बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४० बर्ष पुराना साथीसँग बाबुरामको अर्को ‘डिभोर्स’

शनिबार, ०३ भदौ २०७४, १२ : ४८
शनिबार, ०३ भदौ २०७४

काठमाडौँ । प्रचण्डसँग ‘डिभोर्स’ गरेर भिन्दा ‘चुलो’ चलाएका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईमाथि एकपछि अर्को दबाब परेको छ । बिरामी भएर आराम गरिरहेका पछिल्ला दुई साता उनका लागि सुःखद रहेन ।

नयाँ शक्तिभित्र देखिएको विवाद ‘डिभोर्स’ को तहमा पुगेको छ । पार्टीभित्र बहस, पत्रकार सम्मेलन र २४ घण्टेस्पष्टीकरण हुँदै असन्तुष्ट नेताहरु निस्कानमा परेपछि विवाद ‘डिभोर्स’ को तहमा पुगेको हो । यस अघि रामेश्वर खनाल, मुमाराम खनाल, महेश कर्मोचा, रामचन्द्रा झा र रामकुमार शर्माजस्ता नेताले बाबुरामसँग ‘डिभोर्स’ गरिसके ।

नयाँ शक्तिले पार्टीबाट निकाल्यो देवेन्द्र पौडेलसहितका नेतालाई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईसँग देपेन्द्र पौडेलसहितका १५ नेताको असन्तुष्टि श्रृंखलाबद्ध रुपमा बढ्दै गयो र भदौ २ गतेसम्म आउँदा ‘डिभोर्स’को तहमा पुगेको हो । भदौ २ गते साँझतिर नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईको प्रेस वक्तव्य आयो, जुन पौडलसहितका नेताहरुसँग भएको ‘डिभोर्स पेपर’ थियो ।

यसपाली जसले बाबुरामसँग ‘डिभोर्स’ गरे, उनीहरु राजनीतिक जीवनमा बाबुरामसँगै थिए । त्यो दुई चार तथा आठ–दश वर्ष होइन, तीन दशकभन्दा बढी समय । यसकारण १५ जना नेताले लिएको ‘डिभोर्स’ बाबुरामका लागि भावनात्मक हुन सक्छ ।

भदौ २ मा जारी भएको नयाँ शक्तिको पछिल्लो विज्ञप्तिमा ‘पार्टी नीति र विचार विपरित कार्य गर्दै आएकोमा पटक–पटक यसो नगर्न सचेत गराई रहँदा पनि उहाँहरुले पार्टी विरोधी गतिविधि गरिरहेको हुँदा पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत निष्काशन गरिएको’ उल्लेख थियो । यसरी नयाँ शक्तिको निस्कानमा पर्ने नेताहरुमा थिए, नयाँ शक्ति पार्टी नेपालका संघीय परिषद सदस्य देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारसहितका १५ जना ।

भट्टराई विज्ञप्ति आउनुभन्दा केही घण्टा अगाडि पौडेलसहितका नेताहरुको विज्ञप्ति थियो, त्यसैका आधारमा बाबुरामले कदम चालेका थिए ।

देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिसँग डिभोर्सको तयारी, बन्यो ध्रुविकरण समिति

‘नयाँ शक्ति पार्टी, नेपाल, वृहत धुव्रीकरण केन्द्रीय संयोजन समिति’को लेडर प्याडमा आएको पौडेलसहितका असन्तुष्ट १५ नेताको संयुक्त विज्ञप्तिमा आफुहरुले नयाँ शक्ति छाडेको भन्ने छैन, बरु अहिलेको अबस्थामा नयाँ शक्तिसहितका शक्तिहरुबीचको ब्यापक धुव्रीकरणको महत्व दर्साइएको छ ।

विज्ञप्तिमा सबै अग्रगामी शक्तिहरुबीचको व्यापक धुव्रीकरणको पहलकदमी र सक्रिय भूमिका निर्वाह गर्नका लागि नयाँ शक्ति पार्टी नेपाल महाधिवेशन आयोजक समितिका संयोजक देवेन्द्र पौडेलेको संयोजकत्वमा भदौ १ गते वृहत धुव्रीकरण संयोजनक समिति गठन भएको जनाइएको छ । भदौ १ गते नै पौडेलसहितका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । भदौ १ गते संयोजन समिति बनेपनि विज्ञप्ति चाहीँ अर्कोदिन अर्थात भदौ २ मा जारी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मूलकमा प्रतिगमनकार िशक्ति र यथास्थितिवादी शक्तिहरुले प्राप्त उपलब्धीविरुद्ध धावा बौल्दै कुनै पनि समयमा प्रतिगमनतर्फ धकेल्न सक्ने व्यापक आंशका विद्यमान छ । यो विषयमा समयमै जनतालाई सचेत गर्दै प्राप्त उपलब्धीको रक्षा र थप अग्रगामी उपलब्धी प्राप्तिका पक्षमा उभिने समान एजेन्डा बोकेका राजनैतिक शक्तिहरुबीचमा व्यापक धुव्रीकरण बिना उपलब्धिको रक्षा र प्रतिगमनकारीहरुको सबै खाले षड्यन्त्रकारी कदमलाई विफल पार्न र प्रतिगमनकारी कदम रोक्ने विषय प्रभावकारी हुँदैन ।’

नयाँ शक्तिले ‘बाम–लोकतान्त्रिक’ आर्दशको कुरा गरेको छ । तर, १५ जना नेताको पछिल्लो विज्ञप्तिले माक्र्सवादको कुरा गरेको छ । यसरी हेर्दा डा.भट्टराई र पौडेलसहितका नेताबीचको ‘डिभोर्स’ माक्र्सवाद’ को मुद्दाले कही न कही काम गरेको देखिन्छ । विज्ञप्तिमा माक्र्सवादको पक्ष यसरी उठाइएको छ, ‘माक्र्सवादको आधारभूत सिद्धान्तद्वारा निर्देशित नेपालको सामाजिक विशिष्ठतालाई सम्बोधन गर्ने नयाँ मोडलको समाजवादी शासन प्रणाली स्थापित गर्न, नेपालको राष्ट्रिय राजनीतिमा तत्काल उपस्थिति र हस्तक्षेपपूर्ण भूमिका निर्माणका लागि समान मुद्दा । समान एजेन्डा बोकेका राजनीतिक पार्टी र नेतृत्वबीच व्यापक घुव्रिकरण’ खाँचो देखाइएको छ । यस्तो घुव्रीकरण माओवादी जनयुद्धपक्षधरका घटकहरु, मधेश आन्दोलन, आदीवासी–जनजाती आन्दोलन, थरुहट आन्दोलन, महिला–मुस्लिम तथा दलितलगायत आन्दोलनमा सहभागीवीचका लागि अपिल गरिएको छ । माओवादी अध्यक्ष प्रचण्डले पटक–पटक जनयुद्ध लडेका शक्तिहरुबीचको एकतामा जोड दिइरहँदा डा.भट्टराई चाहीँ यसको विपक्षमा उभिएका थिए । र, माक्र्सवादको ब्याख्यामा प्रचण्ड र डा.भट्टराईका फरक–फरक विश्लेषण आइरहेका थिए ।
 
नयाँ शक्तिभित्र यसरी ‘डिभोर्स’ एकाएक भएको चाहीँ होइन । यसका पछाडि केही देखिने घटनाक्रम भए भने केही राजनीतिक–वैचारिक पाटाहरुले काम गरेका छन् । पौडेलसहितका १५ नेताको भदौ २ गतेको विज्ञप्तिलाई आधार मान्ने हो भने जेठ ३० देखि ३२ सम्म भएको नयाँ शक्ति नेपालको प्रथम राष्ट्रिय भेलापछिका दिनमा पार्टीले सोझाउनुपर्ने मुख्य राजनीतिक कार्यदिशा र विचार निर्माणको विषय पार्टीभित्र पेचिलो भन्दै गएको थियो ।
 
विज्ञप्तिलाई मान्ने हो भने त्यसपछि साउन ९ देखि १३ गतेसम्म चलेको केन्द्रीय कार्यकारणी समितिको बैठक र संघीय भेला लगायत पटक–पटकका बैठकमा अबको राजनीतिक गन्तव्य र कार्यदिशा स्पष्ट हुनुपर्ने विषयमा मौखिम र लिखित सुझाव पार्टी संयोजक भट्टराईलाई दिइएको थियो । त्यस्ता विषयहरु पार्टी बैठकमा छलफल गर्नुको साटो आलटाल गरिएको र पार्टीको राजनैतिक कार्यदिशा स्पष्ट गर्ने विषयमा पार्टी नेतृत्व गंभीर नभएको विज्ञप्तिमा दाबी गरिएको छ ।

देवेन्द्रको १० बुँदे आरोप : बाबुराम एकाडेमिकको घेराबन्दी परे, पार्टी एनजिओजस्तो भयो

 
नयाँ शक्तिभित्र राजनीतिक–वैचारिक समस्या र अन्तरविरोध थिए भन्ने कुरा पौडेलसहितका १५ जना नेताको विज्ञप्तिले देखाउँछ । यसबाहेक केही प्राविधिक पक्षहरु पनि थिए, जसले डा.भट्टराई र पौडेलसहितका नेताहरुबीचको ‘डिभोर्स’ मा ‘रसायन’ को काम गर्यो । जस्तो कि, संघीय समाजवादी फोरम र नयाँ शक्तिवीच कार्यगत एकताहुँदै एकतासम्म पुग्न खुवै कोशिस भयो । चुनावमा आंशिक कार्यगत एकता पनि भयो । एउटै चुनाव चिन्हमा दुवै पार्टी लडे । तर, निर्णायक अबस्थामा दुई पार्टीबीचको एकता भाँडियो । एकता भाँडिएपछि रामचन्द्र झा र रामकुमार शर्मा लगायतका नेताहरुले बाबुरामसँग ‘डिभोर्स’ गरेर पुरानै घर माओवादी केन्द्रमा फर्के ।
 
एकातिर स्थानीय तहको चुनावमा कमजोर अबस्था र अर्कोतिर संघीय समाजवादीसँगको एकता रोकिएपछि पौडेलसहितका नेताहरुमा गंभीर आंशका देखियो– अब नयाँ शक्तिको भविष्य के ? यहीँ तरिकाले संगठन चलाउने हो भने नयाँ शक्ति कहिलेपनि शक्तिमा आउँदैन भन्ने निश्कर्षमा पुगे । अहिलेको राजनीतिक परिवेशमा विचारको मात्र कुरा गर्ने राजनीतिक पार्टीबाट परिवर्तन सम्भव हुँदैन भन्ने निश्कर्षपछि पौडेलसहितका नेताहरुले ‘डिभोर्स’ को बाटो खोज्न थालेका थिए ।

र, यसैको नतिजा थियो साउन २६ गते बागबजारमा पत्रकार सम्मेलन । पौडेलसहितका नयाँ शक्तिका नेताहरुले ‘बृहत ध्रुबिकरणको आवश्यकता’ बारे आफ्नो अपिलमा भनेका थिए, ‘नयाँ शक्ति पार्टी बैकल्पिक राजनीतिक धार हो । तर आदर्शवादी कुरा गरेर समाज र परिस्थितीको मूल्यांकन नगरी संघर्षबिना शक्ति आर्जन हुँदैन । बर्तमान देशको राजनीति यसले उव्जाएको स्थिरत र शक्तिको रुपमा देखा परेका पुराना राजनीतिक दलहरुलाई चुनौती दिन प्रत्यक्ष कार्यकारी राष्ट्रपति तथा पूर्णं समानुपातिक संसद संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता र समाजिक न्यायसहित हामीले उठाएका ५ (स) का कार्यनीतिलाई स्वीकार गर्ने दलसित आग्रह पूर्वाग्रह नराखि सबैसित ध्रुविकरण र पार्टी एकताको दिशामा अगाडि बढ्नु अहिलेको आवश्यकता हो । यदि त्यसो गरिएन भने प्राप्त उपलब्धि गुम्ने र प्रतिगमन हुँदै  विशेषतः हामी माओवादीलाई आतंककारी घोषणा गर्ने र पहिचानवादीहरुलाई जातीय साम्प्रदायीकता भड्काउने भनेर आरोपित गर्ने स्थिति हुन सक्दछ यहाँनिर गम्भिर हुन जरुरी छ । आधारभूत विचार, दर्शन, राजनीतिक कार्यदिशा, मिल्नेसित बृहत छलफल गरेर बर्गिय पक्षधर, पहिचानका पक्षधर, अग्रगामि विचार राख्नेहरुबीच ध्रुबिकरण होस् र यथास्थितीवादीको बिरुद्ध संघर्ष गर्न मोर्चा बनाउने पक्षमा हामी छाँै । सबैलाई यो अपील पनि गर्न चाहन्छौँ ।’
 
पत्रकार सम्मेलन नयाँ शक्तिभित्रको विवाद सडकमा आउनलाई प्रमुख कारण बन्यो ।

पौडेलसहितका नेताहरुको यो अपिललाई जवाफ दिदै भट्टराईले विज्ञप्तिमा भनेका छन्, ‘पार्टी संस्थागत रुपमा नै अहिले पनि निरन्तर ध्रुवीकरणका पक्षमा छ । विभिन्न व्यक्ति÷व्यक्तित्व, समूह र पार्टीहरुसँग नियमित संवाद तथा ध्रुवीकरणको प्रयास भइरहेकै छ । आगामी निर्वाचनको सामना कसरी गर्ने, कस्तो प्रकारको निर्वाचन समीकरण वा मोर्चाबन्दी गर्ने वा नगर्ने ? यसमा पनि पार्टीव्यापी रुपमा छलफल चलिरहेकै छ । यी सबै विषयमा गम्भीर छलफल गर्न र उपयुक्त निर्णयमा पुग्न पार्टी पंक्ति र नेतृत्व तयार छ । यी विषयलाई अतिरञ्जित गरी कसैले कुनै अतिरिक्त चिन्ता लिइरहनु पर्ने अवस्था छैन । तर कसैसँग पार्टी एकता र ध्रुवीकरणका नाममा पार्टीले आफ्नो स्थापनाकालीन लक्ष्य र उद्देश्य, आफ्ना घोषित विचार, नीति, सिद्धान्त र कार्यक्रमहरु परित्याग गर्न सक्दैन । त्यो गर्नु वाञ्छित पनि हँुदैन ।’
 
पत्रकार सम्मेलन गरेको अर्कोदिन नयाँ शक्तिको ‘हेडक्वाटर’  पनि ‘एक्सन’ मा आयो । साउन २७ गते नयाँ शक्तिका संयोजक डा.भट्टराईले विज्ञप्ति निकालेर २४ घण्टे स्पष्टीकरण पत्र पठाए र कार्यलयमा लिखित जवाफ दिन भने ।

२४ घण्टा भित्र उपस्थित हुन संयोजक  बावुराम भट्टराईद्वारा नेता देबेन्द्र पौडेल लगायत १५ नेतालाई स्पष्टिकरण पत्र

 
स्पष्टीकरण पत्रमा पार्टीको विचार, नेतृत्व, कार्यदिशावारेमा भ्रामक समाचार फैलाएको, साउन ९ र १० को पार्टी केन्द्रीय कार्यकारणी समितिको वैठक तथा साउन ११ देखि १३ सम्मको संघीय परिषद् वैठकमा किन फरक मत नराखकेको, पार्टीभित्र आफ्ना कुरा राख्ने अधिकार हुँदाहुँदै किन भिन्दै तरिकाले बहस गरेकोजस्ता प्रश्नहरु सोधिएका थिए । यो स्पष्टीकरणले नयाँ शक्तिभित्र ठूलै तरंग पैदा गर्यो ।
 
नेताहरुले चाहीँ २४ घण्टामा जवाफ दिएनन् । ४८ घण्टा लाग्यो जवाफ दिन ।

देवेन्द्र पौडलसहितका नेताले दिए २४ घण्टे स्पष्टीकरणको यस्तो जवाफ

तीन बुँदे स्पष्टीकरणमा ‘स्पष्टीकरण पत्र स्वभाविक नभएको, बामदेव क्षेत्रीले साउन ९ गते लिखित विषयबस्तु उठान गरेको, मुक्ति प्रधानले असार २० गते लिखित पत्र दिएको, केन्द्रीय कार्यकारीणी र संघीय परिषदमा विषयबस्तु उठाइएको तर कुनै पनि विषयबस्तु प्रतिवेदनमा नसमेएिको’ भन्दै संयोजकको आलोचना छ ।

त्यसबाहेक स्पष्टीकरण पत्रमा विचार र अभिव्यक्तिको स्वतन्तामा बन्देज लगाएर सोधिएको स्पष्टिकरण सच्याउन माग गरिएको छ ।

स्पष्टीकरणमा नयाँ शक्ति पार्टीमा विद्यमान समस्यालाई हल गर्न अगाडि सारिएको धारणाबाट पछि हट्न नसक्ने भन्दै फिर्ता लिन गरिएको बाबुरामको आग्रह अस्वीकार गरिएको छ । पत्रमा आफुहरुले अगाडिसारेको सोचले देशलाई अग्रगामी रुपमा अगाडि बढाउने दावी छ ।

स्पष्टिकरणमा डा.भट्टराईलाई सन्देश दिँदै भनिएको छ, ‘हामीले राखेका धारणाहरुलाई पार्टीलाई ठीक ढंगले राखेका परिचालन र विकासको पक्षमा बुझ्नुको सट्टा पार्टीको विचार, नेतृत्व र कार्यदिशाको वारेमा भ्रामक धारणा सार्वजनिक गरेको भन्ने बुझ्न र निशकर्षमा पुग्न मिल्दैन । हामी विरुद्ध घोर अन्याय हुन्छ । हामीले प्रत्येक विषयमा सकरात्मक सोच राख्ने अर्ति भन्दा अभ्यासरत रहनु नै श्रेष्ठकर हुन्छ  भन्ने थप सुझाव व्यक्त गर्न चाहन्छौँ ।’
 
स्पष्टिकरण पत्र नयाँशक्तिको मुख्यालमा बुझाएको अर्कोदिन अर्थात साउन २९ गते पौडेलसहितका नेताहरुले बाबुरामसँग भेट गरे । १५ जना मध्ये धेरैलाई बाबुरामले एक्लै–एक्लै भेटेका थिए । तर, देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल र पासाङ शेर्पासँग संयुक्त रुपमा भेटे ।
 
भेटमा सहभागी एक नेताका अनुसार त्यहाँ बाबुरामले पत्रकार सम्मेलन गर्नु गलत भएको बताएका थिए । ‘तपाईंहरुले बाहिर अपिल लैजानु गल्ती भयो । अब मिलेर जाउँ । यो स्टेपसम्म तपाईंहरुमाथि पार्टीले कारवाही गर्दैन ।’ भनेका थिए । जवाफमा पौडेलसहितका नेताहरुले ‘तपाईं माक्र्सवादको घेरमा आउनुस्, दस्तावेजमा यो कुरा लेखौँ । सवैसँग धुव्रीकरणका लागि पहल गरौँ । हाम्रो व्यक्तिगत कारणले यो समस्या आएको पनि होइन ।’ भन्ने जवाफ फर्काएका थिए । भेटमा सहभागी नेताका अनुसार केहीवेर भावनात्मक कुरा पनि भएका थिए ।
 
साउन साउन २८ गते विहान ९ बजेतिर नयाँ शक्तिका असन्तुष्ट नेता देवेन्द्र पौडेलले एउटा नेता पौडेलले एउटा स्टाट्स लेखका थिऐ, ‘एउटा चर्चित गीतमा ‘यहाँ देशको छ चिन्ता, तिमी माया–माया भन्छ्यौ’ भने जस्तै सबै परिवर्तनमा सहभागी भएका शक्तिहरु विभिन्न माओवादी धारा, मधेशी–थारू धाराहरु, आदिवासी जनजाती धाराहरु, दलित, मुस्लिम, अल्पसंख्यक आदि सबैलाई गोलबन्द गर्दै पुनः राष्ट्रिय राजनीतिमा अगाडि बढेर नेतृत्व गर्न हामीले दिएको सुझावलाई अस्विकार गर्दै आफ्नै साथीहरूलाई समेत धकेल्ने वाटो लिनु भएको होला बाबुराम भट्टराईज्यूले । बाँकी सबै इतिहासको जिम्मा ।’
 
यहीँ स्टाट्ससँग मेल खानेगरि बाबुराम र पौडेलसहितका नेताहरु आ–आफ्नो बाटोमा हिँड्ने तय गरे । कुनै बेला कतै ठोक्न्छिन् वा भेटै नहुने गरी नदीका दुई किनार बन्छन् । यो अहिले नै भन्न कठिन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप