बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र चीनसँग टु प्लस वान होइन, त्रिदेशीय साझेदारी उपयुक्त : प्रचण्ड

'लिपुलेकबारे भारत र चीनले गरेको समझदारीप्रति त्यतिबेला नै असहमति राखेको थिएँ'
शुक्रबार, १३ मङ्सिर २०७६, १२ : १४
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सीमा समस्या समाधानका लागि बलियो राष्ट्रिय एकताको माहोल निर्माण भएको बताएका छन् ।

नेपाल–चाइना मिडिया फोरमले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले यतिबेला कुनै उत्तेजना र आवेगमा नभइ सीमा समस्याको समाधानतिर लग्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘भारतसँग सुस्ता र कालापानी क्षेत्र सीमा समस्याका रुपमा परिभाषित छ । यसलाई समाधान गर्न चुनौती छ, तर चुनौती बिनाको उपलब्ध हुँदैन । तर राज्यले त्यसमा उचित ढङ्गको भूमिका देखाउन सक्नु पर्यो । यतिबेला कुनै उत्तेजन र आवेगमा नभइ सीमा समस्याको समाधानतिर लग्नुपर्छ ।’

यस्तै प्रचण्डले लिपुलेकबारे भारत र चीनले गरेको समझदारीप्रति आफूले त्यतिबेलै औपचारिक असहमति जनाएको बताए ।

नेपाल, भारत र चीनको साझेदारीबारे पछिल्लो समय बहसको विषय बनेको ‘टु प्लस वान’को अवधारण उपयुक्त नभएको उनको तर्क छ ।

प्रचण्डले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेको बताए । त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतसँग सकारात्मक छलफल हुन थालेको प्रचण्डको दाबी छ ।

चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत र चीनबीचको रणनीतिक साझेदारी ‘टु प्लस वान’को अवधारणाअघि सारेको भन्दै सो अवधारण उपयुक्त नलागेको उनले बताए ।

‘टु भनेको विशेष अधिकार प्राप्त र वान भनेको जोडिएको समान्य भने जस्तो अर्थ हुन्छ । टु प्लस वान होइन, थ्री हुँदा मात्र तीन सार्वभौम देशको समान हैसियत हुन्छ । दुई प्लस एक भन्दा नेपाललाई असहजताको अवस्था सिर्जना हुन्छ ।’

आफूले प्रधानमन्त्री भएकै बेला त्रिदेशीय साझेदारीको प्रस्ताव गरेको प्रचण्डले  बताए ।  यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालले चीन र भारतसँग त्रिदेशीय साझेदारीको रणनीति लिएक बताउँदै आएका छन् । 

यस्तै नेपालीले प्रो चाइनिज, प्रो अमेरिकन र प्रो इन्डियन नभइ प्रो नेपाली बन्नु पर्ने प्रचण्डको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप