुलाई थोरै लाज लाग्नुपर्ने स्थानीयहरु नै बताउँछन् ।

डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री र तत्कालीन एमालेका सुरेन्द्र पाण्डे अर्थमन्त्री भएकाबेला २०६५÷०६६ तिर खन्न सुरु गरिएको डबलेनमध्ये पहाडी लोकमार्ग  साँच्चैको लोक मार्ग बनेको छ ।  खर्बाङको सदरमुकामबाट रुकुमसम्म १ सय ४४ किलोमिटर बुर्तिबाङसम्मको ९२ किलोमिटर सडक पूरै पीच छ ।

पोखरादेखि बुर्तिबाङसम्म चिल्ला कार २४सै घण्टा गुड्छन् । यस्ता विकट गाउँमा समेत तीव्र विकास देख्दा सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन जुनजुन दल र उमेदवारहरुले जिते तिनीहरुलाई ठाडो शिर पारेर  जनतासँग सगौरव भोट माग्न जानसक्ने अवस्था बनाएको पाइयो ।

तीन तहका सरकार बनेपछि स्वरोजगारी पनि धेरैले पाएका छन् । सडक कामदारदेखि स्थानीय सरकारसम्मको जागिरले हजारौँ बेरोजगार हुन पाएका छैनन् । तरकारी खेती वा अन्य सीप सिकेर नै किन नहोस् मानिसहरु आआफ्ना काममा व्यस्त बनेका छन् । बडिगाडखोला लगायतका स्थानमा कतै लघुजलविद्युत सम्पन्न भएका र कतै निर्माणको चरणमा रहेका छन् । बडिगाड खोलाबाटै गुल्मीको सत्यवती, मुसिकोट, बाग्लुङको बडिगाड र ढोरपाटनबासीलाई समृद्धि दिनसक्ने धेरैको विश्वास छ ।

बजारीकरण तीव्र

 खर्बाङबाट सक्न्यारा  र लब्धीखोलाको पुल तरेपछि बडिगाड  गाउँपालिका वडा नम्बर ५, साविक ग्यालीचौर गाविसको न्वारा बजारमा पुग्दासम्म ठाउँ ठाउँमा विभिन्न राजनीतिक दलका झण्डा र चुनावी प्रचारका सामग्री जताततै देखिन्थे । बडिगाड २ को दगातुम डाँडासम्म मोटरबाटो पुगेको छ । मध्य पहाडी लोकमार्ग किनारमा पक्की घरहरु धमाधम बन्दै गरेका छन् ।

कुनै समय गुल्मीको सदरमुकाम तम्घासका मानिसहरुले  बाग्लुङका मानिसहरुलाई ‘पाखे’ भन्दै उपहास गर्थे तर अहिले युवा पिढीमा शिक्षा, स्वास्थ्य र सभ्यताको विकास छैन ।  भाङ्ग्रा लगाउने, आधुनिक फेसनमा ध्यान नदिने बागलुङका  बुढापाकाहरु  उतिबेला जस्तै अहिले पनि नभएका भने होइनन्  तर युवाहरुले काठमाडौँ, पोखरा र धरानका जस्तै आधुनिक फेसन टपक्कै टिपेका देखिन्छन्  ।

पारि गुल्मीको पौदी, नेटा, दर्लिङ, वारि बाग्लुङको ग्वालचौर, माथि जलजला, सिसाखानी, पाण्डपखानी लगायत त्यस भेगको पुराना व्यापारिक केन्द्र खारा थियो । न्वारानमा सानो हटिया मात्रै थियो । तर अहिले न्वारा, खौलारा,  खारा, एक्लेखेत, खाला, भिमगिठेदेखि बुर्तिबाङसम्म बजारीकरण तीव्र भएको छ ।

हिजोका कच्ची झपटी पक्की भवनमा परिणत भएका छन् । ठाउँ ठाउँमा सुविधा सम्पन्न होेटल र रिसोर्ट छन् । रिसोर्टमा काठमाडौँ, पोखरा, बुटवल र भैरहवासम्मका मानिसहरुको जमघट बढ्दो छ । बडीगाडखोलाका मीठा माछाले पनि टाढा टाढाका मानिसलाई तानेको छ ।

त्यसमाथि ढोरपाटन  शिकार आरक्ष र त्यहाँको उपत्यका उत्तरगङ्गाले यो भेग भोलिको पोखरा बन्दैछ भन्ने सङ्केत भौतिक संरचनाले पनि गर्छ । न्वारादेखि बुर्तिबाङसम्म कुनै पनि राजनीतिक दलका झण्डा र ब्यानर र पोस्टरहरु देखेनौँ । तर बुर्तिबाङ बजारभित्र पसेपछि चुनावी महौल तातेको देन्थ्यिो । उमेदवारहरु गाउँ केन्द्रित थिए ।

तुरतुरे ताल–बेहाल

गत भदौ २९ गते पहिरोले  थुनेर झण्डै एक वर्षसम्म रमणीय बनेको तुरतुरे ताल अहिले फुटेको छ । तर पहिरो जान रोकिएको छैन । पहिरोले साउन २० गते पक्की सडकसमेत बगाउँदा झण्डै एक महिना ढोरपाटन र बडिगाडबासीलाई ठूलै सास्ती दियो । अहिले स्थानीय स्तरमा फुटेको सडक मर्मत गरेर गाडी चल्ने बनाए पनि अवस्था बेहाल नै छ । माथि पहाडका ढुङ्गा  र माटो खसिरहने र सडक अवरुद्ध गर्ने क्रम चलेकै छ । त्यसैले पनि ढोरपाटन नगरपालिकाले चौबीसै घण्टा त्यो स्थानमा डोजर तयारी राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप