शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमान‍्को निधनपछि जो राजनीतिमा उदाए...

बुधबार, ११ मङ्सिर २०७६, १७ : ५६
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौँ । श्रीमान् राजनीतिमा सक्रिय छँदा ‘गुमनाम’ जीवन बिताउने महिलाहरुले श्रीमान‍्को निधनपछि भने राजनीतिमा स्थान पाउने, चर्चा पाउने र मौका पाउने उदेकलाग्दो परम्पराबाट नेपाली राजनीति मुक्त छैन ।

 खासगरी, कालगतिले भन्दा पनि दुर्घटना वा त्यस्तै अन्य कारणले श्रीमान्को मृत्यु भएपछि मात्रै उनको स्थानमा श्रीमतीलाई स्थापित गर्ने परम्पराले राजनीतिमा महिलाको समान अस्तित्वको आदर्शलाई धूलीसात पार्ने गरेको छ । 

अर्कोतिर, शोकलाई भोटको राजनीतिमा ‘क्यास’ गर्दै क्षमतावान महिला राजनीतिककर्मीकै योगदान र कदरलाई समेत अवमूल्यन गर्ने काम नेपाली राजनीतिमा बारम्बार हुँदै आएको छ । 

र, भनिबस्नु पर्दैन होला, त्यही परम्परा र विरासतलाई निरन्तरता प्रदान गर्दै मंसिर १४ गते हुने उपनिर्वाचनमा श्रीमान्को उत्तराधिकारीका रुपमा तीन जना महिला चुनावी मैदानमा छन् ।

यसअघि राजनीतिमा खासै सक्रिय नरहे पनि उपनिर्वाचनकै पूर्वसन्ध्यामा कास्की– ३ को प्रतिनिधिसभाबाट विद्या भट्टराई (नेकपा), दाङ – ३ प्रदेश (ख)बाट विमला वली (नेकपा) र महोत्तरीको पिपरा गाउँपालिकाबाट रविता चौधरी (राजपा) श्रीमानको उत्तराधिकारीका रुपमा राजनीतिमा प्रवेश गरेका छन् ।

विद्या तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका अधिकारीको गत वर्ष ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना निधन भएको थियो । 
अधिकारीको निधनपछि रिक्त प्रतिनिधिसभा सदस्य पदमा उनकै पत्नी विद्यालाई नेकपाले सक्रिय राजनीतिमा ल्याउँदै उम्मेदवार बनाएको हो ।

यस्तै, सवारी दुर्घटनामा घाइते भएका दाङ–३ प्रदेश (ख)बाट निर्वाचित उत्तमकुमार वलीको उपचारका क्रममा गत वर्ष फागुन १० गते काठमाडौँमा निधन भएको थियो । विमला उनै उत्तम वलीकी पत्नी हुन् ।

विमलालाई उनकै पतिको निधनपछि रिक्त प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनाएर सक्रिय राजनीतिमा प्रवेश गराइएको हो । 

यस्तै, पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको गत वैशाखमा काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो । 

विनोदको निधनपछि गाउँपालिका अध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा पतिकै उत्तराधिकारीका रुपमा रमिताले राजनीतिमा प्रवेश पाएकी हुन् ।

विद्या राजनीतिक पृष्ठभूमिकी भए पनि विमलासँग पार्टीको सक्रिय सदस्यता समेत छैन । यता रमिता पार्टीको साधारण सदस्य भने हुन् । तर उनी पार्टीको कुनै पनि तहको जिम्मेवारीमा थिइनन् । 

विद्याको राजनीति


विद्या तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियकी नेतृ हुन् । शंकर पोखरेल नेतृत्वकालमा अनेरास्ववियुको केन्द्रीय कमिटीमा विद्या महिला विभाग प्रमुख थिइन् । उनी ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुबाट सभापति पदको प्रत्यासी थिइन् । 
तर रविन्द्र अधिकारीसँग विवाहपछि विद्याले सक्रिय राजनीति छाडेर अध्ययन, अध्यापन तथा परिवारिक जीवनमा केन्द्रित भइन् । रवीन्द्रको निधनसँगै विद्या २ दशकको अन्तरालमा पुनः सक्रिय राजनीतिमा फर्किएकी छन् । 
विमलाको राजनीति


नेकपा पार्टीको सक्रिय सदस्यसमेत नलिएकी विमला पनि चुनावी मैदानमा छिन् । दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ को उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विमलालाई चुनावी मैदानमा पठाएको छ । यद्यपि विमलाले राजनीतिलाई राम्रोसँग बुझेको दाबी गर्छिन् ।

रविताको राजनीति 


राजपा नेपालको सक्रिय राजनीतिमा नरहेकी रविता पनि गाउँपालिका अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा छिन् । उपनिर्वाचनमा सेन्टिमेन्ट भोट आउने भएकोले राजपा नेपालले रवितालाई उम्मेदवार बनाएको महोत्तरीका राजपाका एक नेताले बताए । 

मनोनयनपत्र दर्तादेखि चुनावी प्रचार–प्रसारमा समेत उनीहरुले आफ्नो श्रीमान्को अपुरो सपना पूरा गर्न उम्मेदवारी दिएको बताउँदै आएका छन् । श्रीमान्को उत्ताराधिकारीका रुपमा राजनीतिमा उदाएका महिलाको पंक्ति लामो छ । 

जसमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, खानेपानी मन्त्री विना मगर, काँग्रेस कोषाध्यक्ष सीतादेवी यादव र आनन्दीदेवी सिंहलगायतका नेतृको पनि राजनीतिमा अस्वाभाविक उदय भएको पाइन्छ ।

विद्या भण्डारीको उदय


एमाले नेतृ विद्या भण्डारीको नेपाली राजनीतिमा आगमन लोकप्रिय नेता मदनकुमार भण्डारीसँगको वैवाहिक सम्बन्धका कारण भएको होइन । उनको राजनीतिक उदयको आधारशीला भने उनै लोकप्रिय नेता भण्डारीकै विरासतले निर्माण ग-यो । 

२०३५ सालमा उग्रवामपन्थी नेकपा (माले) बाट राजनीति सुरु गरेकी भण्डारी ०३९ सालमा महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । तत्कालीन समयमा पार्टीका करिब दुई सय सदस्यमध्ये एक थिइन् भण्डारी । तर विवाहपछि भने उनको राजनीतिक यात्रामा लगभग पूरै ‘ब्रेक’ लाग्यो । मदन भण्डारीको त्यसै समयमा तीव्र गतिले राजनीतिक उदय हुँदै थियो । पूर्णकालीन नेता भण्डारीको घर सम्हालिन् श्रीमती भण्डारीले । दुई छोरीको पालनपोषण र गृहिणीका रूपमा उनी घरमै सीमित रहन पुगिन् ।

पतिको मृत्युपछि शोकमा डुबेकी भण्डारीको दोस्रो चरणको राजनीतिक यात्रा यहीँबाट सुरु भयो । सेतो कपडामा देखिएकी भण्डारीको तस्बिर त्यतिबेला यति सशक्त भएको थियो, उनले अन्य राजनीतिक हस्तीलाई चुनावी प्रतिस्पर्धामा सहजै माथ खुवाएकी थिइन् ।

मदन भण्डारीको मृत्युपछि रिक्त काठमाडौं–१ मा सम्पन्न उपनिर्वाचनमा उनले नेपाली काँग्रेसका शीर्षनेता कृष्णप्रसाद भट्टराईलाई हराइन् । उनको जितको बलियो आधार थियो– पतिको हत्यारा पत्ता लगाएर कारबाही गर्छु भनेर सेतो सारीमा खाली खुट्टा भोट माग्दै हिँड्नु ।
त्यसपछि पार्टी राजनीतिमा पनि उनको अस्वाभाविक उदय भयो । पार्टी राजनीति र चुनावी राजनीतिमा भण्डारीले कहिल्यै पछाडि फर्किनु परेन ।

विना मगरको उदय


विना मगरको पनि राजनीतिक यात्रा विद्यार्थीकालबाटै सुरु भएको हो । विद्यार्थी राजनीतिमा अखिल (क्रान्तिकारी) को कञ्चनपुर जिल्ला कोषाध्यक्ष हुँदै २०५६ सालमा उनी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको जिल्ला अध्यक्ष भइन् । त्यसपछि विनाको राजनीति काठमाडौंमा केन्द्रित हुन पुग्यो । उनले तत्कालीन अखिल (क्रान्तिकारी) मा आवद्ध भएर भित्रिरूपमा नेकपा (माओवादी) को पूर्णकालीन सदस्यको रूपमा काम गरिन् । काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्य पदमा जितेकी उनी २०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौंको जिल्ला अध्यक्ष पनि भइन् ।

माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला २०६० सालमा उनलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार ग-यो । बेपत्ता अवस्थामा नै भैरवनाथ गणमा २७ महिनासम्म उनले चरम यातना भोग्नुप¥यो ।
शान्ति प्रक्रियामा प्रवेशपछि काठमाडौंमा नै कार्यक्षेत्र रहेर उनी फेरि अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बनिन् । 

२०६४ सालको स्ववियू निर्वाचनमा उनी सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापति भइन् । योसँगै तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य समेत बनिन् ।

र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बरबाट टिकट पाइन् । तर उनी पराजित भएकी थिइन् । यसबीचमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालसँग विवाह गरेकी उनले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनु अघि पति गुमाइन् । हृदयघातका कारण प्रकाशको निधन भयो । शोककै बीचमा चुनावी मैदानमा रहेकी उनी सोही क्षेत्रबाट  २९ हजार २१ मत ल्याएर विजयी भइन् ।
साथै पार्टीका सिनियर नेतृहरुलाई पछि पार्दै उनी खानेपानी मन्त्रीसमेत बन्न सफल भइन् ।

सीतादेवी यादव


नेपाली राजनीतिमा कम्युनिस्टसँगै काँग्रेसमा पनि पतिको निधनपछि राजनीतिक उचाइ लिएका महिलाहरु भेटिन्छन् । जसको अग्रपंक्तिमा छिन् नेपाली काँग्रेसकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव । उनी पति हुन्जेल गुमनाम अवस्थामा थिइन् । 

नेपाली काँग्रेसका नेता चन्द्रनारायण यादवको २०५७ असार ५ गते हत्या भयो । घरको काममा सीमित उनकी पत्नी सीतादेवी त्यसपछि राजनीतिमा सक्रिय भइन् ।

चन्द्रनारायण सिरहाका जिविस सभापति एवं काँग्रेसका जिल्ला सभापति समेत भइसकेका नेता थिए । पतिको निधनपछि सीतादेवी दुई कार्यकाल पार्टीको जिल्ला सभापति बनिन् । 

त्यही बीचमा ०६४ सालमा भएको पहिलो संविधानसभामा उनी सिरहा–३ बाट चुनावी मैदानमा उत्रिएन् । तर पराजित भइन् । ०७० सालमा भएको दोस्रो संविधानसभामा भने सोही क्षेत्रबाट विजयी भइन् । 
निर्वाचन जितेसँगै उनी काँग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा पनि विजयी भइन् । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उनी शान्ति तथा पुननिर्माणमन्त्री बनिन् ।

आनन्दीदेवी सिंह


तत्कालीन नेपाल सदभावना पार्टीकी राष्ट्रिय अध्यक्ष स्वर्गीय आनन्दी देवी सिंहको पनि राजनीतिमा अस्वाभाविक उदय भएको थियो ।

सदभावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि उनकी श्रीमती आनन्दीदेवी एका–एक पार्टीको अध्यक्ष भएकी थिइन् । 

२०५८ माघ १० गते गजेन्द्रबाबुको मृत्युपछि राजविराजमा भएको नेपाल सद्भावना पार्टीको चौथो अधिवेशनले आनन्दीदेवीलाई अध्यक्ष बनाएको थियो । तर उनी आम निर्वाचनको प्रतिस्पर्धामा भने कहिले उत्रिइनन् । पार्टीभित्रको शक्ति सन्तुलमा चलखेल गर्न भने उनी माहिर मानिन्थिन् ।

आनन्दीदेवीले २०६२ सालमा काठमाडौं आएर लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै गिरिजाप्रसाद कोइराला, माधव नेपाललगायत सँगै गिरफ्तारीसमेत दिएकी थिइन् ।
उनलाई लोकतन्त्र आएपछि अन्तरिम व्यवस्थापिकाको सदस्यसमेत बनाइएको थियो । 

‘शोकबाट भोट बटुल्नु गलत’


राजनीतिक विश्लेषक तथा खुला विश्वविद्यालयका सहप्राध्यापक एवम् दर्शनशास्त्री खगेन्द्र प्रसाईँ शोकको राजनीतिबाट भोट बटल्नु सिद्धान्ततः गलत भएको तर्क गर्छन् । 

उनले भने, ‘विश्व राजनीतिमा नै शोकपछि भोटको राजनीति गर्ने गरेको पाइन्छ । जसबाट नेपाली राजनीति पनि अछुतो छैन । विशेषतः नेपालका कम्युनिस्ट पार्टीमा यस्तो प्रवृति बढ्दो छ । यसको सुरुवात वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरु भएको हो । सिद्धान्ततः यो कुरा ठीक होइन ।’

यसले राजनीतिलाई भोटको परिधिमा मात्र घुमाउने उनेको भनाइ छ । यद्यपि श्रीमान र श्रीमती एक साथ राजनीतिमा आउनु हुँदैन भन्ने कुरा भने गलत रहेको उनी बताउँछन् ।
‘श्रीमान र श्रीमतीले राजनीति गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्छ,’ प्रसाईँले भने, ‘तर श्रीमानको उत्तराधिकारीका रुपमा राजनीतिक स्पेस दिनु गलत हो । यसो गर्दा क्षमता भएकाले पनि आउँछन् र नभएका पनि आउँछन् ।’

पतिको मृत्युपछि मात्र चुनावमा उठेर पतिको सपना साकार पार्छु वा जनताको उठाउछु भन्नु युक्तिसंगत नभएको उनको बुझाइ छ ।

उनले भने, ‘राजनीतिक दलका नेताहरुले ल तिमी उठे हाम्रो दललाई फाइदा हुन्छ भनेर उठाइने गरेको पनि पाइन्छ । महिलामा क्षमता छ भने त श्रीमानसँगै प्रतिस्पर्धामा आउनु राम्रो हो ।’ उत्तराधिकारी भन्ने कुरा गणतन्त्रमा सुहाउदो शब्दावली नभएको उनको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप