शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वास्थ्य र उपनिर्वाचनले नेकपा बैठक अनिश्चित

बिहीबार, १२ मङ्सिर २०७६, १२ : ४०
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौँ– नेकपा अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी ओलीको स्वास्थ्यका कारण नेकपाको सचिवालय बैठक पर धकेलिएको छ । 

ओली विगत तीन दिनयता त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत छन् । 

चिकित्सकहरुको सुझावअनुसार ओली अझै केही दिन असपताल बस्नुपर्ने भएपछि सचिवालय बैठक पछि धकेलिएको हो । दुई अध्यक्षको कार्यविभाजनपछि पहिला सचिवालय बैठक बोलाउने र त्यसपछि स्थायी कमिटि बैठक बोलाउने नेकपाको शीर्ष नेताहरुको योजना थियो ।

अध्यक्ष प्रचण्ड र ओलीले उपननिर्वाचनको मौन अवधिको समयमा सचिवालय बैठक बोलाउने र त्यसवेला पार्टी एकताका बाँकी काम टुङग्याउने तयारी गरेका थिए । तर अचानक ओली अस्वस्थ भएर मंगलबार अस्पताल भर्ना भएपछि उनीहरुको योजना र कार्यतालिका थप प्रभावित बन्न पुग्दा नेकपाको बैठक अनिश्चित बन्न पुगेको हो । 

‘प्रधानमन्त्री अस्वस्थ भएपछि स्वभाविक रुपमा पूर्वनिर्धारित कार्यतालिका प्रभावित हुने नै भयो । उहाँ डिस्चार्ज भएर फर्केपछि सचिवालय बैठक बस्छ’ नेकपाका एक सचिवालय सदस्यले भने । अव बस्ने सचिवालय बैठकमा सांगठानिक एकताको बाँकी काम टुङग्याउने नेताहरुको तयारी छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको स्वास्थ्य तथा उपनिर्वाचनका कारण बैठक बस्न ढिलाइ भएको बताए । ‘प्रधानमन्त्री तथा अध्यक्षको स्वास्थ्य अवस्था मात्रै होइन, अहिले त उपनिर्वाचन पनि छ । त्यही भएर बैठक बस्न ढिला भएको हो । तर अव चाँडै बैठक बस्छ । यसका लागि  अध्यक्षद्धयसँग आन्तरिक छलफल पनि गर्नुपर्ने हुन्छ,’ प्रवक्ता श्रेष्ठले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीको अस्पताल बसाईको अवस्था हेरेर र छलफल गरेर उपनिर्वाचन लगत्तै बैठक बसेर सांगठानिक एकता, देशव्यापी प्रशिक्षण, विभिन्न प्रकाशनहरुको काम सक्नुपर्ने हुन्छ ।’ 

नेकपा एकता घोषणा भएको डेढ बर्ष वित्दा पनि अझै धेरै विभागहरु र आयोगहरुले पनि पुर्णता पाएका छैनन् । आयोग र विभागले पुर्णता पाउन सम्बन्धित आयोग र विभागीय प्रमुखहरुले नाम सिफारिस गरेपछि ति नामलाई सचिवालय बैठकले अनुमोदन गर्छ ।  

नेकपाका विभिन्न विभाग र आयोगहरुको नेतृत्व चयन भएपनि तिनीहरुले पुर्णता पाएका छैनन् । अव बस्ने सचिवालय बैठकमार्फत अनुशासन आयोग र संगठन विभाग लगायतलाई पुर्णता दिने तयारी छ । 

नेकपामा ३२ विभाग र ३ आयोग छन् । त्यस्तै केन्द्रीय सल्लाहकार परिषद र जेष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व चयन भएपनि पूर्णता पाएका छैनन् । 

यसैवीच अमृत बोहोरा अध्यक्ष रहेको अनुशासन आयोगमा तत्कालीन एमालेका १८ र माओवादी केन्द्रका १३ जना समेटेर आयोगलाई पूर्णता दिने अन्तिम तयारी छ । तत्कालीन एमालेका तर्फबाट आयोगमा रहनेहरुको नाम तयारी अवस्थामा रहेपनि माओवादी केन्द्रका तर्फबाट रहने सदस्यहरुको नाम टुङ्गो नलागेको नेताहरुले बताएका छन् ।

‘यसअघि एमालेको २२ सदस्यीय अनुशासन आयोगमा रहेकामध्ये चार जना हटिसेका छन् । बाँकी रहेका सवै सदस्य अनुशासन आयोगमा रहनेछन्’ नेकपाका एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप